प्रधानमन्त्रीलाई भेटेर मेयर सिंहले भने- वीरगन्ज विभेद्मा पर्यो
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज संघीय सरकारको उपेक्षामा परेको गुनासो प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका छन्।
सोमबार वीरगन्जमा प्रधानमन्त्रीसँग पर्सा-बाराका स्थानीय तहका प्रमुखहरूको संवाद कार्यक्रममा वीरगन्ज महानगरका मेयर सिंहले आर्थिक नगरी भनेर चिनिने वीरगन्ज महानगर भए पनि सरकारको उपेक्षामा परेको गुनासो गरे।
उनले वीरगन्ज महानगरपालिका भए पनि महानगरको मापदण्डअनुसारको न्यूनतम शहरी सुविधाबाट बञ्चित भएको बताएका थिए। प्रधानमन्त्री दाहाललाई मेयर सिंहले भने, 'वीरगन्जसँग विभेद् गरिदिनुभएन। काठमाडौं, भरतपुर, ललितपुर महानगरजस्तै वीरगन्जलाईपनि सरकारले हेरिदिनुपर्यो।'
उनले सर्वोच्च अदालतमा वर्षौंदेखि अड्किएको वीरगन्जको मुख्य सडक विस्तारसम्बन्धी मुद्दा छिट्टै टुङ्ग्याउनका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरे। 'सर्वोच्चमा वीरगन्जको मुख्य सडक विस्तारको मुद्दाको पेशी २३औं पटक सरिसकेको छ। अब अर्को पेशी फागुनमा परेको छ। उक्त मुद्दाको किनारा लगाउन सरकारले पहल गरिदिनुपर्यो,’ उनले भने।
देशकै दोस्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णेद्वार र विस्तारलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरिदिन पनि उनले आग्रह गरेका थिए। मेयर सिंहले वीरगन्जका लागि केही ठूला परियोजनासहितको योजना सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न आग्रहसहितको पत्र पनि उनले बुझाएका थिए। पत्रमा वीरगन्जमा चापकाल सुक्ने समस्या दोहोरिने सम्भावना भएकाले खानेपानी समस्या समाधानका लागि आवश्यक संख्यामा ओभरहेड ट्यांकी निर्माणका लागि आगामी बजेटमा ब्यवस्थापन गरिदिन माग गरिएको छ।
त्यस्तै वीरगन्ज १७ र १९ मा अतिक्रमणमुक्त बनाइएको करिब ३५ बिघा जग्गामा पर्यटकीय स्थलका रूपमा आधुनीक ताल निर्माणको प्रक्रिया अगाडि बढाइएकाले त्यसका लागि आवश्यक ५० करोड रुपैयाँको बजेट विनियोजन गरिदिनपनि मेयर सिंहको आग्रह छ। त्यस्तै वीरगन्जमा व्यवस्थित ट्रान्सपोर्ट भिलेज निर्माणको लागि पनि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह मेयर सिंहले गरे।
त्यस्तै वीरगन्जमा रहेको १३५ वर्ष पुरानो पुरातात्विक तथा धार्मिक महत्व सहितको नृसिंह मन्दिर जिर्णोद्वार तथा सौन्दर्यकरणका लागि ३५ करोड, घण्टाघर छेउको खाली जग्गामा पार्क निर्माणका लागि ३९ करोड, सिर्सिया नदिको दुवैतर्फ तटबन्ध गरी १० किलोमिटरको कालोपत्रे सडक निर्माणका लागि ५० करोड, विन्दवासिनी मन्दिरको सौन्दर्यकरणका लागि १७ करोड रुपैयाँ सरकारको आगामी बजेटमा विनियोजन गरिदिनपनि मेयर सिंहले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
मेयर सिंहको आग्रहसहितको पत्र बुझेपछि प्रधानमन्त्री दाहालले वीरगन्ज महानगरका लागि मेयर सिंहले लिखितरूपमा पेस गरेका माग सरकारको नयाँ बजेटमा सम्बोधन गर्ने आश्वासन दिए। उनले भने, ‘स्थानीय तहका मुद्दा र समस्या सम्बोधन गर्ने गरी नै नयाँ नीति, कार्यक्रम तथा बजेट सरकारले बनाउँदैछ।’ त्यसैका लागि सरकारले अहिलेदेखि नै काम थालिसकेको पनि उनले जानकारी गराए। तीन तहका ससरकारबीच देखिएको असन्तुलनलाई निराकरण हुने गरी नयाँ नीति, कार्यक्रम तथा बजेट ल्याउन सरकारले ध्यान केन्द्रित गरेको पनि उनले बताए।
उक्त संवाद कार्यक्रममा पर्साका १४ र बाराका १६ पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता थियो।