साम्राज्य दुई हारे, हारेन सान हाम्रो...!
त्यस आन्दोलनले पनि सयौंका संख्यामा सहिदहरू धर्तीमा चढायो, हाम्रो माटो ती वीरहरूको रगतले सिञ्चित भयो अनि पुनः प्रजातन्त्र आयो। हो, ‘एक जुगमा एक दिन’ आएरै छाड्यो।
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए...!
त्यस्तै, यस मुलुकलाई गिद्घेनजर लगाई हिमालयको काखमा साम्राज्य फैलाउने कुचेष्टा गरेर धावा बोल्ने अंग्रेज साम्राज्यवादीहरूको प्रयासलाई निरर्थक बनाउन प्राणसमेत उत्सर्ग गर्न तम्तयार वीरहरू भक्ति, बलभद्र, अमरसिंह आदिको योगदान कसरी भुल्न सकिन्छ र? मित्रराष्ट्र अनि आजका शक्तिराष्ट्रलाई समेत आफ्नो पञ्जामा राख्न सफल अंग्रेजलाई सुगौली सन्धि गर्न बाध्य पारे पृथ्वीनारायणले। तिनै महापुरुषलाई श्रद्घा व्यक्त नगरी कसरी सदा स्वतन्त्र राष्ट्रका नागरिक हौं भनी गर्व गर्न सकौंला? त्यसैले त कवि गोपालप्रसाद रिमाल भन्छन्, ‘साम्राज्य दुई हारे,
हारेन सान हाम्रो...।’
बाहिरी साम्राज्यवादीहरूले गलाउन नसकेको नेपालको अस्मितालाई तात्कालीन राजपरिवारमा रहेको पारिवारिक सत्ता–संघर्षबाट फाइदा उठाएर एक शताब्दीसम्म जहानियाँ शासन चलाएर नेपालभित्रकै राणाहरूले कुल्चिदिए। त्यही शताब्दी लामो शासनलाई जरैदेखि उखेलेर फ्याँक्न अनेकौं महामनाले प्राण उत्सर्ग गरिदिए। शुक्रराज, धर्मभक्त, दशरथचन्द, गंगालाल आदि महात्मा सदा प्रातः स्मरणीय रहनेछन्। हुकुमी शासनलाई सधैंका लागि समाप्त पारेर प्रजातन्त्रको बिहानी ल्याउन हाँसी हाँसी फाँसीमा झुन्डिन र छातीमा गोली थाप्न तयार हुने ती वीरबारे कविले साँचो कुरा लेखेका छन्, ‘आमा मरें म भन्दै ऊ सहिद भएर बाँच्यो...!
तर ती वीरहरूको प्रयास निरर्थक पारिदिएपछि आएका शासकहरूले प्रजातन्त्र चिरस्थायी हुन दिएनन्। भुइँफुट्टा नेताहरू लोभ, स्वार्थ अनि भ्रष्टाचारको दलदलमा फस्न पुगे। अनि शिशु प्रजातन्त्रको एक दशकको कलिलो उमेरमा नै घाँटी निमोठियो। कवि भूपिको भनाइ सत्य साबित भयो, ‘हामीले कर्तव्य बिर्से इतिहासले धिक्कार्ला, गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला।’ ती सहिद/इतिहासले धिक्कार्यो हामीलाई किनभने आफ्नो प्राण उत्सर्ग गर्ने सहिदको सपना त्यसपछि उदाएका नेता कहलिएकाहरूले लत्याइदिए।
तर पनि अरू वीरहरूको जन्म भइरह्यो यस धर्तीमा। कलिलैमा चुँडिएको प्रजातन्त्ररूपी कोपिलाको रक्षाका लागि अनि लोकतन्त्रको फूल फुलाउन अनेकौं वीर डटिरहे। तीसवर्षे पञ्चायती कालरात्रिका बेलामा पनि आकाशमा पिलपिलाउँदो प्रकाश बोकेर ताराहरू उदाइरहे। ती ताराहरूलाई आकाशबाट धर्तीमा झार्न शासकहरू पनि निरन्तर लागि नै रहे। यज्ञबहादुर थापा, सरोज कोइराला आदि सपूतहरूले प्राण उत्सर्ग गरे। पछि २०४६ सालमा तिनको बलिदानले फल प्राप्त गर्यो। प्रजातन्त्र पुनस्र्थापित भएरै छाड्यो।
‘एक जुगमा एक दिन’ आएरै छाड्यो। त्यस आन्दोलनले पनि सयौंका संख्यामा सहिदहरू धर्तीमा चढायो, हाम्रो माटो ती वीरहरूको रगतले सिञ्चित भयो अनि पुनः प्रजातन्त्र आयो। एउटा गीतमा गीतकारले भनेका नै छन्, ‘नेपाली माटो समाई, सुँघेर हेर आज, सहिदको तातो रक्त, दिन्छ सुगन्ध आज।’ तर लोभीपापीको जमात जहाँ पनि रहिरहन्छन्, सहिदको यत्ति ठूलो बलिदानलाई चटक्क बिर्सेर आफ्नै दुनो सोझ्याउन दिनरात लगिरहे ती अनि ५–६ वर्ष पनि नपुगी पुनर्स्थापित प्रजातन्त्र यस धर्तीमा अफाफसिद्घ झैं हुन पुग्यो।
कोही त भने जहाजमा सरर, कोही त भने चमेली पसिना तरर... भनेझैं कुर्सीमा पुग्नेहरू अझ धनी भइरहे तर धर्तीमा पसिना चुहाउनेहरू जहाँका तहीं रहिरहे। धर्तीमा रगत सिञ्चन गरी स्वर्गवासी भएका सहिदहरू भने हेरेका हेर्यै भइरहे...। अनि त गरिब वर्ग केही नेताको आह्वानमा भए पनि हतियार बोक्न, जंगल पस्न विवश भए। ती शासकहरूको भ्रष्टाचार, जमिन्दारको अत्याचार अनि साहूहरूको अन्यायबाट बच्न त्योबाहेक ती गरिब र शोसित–उत्पीडितहरूको उपाय पनि त थिएन। दशक लामो त्यो लडाइँले पनि हजारौं सहिद जन्मायो। तिनै वीरहरूको सत्प्रयासले मुलुकमा गणतन्त्र/लोकतन्त्रको घाम लाग्यो।
यसरी पृथ्वीनारायण शाहबाट सुरु भएको यस देशको निर्माणकार्य आजसम्म पनि चलिरहेको छ। ती इतिहासको अनेकौं कालखण्डमा जन्मेका सहिदहरू हाम्रा लागि सदा–सर्वदा वन्दनीय छन्, पूजनीय छन् भूपिले भने झैं –
हामीले खाने प्रत्येक गाँसमा, रगत छ सहिदको
हामीले फेर्ने प्रत्येक सासमा, रगत छ सहिदको
हाम्रो मुटुको प्रत्येक चालमा, छ धड्कन सहिदको
हाम्रो खुसीको प्रत्येक पलमा, छ जीवन सहिदको।
तर आज ती सहिदको अवमूल्यन भएको छ, किनकि आज सहिद शब्दलाई हाम्रा शासकहरूले यत्ति सस्तो, यति बिकाउ बनाए कि ...भन्दा देख्नेलाई लाज भने झैं भइसक्यो। आज त सडक दुर्घटनाका कारण अकाल मृत्युवरण गर्ने अभागीहरू पनि, आपसी झैंझगडा गरेर मर्नेहरू पनि अनि जेल तोडेर भाग्दाभाग्दै प्रहरीको गोली लागेर मर्ने अपराध साबित भइसकेका कैदीहरूसमेत सहिद बन्ने योग्यता राख्न थालेका छन्।
कहाँ देशको अमनचैन, अस्मिता, सुव्यवस्था अनि सुशासनका खातिर निःस्वार्थ आफूलाई फाँसीमा झुन्ड्याउन, छातीमा गोली थाप्न तयार शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमाजस्ता वीरहरू अनि कहाँ तथाकथित नेतामा दरिन पुगेका दलाल र गुण्डागर्दी गर्नेहरू? देशका जनजनले आँसुको तर्पण दिनुपर्ने कर्मवीरका अगाडि परिवारलाई १० लाखको दक्षिणा चढाउनुपर्नेहरूको लर्को लाग्ने अवस्था आइरहेको देख्दा भूपिकै वाणी कानमा गुञ्जिरहेछन् अहिले,धर्तीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला सहिद रोलान् हामीले उन्नति गरेर नगए।
वर्तमान समयमा सहिद मानकप्रतिको आस्था एवम् श्रद्धाको क्षयीकरण त भइरहेको नै छ, भाषागत रूपमा पनि अवमूल्यन गराइएको छ तिनलाई। भाषा, संस्कृति, परम्परा अनि आफ्नो जरोकिलो-पहिचान जोगाउनका लागि पनि साँच्चैका सहिदहरूको बलिदान मागिरहेको त हैन राष्ट्रले?