सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन : सञ्चारमन्त्री
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएकी छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा मन्त्री शर्माले सरकारी सञ्चारमाध्यम भजनमण्डली जस्तो नभएर स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएकी हुन्। जनताका अपेक्षा र सरकारको कामलाई सरकारी सञ्चारमाध्यमले जोड्न सक्नुपर्ने उनले बताइन् ।
उनले विधेयकलाई समयसापेक्ष बनाउन राष्ट्रियसभाको संशोधन र अहिले आउने संसोधनलाई ध्यान दिइने जिकिर गरिन् । मन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकठाउँमा मर्ज गरेर उन्नतस्तरको सञ्चारमाध्यम बनाउने गरि तयारी गरिएको धारणा राखिन्। उनले संसदको आगामी अधिवेशनमा विधेयकहरुलाई पेश गर्ने गरि पारित गर्नुपर्नेमा जोड दिइन्।