सहिदहरूको बलिदानद्वारा आफ्नो संविधान आफैं बनाएका छौं : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूको बलिदानद्वारा आफ्नो संविधान आफैं बनाएका बताएका छन्। सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएको उल्लेख गरेका छन्।
संविधान र गणतन्त्रले परिलक्ष्य गरेकोमर्मलाई आत्मसात गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनले बताए। ‘महान् सहिदहरूको बलिदानद्वारा हामीले आफ्नो संविधान आफैं बनाएका छौं। जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं।’ पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ। संविधान र गणतन्त्रले परिलक्ष्य गरेको यही मर्मलाई आत्मसात गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मैले ठानेको छु।’
उनले जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन्।
‘सहिद दिवस देशका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न काल खण्डहरूमा निरङ्कुश र तानाशाही शासन व्यवस्था विरूद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाईदैँ आइएको छ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो। यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम नागरिक र सम्बद्ध सबैलाई नेपाल र नेपाली जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु।’
वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकांक्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न लाग्नुपर्नेमा पौडेलले जोड दिए।