स्वास्थ्य र आनन्दको प्यारो साधन

जो साइकल चढ्छन्

स्वास्थ्य र आनन्दको प्यारो साधन
राज ज्ञवाली, अध्यक्ष कोरा साइकलिङ च्यालेन्ज, धुलिखेल साइक्लिङ क्लब
सुन्नुहोस्

‘नेपाल आफैंमा सानो देश हो। सानो देशमा सानै कुराको ख्याल नगर्दा राज्यले धेरै क्षति बेहोर्नुपरेका कैयौं उदाहरणहरू छन्। सबैभन्दा ठूलो सम्पत्ति व्यक्तिको स्वास्थ्य हो। भनिन्छ नि !, स्वास्थ्य सबैभन्दा ठूलो धन हो।’ यो भनाइ हो, ललितपुर महानगरपालिका वडा नम्बर १० का राज ज्ञवालीको। 

उनले स्वास्थ्यलाई नै जब महत्वपूर्ण धनको रूपमा सम्झे त्यसपछि उनले सोच बदले र यात्रा गर्दा सकेसम्म साइकलमै गर्ने निर्णयमा पुगँे। ज्ञवाली साइकलमा यात्रा गर्न थालेको २० वर्ष पुग्यो। उनी शारीरिक रूपमा स्वस्थ छन्। ५६ वर्षीय ज्ञवाली आफू मात्र साइकलको यात्रा गर्ने मात्र होइन सयौंलाई संगठित गर्दै साइकलको यात्रालाई प्राथमिकता दिनेगरी अभियानकै रूपमा लागिपरेका छन्।

‘काठमाडौंमा धेरै स्वास्थ्य समस्या धुलो र धुवाँले हुने गरेको देखिएको छ’, ज्ञवालीले भने, ‘यसलाई उच्च प्राथमिकता दिएर सरकारले काम गरेको देखिएको छैन।’ उनले अहिलेका मानिसहरूमा इज्जत र प्रतिष्ठा भनेको उसको जग्गा जमिन र गाडीहरूलाई मात्र आधार मान्ने गरेको पनि सुनाए। पैसा कमाएपछि गाडी किन्नुपर्छ भन्ने सोचबाट मानिसहरू माथि उठ्न पनि उनले सुझाव दिएका छन्। 

‘विकसित देशहरूमा गाडीहरूलाई भन्दा साइकललाई धेरै प्राथमिकता दिने गर्छन्’, ज्ञवालीले भने, ‘ती देशहरूमा गाडी गुड्नेभन्दा साइकलका लागि बाटो फराकिलो बनाउने गर्दा रहेछन्।’ साइकलको निरन्तर यात्रा गर्दा मानिसहरू स्वस्थ्य हुने गरेको उनको अनुभव छ।

मानिसहरू स्वस्थ्य भएमा राज्यले पनि स्वास्थ्य क्षेत्रमा लगानी धेरै गर्नु नपर्ने र स्वास्थ्यको बजेटलाई अन्य पूर्वाधार निर्माणमा खर्च गर्न सकिने ज्ञवालीको सुझाव छ। मानिसहरू बिरामी भए भनेर अस्पताल खोल्नुभन्दा साइक्लिङलाई प्राथमिकता दिएर नीतिगत रूपमै कार्यक्रमहरू ल्याउनुपर्ने उनको भनाइ छ। ‘नेपालमा साइकल चढ्नेहरूलाई अझै पनि सम्मान गर्ने गरेको देखिँदैन’, ज्ञवालीले भने, ‘कालो सिसाका गाडीमा सवार गर्नेहरूमात्र ठूलाबडा हुन्। धनीमानी हुन् भन्ने सोच बदल्नुपर्छ।’ उनले गाडीमा सवारी गर्नेहरू पनि बुढेसकालमा गएर स्वस्थ जीवनका लागि साइकल धेरै उपयुक्त हुने मनशायमा पुगेकोसमेत अनुभव सुनाए। 

साइकललाई नीतिगत रूपमा सरकारले दर्ता गर्ने र बिमालगायतका कार्यक्रमबाट पनि सम्बोधन गर्नुपर्नेमा उनले माग राखे। साइकललाई सुरक्षित यात्राका रूपमा सरकारले ध्यान दिन उनले सुझाव दिए। साइकलको ‘लेन’ बनाउने मात्र समस्याको समाधान नभएको  तर त्यो एउटा  उपाय मात्र  भएको   ज्ञवालीको भनाइ छ। 

मानिसहरूले आफ्नो प्रगतिको निशाना जग्गा, घर र गाडीहरूलाई लिने भएकै कारण दिनप्रतिदिन वातावरण प्रदुषण बन्दै गएको उनको भनाइ छ। जथाभावी बनाइएका पक्की घरहरू र बग्रेल्ती सडकमा गुड्ने गाडीहरूका कारण वातावरण धुमिल बनेको उनी सुनाउँछन्। 

उनी ‘कोरा साइकलिङ च्यालेन्ज, धुलिखेल साइक्लिङ क्लबका’ अध्यक्ष पनि हुन्। जो नेपालकै सबैभन्दा ठूलो साइक्लिङ राइडर हो। हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिबार देशभर साइकल र्‍याली निकालेर देशभर सन्देश प्रवाह गर्ने गरिएको उनले जानकारी गराए। जुन र्‍यालीमा काठमाडौंमा मात्र कम्तीमा चार हजार बढी मानिस सहभागी हुन्छन्। देशका ठूला २० वटा सहरमा त्यसदिन र्‍याली निकाल्नेसमेत गरिन्छ। कम्तीमा १ सय किलोमिटरसम्म साइकलयात्रा त्यस दिन गर्ने गरिएको उनले बताए। देशका विभिन्न ठाउँहरूमा निरन्तर साइकलको प्रयोग गर्ने व्यक्तिहरूलाई संगठित गर्दै जानेसमेत उनले जानकारी गराए। उनी आफू सहभागी हुने कार्यक्रम, बैठकलगायतमा साइकलमै पुग्ने गरेको पनि अनुभव सुनाए। 

स्वास्थ्य र वातावरणीय हिसाबले साइकलको महत्व दिनप्रतिदिन बढ्दै गएकाले यसको प्रयोगमा सबैले चासो दिन ज्ञवालीले आग्रह गरेका छन्। धुलो, धुवाँ कम भएपछि स्वतः रूपमा मानिसहरू रोगको सिकार हुनु नपर्नेसमेत उनको भनाइ छ। मानिसहरूले साइकलको महत्वलाई विस्तारै बुझ्दै जान थालेको समेत उनले सुनाए। 

‘पार्किङका लागि पनि साइकललाई ठूलो क्षेत्रफलको जग्गा चाहिँदैन’, ज्ञवालीले भने, ‘जुनसुकै कोणबाट हेरे पनि साइकलको महत्व निकै छ, आजैदेखि यसको प्रयोगमा सबैले चासो दिऊँ।’ साइकल चढ्दा स्वस्थ मात्र नभएर आनन्दित अनुभूति पनि हुने उनले अनुभव सुनाएका छन्। उनले साइकलको महत्वलाई आफूले सकेसम्म सबैलाई बुझाउँदै हिँड्ने गरेको समेत जानकारी गराए। तीन/चार दिनको यात्रा गर्दा साइकलमा सम्भव नदेखिए पनि आफ्ना दैनिक क्रियाकलापहरूमा साइकलको यात्रा गर्न असम्भव नहुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.