कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभा
प्रचण्डले भने : औषधि उत्पादनमा लाग्नुस्, सरकारले सघाउँछ
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन्। प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका हुन्।
प्रचण्डले भने,‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ। तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ।’
प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे। उनले भने, ‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ। आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ।’
चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्ति विकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उनको भनाई छ। प्रचण्डले भने, ‘तपाईंहरूका मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वाससमेत दिलाउँछु।’