रसुवा भन्सारबाट लक्ष्यभन्दा बढी राजश्व असुली
रसुवा : रसुवा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पुस मसान्तभित्र १९ अर्ब ५४ करोड २३ लाख रुपैयाँको सामग्री आयात भएको छ। जसबाट १० अर्ब ३२ करोड ५६ लाख रुपैयाँ राजश्व असुली भएको छ । यो लक्ष्यको ३४ दशमलव ९५ प्रतिशत हो ।
गत आवको यस अवधिमा ३ अर्ब ४६ करोड २३ लाख रुपैयाँ असुली भएको थियो । पुस मसान्तसम्म कार्यालयले ८ अर्ब ९६ करोड २६ लाख राजश्व उठाउने लक्ष्य राखेकोमा यस अवधिका १० अर्ब ३२ ५६ लाख रुपैयाँ असुली गरेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए ।
गतवर्षको पुस मसान्तसम्ममा ४ करोड ९३ लाख रुपैयाँको सामग्री निर्यात गरी ३ लाख ४५ हजार रुपैयाँ राजश्व असुली गरिएको थियो । चालु आवमा १ अर्ब २७ करोड ८० लाख रुपैयाँ बराबरको सामग्री निर्यात गरी ५ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
चालु आवमा दण्ड तथा जरिवानाबाट २८ करोड २२ लाख रुपैयाँ संकलन गरेको प्रमुख पाठकले बताए । भन्सार याडमा सुधार,सुन तस्करी नियन्त्रणमा सक्रियता बढाएको,मालवस्तुको यर्थाथ मूल्यांकनमा कडाइ गरिएको रसुवा भन्सारले जनाएको छ ।
०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक ३ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्दथे । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो ।
रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।