राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको सरकारले पर्दाफास गर्‍यो : प्रधानमन्त्री

राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको सरकारले पर्दाफास गर्‍यो : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहसिक र जनपक्षीय कामहरू अघि बढाएको दाबी गरेका छन् । नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको सरकारले पर्दाफास गरेको दाबी गरेका हुन्।

‘चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकारले एक वर्ष एक महिनाको अवधि पूरा गरिसकेको छ । यसबीचमा सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ ।’उनले भने,‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ । ’

उनले सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको दाबी गरे। सरकारको जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको उल्लेख गरे। प्रचण्डले भने,‘मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ भने सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको छ । यसरी सरकारले चालेका जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको छ ।’ 

नेपाल टेलिभिजनको ३९ औं वार्षिकमा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू,
मन्त्रालयका सचिवज्यू,
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षसहित महाप्रवन्धक, सञ्चालक समितिका सदस्यहरू,
विज्ञापन एजेन्सीका प्रतिनिधि र विज्ञापनदाताहरू,
आमन्त्रित पाहुनाहरू,
कर्मचारी मित्रहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।

नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवको अवसरमा आम दर्शक र नेपाल टेलिभिजनमा आवद्ध तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२०४१ साल माघ १७ गते स्थापित नेपाल टेलिभिजनको हाल ५ वटा च्यानल र न्यूज पोर्टल नेपाल टिभी अनलाइन सञ्चालनमा रहेको जानकारी पाउँदा खुशी लागेको छ । सङ्घीयताको मर्मअनुसार प्रदेश र स्थानीय सरकारका गतिविधिलाई समेत आम दर्शकसम्म निरन्तर जोड्नका लागि नपाल टेलिभिजनका सबै च्यानलले २४ सै घण्टा प्रसारण गरिरहेका कार्यहरू प्रशंसनीय छन् । नेपाल टेलिभिजनले आफ्नो व्यावसायिक वृत्तिका साथै सङ्घीयता, समावेशीता र समानताको मर्मलाई आत्मसात गर्दै उत्पादन तथा प्रसारण गरेका कार्यक्रमहरूले आपसी सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाएको छ । नेपाल टेलिभिजनले विभिन्न १० भाषामा समावेशी कार्यक्रम र ६ भाषामा समाचार प्रसारण गर्नु खुसीको कुरा हो । यसका साथै थप भाषामा समेत समावेशी समाचार प्रसारण हुने अपेक्षा गरेको छु ।

नेपाल टेलिभिजन राज्यको आधिकारिक र जिम्मेवार प्रसारण संस्था भएकाले राज्यप्रतिको दायित्व र नागरिकप्रतिको जिम्मेवारीलाई निर्विवाद निर्वाह गरेको छ र गरिरहने छ भन्ने विश्वास पनि व्यक्त गर्दछु । राज्यप्रतिको दायित्व भनेको सरकारको गुणगान नभई सुशासन, पारदर्शीता र जवाफदेहिताको पहरेदारी हो भने नागरिकप्रतिको जिम्मेवारी भनेको नेपाली नागरिकका संविधानप्रदत्त अधिकारको प्रत्याभूति हो ।

लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई जिम्मेवाररूपमा सदैव सुरक्षित गर्नेछ । म नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु । त्यसैले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात गरिएका विषयवस्तुहरु नेपाल टेलिभिजनमा देख्न चाहन्छु । यसका साथै देशकै पहिलो टेलिभिजन भएकाले नेपाल टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रको प्रविधिमा आएको परिवर्तन अनुसार समयानुकूल बनाउनुपर्ने अवस्था देखेको छु । मूलतः अबको डिजिटल युगमा नेपाल टेलिभिजनले पनि आफ्ना उत्पादन र प्रसारणलाई त्यसतर्फ व्यापकरूपमा स्थापित गर्न ढिला गर्नु हुँदैन । ‍यसका साथै टेलिभिजनको अबको आवश्यकता र आम दर्शकको रूचिअनुसारका विषयवस्तुमा आफूलाई केन्द्रित गरी संस्थानको विकासका लागि नयाँ तर दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नु पर्दछ । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक सेवा प्रसारण संस्था बनाउने गरी संसदमा रहेको विद्येयकमा समायानुकूल परिमार्जनसहित पारित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । तपाईहरूले नै आगामी दिनका लागि सकारात्मक प्रभाव राख्ने सही विश्लेषणसहितको योजनाको सङ्कल्प तयार गर्नुहोस्, यसमा मेरो र सरकारको सहयोगी भूमिका रहनेछ ।

‘टेलिभिजन भनेको ‘प्रविधि र प्रतिभा’को संयोजन हो । प्रविधिमा आएको परिवर्तनले अब तपाईका दर्शकले एक दशकअघिको समयजस्तो तपाईको कार्यक्रम र तपाईको टेलिभिजन च्यानललाई कोठाको टिभी सेटमा कुरेर बस्ने छैनन् । डिजिटल प्लेटफर्म र इन्टरनेटको पहुँचमा रहेका दर्शकका रूचिलाई आत्मसात गर्ने, दर्शकले हेर्न खोजेका विषयवस्तुलाई उनीहरूकै रूचि र अनुकूल प्रविधिमा हेर्ने सुविधाको सुनिश्चितता गर्ने तथा उच्च व्यावसायिकता र सिर्जनशीलताको परीक्षा र सफल नतिजा देखाउने सही समय यही हो भन्ने मलाई लाग्दछ ।

सरकारले नवीनतम प्रविधिको प्रयोगबाट सञ्चालित मिडियालाई विश्वसनीय, जिम्मेवार र जवाफदेही बन्न स्वनियमनको प्रणाली अवलम्बन गर्नुपर्छ भनेर आग्रह गर्दै आएको छ । सरोकार पक्षको सहभागितामा आमसञ्चार सम्बन्धी विद्येयकको मस्यौदा गर्ने र त्यसलाई वेभसाइटमा सार्वजनिक गरेर सुझाव लिने काम भइरहेको छ । पत्रकारिता क्षेत्रको विकास र प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि होइनन, नियमन र व्यवस्थापनका लागि हुन् । दीर्घकालमा यसले न्यू मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई समेत थप प्रभावकारी बनाउने छ । सामाजिक सञ्जालहरू विस्तारित हुँदै गर्दा मूलधारका सञ्चार माध्यम र सञ्चारकर्मीहरूको जिम्मेवारी अझ बढ्दै गएको छ । गलत र असन्तुलित सूचना र समाचारले व्यक्ति पीडित हुने, परिवार र समाज विखण्डित हुने अनि राज्य कमजोर बन्दै जाने जोखिम रहन्छ । त्यसैले सही, सन्तुलित र सत्य सूचना र समाचार प्रवाहको व्यावसायिक जिम्मेवारी निर्वाहमा पत्रकार र पत्रकारिता क्षेत्र गम्भीर र संवेदनशील हुनुपर्दछ ।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको मेरो नेतृत्वको वर्तमान सरकारले एक वर्ष एक महिनाको अवधि पूरा गरिसकेको छ । यसबीचमा सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ । सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ । मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निशुल्क श्ययाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ भने सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको छ । यसरी सरकारले चालेका जनमुखी कदमहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको छ । जनतामा “अब चाँहि केही हुन्छ” भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धी मान्नुपर्दछ ।

वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ । श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिनेछ । यसका निम्ति सञ्चारमाध्यम र सञ्चार क्षेत्रमा क्रियाशील सबै सरोकार पक्षबीच सकारात्मक र रचनात्मक सहकार्य रहनेछ भन्नेमा म विश्वस्त छु ।

मलाई थाहा छ, कोभिड १९ र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे म जानकार नै छु । यस्तो अवस्थामा पनि राष्ट्रिय प्रसारण संस्था नेपाल टेलिभिजनले नेपालमा टेलिभिजन प्रसारकको जननी हुनुको गौरवलाई जोगाई राख्नुपर्दछ । यस्तो काममा नेपाल टेलिभिजनका तपाई सबै टेलिभिजनकर्मी, प्रविधिका ज्ञाता, प्राविधिक जनशक्ति र सिर्जनाका शिल्पीहरूलाई सफलता मिलोस् । मेरो शुभकामना छ । अनि नेपाल टेलिभिजनले गर्ने सुकर्ममा सरकार र मेरो  सदैव रचनात्मक र सकारात्मक सहयोग रहने छ । धन्यवाद ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.