सेयरबाट दीर्घकालीन लाभ लिने कसरी ?
काठमाडौं : धितोपत्रको दोस्रो बजारको खरिदबिक्री प्रवृत्ति वित्तीय सूचकको आधारमा भन्दा सेयर मूल्य घटबढमा लगानीकर्ता केन्द्रित भएको देखिन्छ। हुन पनि कम्पनीको सेयर मूल्य आपूर्ति र मागले निर्धारण गर्छ। तर, लगानीकर्ताले कहिलेकाहीँ कम प्रतिफल दिने कम्पनी बढी मूल्यमा र बढी प्रतिफल दिने कम्पनी कम मूल्यमा खरिद गरिरहेका हुन्छन्। यसो हेर्दा उनीहरूले आधारभूत, प्राविधिक विश्लेषण गरेर सेयर खरिदबिक्री गर्नेभन्दा कुन छिटो छिटो बढिरहेको छ भनेर कारोबार गर्ने प्रवृत्ति हावी भएको सेयर विश्लेषक बताउँछन्। तर बुझेर गरेको कारोबार दीर्घकालीन भएकाले बुझेर लगानी गर्न जरुरी ठान्छन्, जानकारहरू।
यता सेयर लगानीकर्ता नवराज दाहाल अहिले सेयर लगानीकर्ताले ईपीएस, एनपीएल, पीईजस्ता वित्तीय सूचक हेरेर खरिदबिक्री गर्नेभन्दा पनि आज, भोलि पर्सि सेयर कति बढ्छ भनेर हेर्ने प्रवृत्ति बढी भएको बताउँछन्। उनका अनुसार नेप्से कारोबारमा नेटवर्थ माइनसमा भएकाहरू सर्किट लागेका छन् तर नेटवर्थभन्दा बजार मूल्य तल भएकाहरू झन् घटेका छन्।
‘अहिले पनि कुनै एउटा वाणिज्य बैंकको नेटवर्थ बजारमूल्य भन्दा पनि बढी छ तर पनि उसको घटेको छ। यसकारण यो बेला लगानीकर्ताले केही पनि हेरेको देखिँदैन। वाणिज्य बैंकका लागि माग बढ्न नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई कर्जा लिन क्याप हटाई दिनुपर्छ,’ दाहालले अन्नपूर्णसँग भने, ‘अनि मात्रै बढी चल्छ। यद्यपि दीर्घकालीन रूपमा लगानी गर्नेहरूले पनि वाणिज्य बैंकको सेयरमा उत्साहित भएर लगानी गरेका छैनन्। किनभने बैंकहरूले पूर्णरूपमा आफूले लगानी गरेर प्रतिफल दिने हो। अहिले सबैको लाभांश दिने क्षमता घटिरहेको छ।’ हुन पनि कुनै समय ३०–३२ प्रतिशत लाभांश दिनेले अहिले १२–१५ प्रतिशत दिएर बसेका छन्। कतिले दिनै सकेका छैनन्।
लगानीकर्ताले कम प्रतिफल पाइने बैंक महँगोमा र बढी प्रतिफल पाइने बैंक सस्तो मूल्यमा किन्ने गरेको नेप्से कारोबारमै देखिन्छ। वाणिज्य बैंकहरूको मुख्य वित्तीय सूचक प्रतिसेयर आम्दानी, सेयर मूल्य र पीई रेसियोलाई हेरेर कसरी दीर्घकालीन लगानीबाट फाइदा लिने भनेर जान्ने एक महत्त्वपूर्ण सूत्र हो। यसर्थ दोस्रो बजारको सेयर मूल्यसँग आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणबाट उक्त सूचकलाई हेर्न सकिन्छ। सेयर मूल्य र प्रतिफलको सम्बन्ध देखाउने तथा विश्लेषण गर्दा सबैभन्दा रिलायबल वित्तीय सूचकांक पीई रेसियो हो।
बैंकको सेयरको बजार मूल्यलाई प्रतिसेयर आम्दानी (ईपीएस)ले भाग गर्दा पीई रेसियो आउँछ। पीई रेसियोले उक्त बैंकको प्रतिसेयर एक रुपैयाँ आम्दानी गर्न लगानीकर्ताले दोस्रो बजारमा कति रुपैयाँ हाल्छन् ? भन्ने देखाउँछ। बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा पीई रेसियो आउँछ, अर्थात् एक रुपैयाँ ईपीएसका लागि दोस्रो बजारको सेयर मूल्य। यसको गणितीय अर्थ बैंकको एक रुपैयाँ प्रतिफल पाउन लगानीकर्ताले दोस्रो बजारमा कति रुपैयाँ तिर्ने गरेका छन् भन्ने पनि हो। कम पीई रेसियोले लगानीको तुलनामा आम्दानी बढी छ भन्ने बुझाउँछ। अर्थात् जति कम पीई त्यति राम्रो प्रतिफल। यसका लागि माघ १४ गते आइतबार नेप्सेमा कारोबार भएको वाणिज्य बैंकहरूको सेयर मूल्य र चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणको प्रति सेयर आम्दानीको आधारमा पीई रेसियोलाई लिन सकिन्छ।
बैंकको ईपीएसलगायतका पक्ष
चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कुमारी बैंकको ईपीएस सबैभन्दा कम ६.६१ रुपैयाँ छ। बैंकको सेयर मूल्य १ सय ५३ रुपैयाँ छ। दोस्रो बजारमा कारोबार हुने बैंकहरूमध्ये सबैभन्दा बढी ईपीएस स्ट्यान्डर्ड चार्टर्डको छ। उक्त बैंकको ईपीएस ३६.६२ रुपैयाँ छ। यसपछि बढी ईपीएस हुने बैंकको दोस्रो सूचीमा एभरेस्टको २९.१२ र तेस्रो एनआईसी एसियाको २५.५९ रुपैयाँ छ। यसैगरी क्रमशः नबिलको २३.७४ र प्राइमको २२.५० रुपैयाँ रहेको छ। यसबाहेकका बैंकको ईपीएस २० रुपैयाँभन्दा कम छ।
कुनै पनि कम्पनीको निश्चित अवधिको व्यावसायिक र वित्तीय स्वास्थ्य बताउने सबैभन्दा प्रचलित र भरपर्दो मानक नै ‘ईपीएस’ अर्थात् प्रतिसेयर आम्दानी हो। कम्पनीको तोकिएको अवधि (त्रैमास वा वार्षिक) मा व्यावसायिक गतिविधिबाट प्राप्त आय, अन्य स्रोतको आयबाट कर्मचारी तथा सञ्चालन खर्च र करको व्यवस्थापछि प्राप्त हुने खुद नाफा (नेट प्रोफिट) निकालिन्छ। बैंकहरूको हकमा खुद ब्याज, शुल्क र कमिसन आय, खुद व्यापारिक आय (ट्रेडिङ इन्कम) र अन्य आय जोडेर प्राप्त कुल सञ्चालन आम्दानीबाट कर्जा तथा अन्य सम्पत्तिमा नोक्सानी व्यवस्था वा फिर्ता (इम्पेरिमेन्ट चार्ज वा रिभर्सल) जोडेर वा घटाएर खुद सञ्चालन नाफा नोक्सानी निकालिन्छ। आम्दानीबाट कर्मचारी खर्च, अन्य सञ्चालन खर्च, हास र अपलेखनजस्ता कुल सञ्चालन खर्च कटाएर निस्कने कुल सञ्चालन नाफाघाटामा गैरसञ्चालन आम्दानी र खर्च मिलानपछि आयकर अघिको नाफाघाटा निस्कन्छ। यसमा आवश्यक आयकर व्यवस्थापछि कायम रकम खुद नाफा हो।
खुद नाफालाई कायम साधारण सेयर कित्ताले भाग गरेर आधारभूत ईपीएस (ईपीएस खुदनाफा/कुल साधारण सेयर कित्ता) निकालिन्छ। सामान्यतः वार्षिकमा व्यक्त गरिने ईपीएस वार्षिकीकरण गर्न पहिलो त्रैमासलाई २५, दोस्रोलाई ५०, तेस्रोलाई ७५ र चौथोलाई एक सय प्रतिशत मानेर गणना गरिन्छ। तर, जलविद्युत् वा कुनै समयमा मात्र बढी आय हुने कम्पनीको वार्षिकीकरणमा भने सजग हुनुपर्छ।
ईपीएसले कम्पनीको सञ्चालक र व्यवस्थापनको व्यावसायिक र व्यवस्थापकीय क्षमतालाई अंकमा व्यक्त गर्छ। व्यावसायिक अवस्था, कर्मचारीको उत्पादकत्व, चुक्तापुजी र समग्र इक्विटीमा प्रतिफल, मूल्य–आम्दानी अनुपातजस्ता सूचकलाई ईपीएसले व्यक्त गर्ने वा गणनाको आधार दिल्छ। कम्पनीको आधारभूत सूचक वा मेरुदण्ड मानिने ईपीएसको शुद्धता र यथार्थपरकताले सम्पूर्ण विश्लेषण र लगानी निर्णय प्रभावित गर्छ। हाल लगानी निर्णयमा सामान्यतः सम्बन्धित अवधिको वार्षिक वा त्रैमासिक ईपीएसलाई आधार बनाइन्छ।
एक वर्ष वा एक त्रैमासको आधारमा कुनै कम्पनीको वित्तीय सबलता वा दुर्बलता मापन गर्दै लगानी व्यवस्थापनले जोखिम र अवसरगत लागत बढ्न सक्छ। यस्तो जोखिम समायोजन गर्न विगत ६ महिना र आगामी ६ महिनाको मिश्रित वा विगत १२ महिनाको ईपीएसको औसत अर्थात् ट्रेलिङ ट्वेल्भ मन्थ (टीटीएम) ईपीएसको प्रयोग प्रभावकारी मानिन्छ। हुन त शुद्ध आधारभूत ईपीएसको तथ्यांकसमेत सहजै उपलब्ध नभइरहेको अवस्थामा टीटीएमको तथ्यांक धेरैको जानकारी र पहुँचभन्दा बाहिर छ।
वाणिज्य बैंकको सेयर मूल्य र पीई रेसियो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को माघ १४ गतेको दोस्रो बजारमा कारोबार भएको वाणिज्य बैंकहरूको अन्तिम सेयर मूल्यलाई आधारमान्दा सबैभन्दा महँगो स्ट्यान्डर्ड चार्टर्ड बैंक छ। उक्त दिन यो बैंकको मूल्य प्रतिकित्ता ५ सय ४० रुपैयाँ छ। यसपछि महँगो सेयर एभरेस्टको छ। यसको प्रतिकित्ता सेयर मूल्य ५ सय ३७ रुपैयाँ ८ पैसा छ। यस बाहेककाको सेयर मूल्य पाँच सयभन्दा कम छन्। यद्यप ियसबाहेक सेयर मूल्य बढी हुनेमा क्रमशः नबिल बैंकको ४ सय ९१, एनआईसी एसिया बैंकको ४ सय ८१, र नेपाल एसबीआई बैंकको २ सय ९८ रुपैयाँ ९ पैसा रहेको छ। यसबाहेकका बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ५० रुपैयाँभन्दा कम छ। सबैभन्दा कम सेयर मूल्य कुमारी बैंकको छ। यस दिन कुमारीको प्रतिकित्ता १ सय ५३ रुपैयाँमात्रै छ।
उक्त तथ्यांकको आधारमा हिसाब गर्दा प्राइम बैंकको पीई रेसियो सबैभन्दा कम ९.२८ छ भने नेपाल बैंकको सबैभन्दा बढी २९.१४ छ। अर्थात् प्राइमको एक रुपैयाँ प्रतिसेयर आम्दानीका लागि लगानीकर्ता दोस्रो बजारबाट सेयर किन्दा मात्र ९.२९ रुपैयाँ तिर्न तयार छन्। प्राइमपछि कम पीई रेसियो हुने एनएमबी बैंकको १३.०८ छ। यसपछि क्रमशः माछापुच्छ्रेको १३.७४, कृषि विकास बैंकको १३.८२, सिद्धार्थको १४.५२, हिमालयनको १४.५७, सानिमा १४.६९ र स्ट्यान्डर्ड चार्टर्डको १४.७५ छ। यसबाहेकको बैंकको पीई रेसियो १५ भन्दा कम छ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार पीई १० भन्दा कम भएको संस्थाको सेयर किनिहाल्न सुझाव दिइन्छ। यसअनुसार अहिले प्राइम बैंकको उपयुक्त देखिन्छ। तर, नेपालमा यो लागू हुँदैन। राम्रो प्रतिफल दिने र कम मूल्य भएका वाणिज्य बैंकको पीई १५ भन्दा माथि पनि छ। कम पीई भएको कम्पनीको सेयर राम्रो भन्ने विषय पनि आफैं विवादित छ। लगानीकर्ताले पीई हेरेर कुन बैंकमा लगानी गर्दा ठीक हुन्छ, त्यो सोच्नुपर्ने जानकारको ठहर छ। वित्तीय विवरणअनुसार थोरै लगानी गरेर सबैभन्दा बढी रिटर्न पाउने बैंक छान्नु आवश्यक हुन्छ। पीईले अहिलेको रिटर्नमात्र होइन, भोलि कति हुन्छ पनि संकेत गर्छ। माग र आपूर्तिले निर्धारण गर्ने सेयरको माग भोलिको सम्भावना अध्ययनले पनि फरक पर्न सक्छ।
यसैक्रममा सेयर विश्लेषक नवराज दाहालका अनुसार सेयर कारोबारमा वित्तीय सूचकको स्थिति हेरेर लगानी गर्नुपर्ने हो तर बजार हेर्दा त्यस्तो देखिँदैन। उनी भन्छन्, ‘बैंकको ईपीएस, पीई हेरेर सेयर किन्ने गरेको देखिँदैन। तर भोलिका दिनमा सुरक्षित भएर लगानी गर्ने हो भने ईपीएस बढी भएका र पीई कम भएकालाई छान्न सक्यो भने त्यो उपयुक्त निर्णय हो।’ तर बजारले त्यो दिँदैन किनभने अहिले बजार ट्रेडर हाबी भएको उनको बुझाइ छ। ‘यहाँ १० रुपैयाँ आउने भइहाल्यो नेप्से रातो हुन थाल्यो भने ८ रुपैयाँ नाफाबुक गरिहाल्छु नि भन्ने अवस्थामा पुगेको छ। बैंकको सेयर बढी होल्ड भयो भने सेयरमूल्य बढ्ने हो। तर बैंकको पुँजी आकार ठूलो भएकाले कसैले होल्ड गर्न सक्दैनन्,’ उनले थपे।
ईपीएस, पीई रेसियो गणना विधि
सेयर कारोबार मूल्यलाई कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)ले भाग गरेर आउने अनुपात ‘पीई रेसियो’ हो। जस्तैः ‘क’ नाम गरेको बैंकको सेयरको प्रचलित मूल्य प्रतिकित्ता ३ सय र ईपीएस १५ भए ३ सय रुपैयाँलाई १५ ले भाग गर्दा आउने २० (३००/१५ =२०) नै उक्त कम्पनीको ‘पीई’ हो।
कम्पनीको सेयरको मूल्य बढेर ३ सय १५ रुपैयाँ पुगे पीई बढेर २१ हुन्छ भने मूल्य घट्दा पीई पनि घट्छ। यस्तै ईपीएस बढेर २० पुगे पीई घटेर १५ (३००/२० =१५) हुन्छ भने ईपीएस घट्दा पीई बढ्छ। प्रत्येक कारोबार मूल्य वा ईपीएससँगै परिवर्तन हुने ‘पीई’को शुद्धता र विश्वसनीयता ईपीएसको शुद्धता र विश्वसनीयतामा भर पर्छ।
तीन सय रुपैयाँ पर्ने कम्पनीको ईपीएस २० रुपैयाँ भन्नुको अर्थ कम्पनीले प्रतिसेयर २० रुपैयाँ कमाएको छ। अर्थात्, एक रुपैयाँ कमाउनका लागि लगानीकर्ताले दोस्रो बजारमा १५ रुपैयाँ तिरेको हुन्छ। अर्थात्, लगानीकर्ताले दोस्रो बजारमा गरेको लगानीको ६.६७ प्रतिशत प्रतिफल पाइरहेको छ भन्ने हुन्छ। वित्तीय विवरणको आधारमा वर्षभर उल्लेखित २० रुपैयाँ कमाउने हो भने ३ सय रुपैयाँ लगानी उठ्न १५ वर्ष लाग्छ भन्ने पनि पीई रेसियाले संकेत गर्छ। यसबाहेकको अर्को अर्थ अहिलेको ईपीएस प्राप्त गर्न १५ गुणा मूल्य दोस्रो बजारमा तिर्नुपर्छ भन्ने पनि हो। यी विषय सैद्धान्तिक हुन्। सबैभन्दा ठूलो प्रश्न, ईपीएस कति शुद्ध, कति विश्वसनीय र कति निरन्तर छ ? भन्ने पनि तुलनात्मक रूपमा हेर्न जरुरी छ।
अहिले सेयर लगानीकर्ताले ईपीएस, एनपीएल, पीईजस्ता वित्तीय सूचक हेरेर खरिद बिक्री गर्नेभन्दा पनि आज, भोलि पर्सि सेयर कति बढ्छ भनेर हेर्ने प्रवृत्ति बढी छ। नेप्से कारोबारमा नेटवर्थ माइनसमा भएकाहरू सर्किट लागेका छन् तर नेटवर्थभन्दा बजार मूल्य तल भएकाहरू झन् घटेका छन्। सेयर कारोबारमा वित्तीय सूचकको स्थिति हेरेर लगानी गर्नुपर्ने हो तर बजार हेर्दा त्यस्तो देखिँदैन। बैंकको ईपीएस, पीई हेरेर सेयर किन्ने गरेको देखिँदैन। तर भोलिका दिनमा सुरक्षित भएर लगानी गर्ने हो भने ईपीएस बढी भएका र पीई कम भएकालाई छान्न सक्यो भने त्यो उपयुक्त निर्णय हो। तर बजारले त्यो दिँदैन किनभने अहिले ट्रेडर हाबी भएको बजार हो।
नवराज दाहाल, सेयर लगानीकर्ता