कर्णालीका तीन जिल्लामा 'समुदायमा कांग्रेस' अभियान
वीरेन्द्रनगर : कर्णाली प्रदेशका तीन जिल्लामा 'समुदायमा कांग्रेस' अभियान सुरु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार कांग्रेसलाई समुदायसँग जोड्ने र जनताका सवालहरु बुझ्ने अभियान कर्णालीका सुर्खेत, दैलेख र सल्यान गरी तीन जिल्लामा एकैसाथ सुरु भएको हो ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा अभियानको सुरुवात गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले जनताका समस्या र सवाल बुझ्न समुदायमा कांग्रेस अभियान थालिएको बताए । उनले भने,'नेपालको प्रमुख राजनीतिक दल कांग्रेस हुनुको नाताले जनताको भरोषा पनि कांग्रेससँग छ । पछिल्लो समय नेपाली समाजमा राजनीतिक दलहरूप्रति जनताका गुनासाहरू बढ्दै जाँदा कांग्रेसले आशाको किरण छर्न समुदाय केन्द्रीत अभियान थालेको हो ।
कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पामा निकै जाडो भएका कारण यो अभियान चलेको छैन् । जाजरकोट र रुकुमपश्चिममा गत कात्तिकमा गएको विनासकारी भुकम्पबाट समस्यामा रहेका जनताहरुको राहत तथा पुननिर्माणका कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरु सक्रिय रहेकाले यो अभियान चलेको छैन् । नेपाली कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता दमनबहादुर शाहीले भने,'पहिलो चरण कर्णालीका तीन जिल्ला सुर्खेत,दैलेख र सल्यानका सबै वडामा कांग्रेसका नेता तथा कार्यकर्ताहरु समुदायमा परिचालन भएका छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा नेपाली कांग्रेस सुर्खेतका सभापति एवं प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल,नेपाली कांग्रेस प्रदेश महामन्त्री निरञ्जन केसी,जिल्ला उपसभापतिहरु बिष्णु खड्का,टोपबहादुर रावत,सचिव देवकुमार सुवेदीसहितका नेता तथा कार्यकर्ताहरूले सरसफाइ गरे ।
समुदायमा कांग्रेस अभियानमा दैनिक समाजमा रहेका सबै तहमा काम गर्ने व्यक्तिहरू,व्यवसायीहरु, नागरिक समाज, बौद्धिक व्यक्तित्वसहित आम जनतासँग भेटघाट गर्ने,राजनीतिक दलप्रति नागरिकहरुको अपेक्षा र गुनासाहरू सुन्ने र सार्वजनिक ठाउँहरु सरसफाइ गर्ने कामहरु गरिने नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले बताए । उनका अनुसार यो अभियान सुर्खेतका सबै वडामा सञ्चालन भइरहेको छ ।