बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते
बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा वडा नम्बर ८ को कालागाउँकी १५ वर्षीया मनिसा बिष्ट रहेकी छन्।
दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जीप मंगलबार दिउँसो वडा नम्बर २ को कटौजपानीमा दुर्घटनमा परेको हो।
जीपमा चालकसहित ८ जना सवार रहेको र अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
घाइते हुनेमा वडा नम्बर ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेका प्रहरी निरिक्षक जोशीले बताए।
घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। जीप सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।