पुण्य तपोभूमि पाणिनि
विश्वको प्राचीन भाषा संस्कृतको भाषाको व्याकरणको उत्पत्ति भएको र रचना भएको ऐतिहासिक स्थान हो, अर्घाखाँचीको पाणिनि तपोभूमि।
अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका १ र २ को सिमाना दहको लेकमा पर्ने यो पवित्र स्थलमा हजारौं वर्षपहिले पाकिस्तानको लाहोरबाट पाणिनि नामका ऋषि आएर तपस्या गरेको पाइन्छ। भनिन्छ, उनको तपस्याबाट भगवान् शिवजी प्रसन्न भएर नर्तकको रूप धारण गरी डम्मरु बजाउँदै आएका र नाचेका थिए। नाच्ने क्रममा डम्मरुको आवाजबाट अइउण्, ऋलृक आदि १४ सूत्रको स्वर निस्किएको र सोही स्वरबाट पाणिनिले संस्कृत व्याकरणको रचना गरेका थिए।
पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो। तपोभूमि क्षेत्र प्राकृतिक रूपमा पनि अत्यन्तै सुन्दर छ। जहाँबाट उत्तर फर्कंदा हिमशृंखला, दक्षिण फर्कंदा तराईका फाँटहरू अनि भारतीय भूमि गोरखपुरसम्म देख्न सकिन्छ। गुराँसका रुख तथा विभिन्न जडीबुटी पाइने यो क्षेत्र साँच्चिकै प्राकृतिक रूपमा स्वर्गको टुक्राभन्दा केही कम छैन। तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ। अहिले यस क्षेत्रमा जान सडक सुविधा छ। पिचबाटोकै प्रयोग गरेर पाणिनि तपोभूमि अर्थात् पाणिनि दह पुग्न सकिन्छ। बुटबलबाट तानसेन, हुँदै पोखराथोकको बाटो प्रयोग गरेर र सालझण्डी ढोरपाटनको सडकबाट झन्डै गाडीमा दुई घण्टामा पुगिन्छ। यस तपोभूमिमा पुगेपछि प्राकृतिक अनुपम उपहार हेरेर प्रफुल्लित हुन्छन्।
पहाडको चुचुरोमा समथर भूभाग। पाणिनि शिवसिद्ध आश्रममा रहेका विभिन्न देवीदेवता गणेश मन्दिर, हनुमान मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर, अन्य मन्दिर, धर्मशाला, पुराण मण्डप, फलफूलका रुखहरू अनि सँगै रहेको समथर भूभागको ऐतिहासिक दह। दहको बीचमा भगवान् शिवजीको मूर्ति साँच्चिकै शब्दमा वर्णन गर्न पनि नसकिने यस क्षेत्रमा पुग्ने मानिसलाई मात्र थाहा हुन्छ यसको प्राकृतिक सुन्दरता। जुन क्षेत्र पाणिनि ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको पाणिनि गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले बताए।
एउटै भूभाग जुन ठाउँबाट बगेको पानी उत्तरतर्फ गएमा कालीगण्डकी नदी र दक्षिण क्षेत्रमा बगेमा वाणगंगा नदीमा पुग्छ। तपोभूमि स्वर्गद्वारी, रेसुंगा र रुरु क्षेत्रको नजिकै पर्ने यो भूभाग धार्मिक दृष्टिकोण तथा प्राकृतिक रूपमा पनि महत्त्वपूर्ण छ। साउनभर साउने मेला लाग्छ। नित्यपूजा हुनुका साथै साउनमा रुद्राभिषेक, शतचण्डी तथा वेद पाठ पारायणलगायतका कार्य वैदिक विधिपूर्वक हुँदै आएको छ। साउनमा तपोभूमिस्थित यस दहमा स्नानका लागि आउने श्रद्धालु भक्तजनको भीड हुन्छ।
विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्र व्यापक प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। पाणिनि ऋषिको तपस्या स्थल पाणिनि तपोभूमि नै हो भन्नेमा विश्वका धार्मिक तथा बौद्धिक व्यक्तित्वबीच मतभिन्नता देखिँदैन। श्रीवर्षाचार्यको सुयोग्य शिष्य पाणिनिले तक्षशिला विश्वविद्यालयमा अध्ययन पूरा गरेका थिए। पहिले पाटनीपुत्र नगर हालको पटनामा पढ्दै गर्दा सर्वोत्कृष्ट हुन नसकेपछि शिवजीको आराधना गर्न हिमालय क्षेत्रतर्फ जान्छु भनी हिँडेका थिए। तपस्या गर्ने स्थल खोज्दै जाँदा पणेनमा तपस्या गरेको भन्ने स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले व्याख्या गरेको र उहाँले लेखेका विभिन्न ग्रन्थमा भेटिएको पाणिनि तपोभूमि व्यवस्थापन समितिका सचिव पुष्करराज पोख्रेल बताउँछन्।
ध्यान तपस्या गर्न मरुभूमि पनि उपयुक्त नहुने, हिमालले ढाकेको ठाउँ पनि उपयुक्त नहुने भएपछि कोलाहलबाट समेत टाढा रहेको समशीतोष्ण यस ठाउँ उपयुक्त हुन्छ भन्ने ऋषिमुनिको निष्कर्ष छ। सोही ठाउँको खोजी गर्दै आउँदा दुर्वाशा ऋषिले तपस्या गरेको दुर्वाशा गुफा र रुरु क्षेत्रको बीचमा पर्ने घनघोर जंगलको बीचमा रहेको यसै भूमिमा पाणिनिले तपस्या गरेका थिए। पहिले रुखका पात, पछि पानी मात्र पिएर र अन्त्यमा हावा मात्र खाएर तपस्या गरेपछि भगवान् शिवजी प्रसन्न हुनुभएको स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले प्रकाशन गरेका विभिन्न पुस्तकमा समावेश पाइन्छ।
शिवजी प्रशन्न भएर प्रतिपादन गरेको १४ सूत्रलाई अहिले माहेश्वर सूत्राणी पनि भन्ने गरिएको छ। सोही सूत्रका आधारमा संस्कृत व्याकरणको रचना गरिएको हो। १४ सूत्र भन्नाले अइउण्, ऋलृक्, एओङ्, ऐऔच्, हयबरट्, लण्, यमङणनम्र, झभय्, घढधस्, जवगडदश्, खफछटथचटतप्, कपय्, शषसर् र हल बुझिन्छ। १४ सूत्रको अन्तिमका अक्षरको महत्त्व हुँदैन। अघिल्ला अक्षरबाट संस्कृत र नेपाली भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण बनेका छन्। यिनै सूत्रको आधारमा संहिता, गुण, वद्धि, एकवचन, बहुवचन, प्रत्यय आदि बनेका छन्। संस्कृत भाषामा रहेका हिन्दु धर्मका चार वेद तथा अन्य ५० भन्दा बढी पुस्तक अंग्रेजी भाषामा अनुवाद गरेका मेकसमुलरले भनेका छन्, ‘हिन्दुहरूको व्याकरण र अन्वयको योग्यता विश्वमा भएका जातिहरूको व्याकरणभन्दा अत्यन्तै श्रेष्ठ छ।’
पाणिनि गाउँपालिकाको नाम पनि पाणिनि ऋषिले तपस्या गरेको तपोभूमिको नामबाट रहन गएको हो। अर्घाखाँची जिल्ला र आसपासका क्षेत्रमा पाणिनि ऋषिको नामबाट विभिन्न विद्यालय, क्याम्पस, व्यवसाय आदिका नाम पनि रहन गएका छन्। सन्धिखर्कमा रहेको पाणिनि बहुमुखी क्याम्पस, पाणिनि वेद विद्याश्रम आदि उदाहरण हुन्। पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्यसिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको संस्कृतका विद्वान् पण्डित केशवानन्द मरासिनी बताउँछन्। पाणिनिका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यानी र पतञ्जलीसमेत लागिपरेका थिए भन्ने भनाइ भारत र नेपालका धार्मिक विद्वान्ले गर्ने गरेका छन्।
२०७६ सालमा नेपाल सरकारले देशका सय गन्तव्यभित्र पारेको यो तपोभूमिलाई पर्यटकीय दृष्टिकोणबाट विकास गरेर देशविदेशमा प्रचार गरी अघि बढाउन आफूहरू लागिपरेको पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको भनाइ छ। लुम्बिनीमा आएका धार्मिक पर्यटक तथा सुपा देउरालीमा आएका धर्मालम्बीलाई यस स्थानमा ल्याउन सकेमा पनि यहाँको विकास हुन सक्छ। संस्कृत अध्ययन गर्नेमात्र हैन, विश्वका विविध भाषाको अध्ययन गर्नेहरूले पनि पाणिनि ऋषिबारे अध्ययन गर्छन्। तर पनि यो तपोभूमिको प्रचारप्रसार खासै हुन सकेको छैन।