समृद्धिको बाटोमा रास्कोट

समृद्धिको बाटोमा रास्कोट
सुन्नुहोस्

कर्णालीका दुर्गम क्षेत्रमा पनि जनप्रतिनिधिले चाहेमा नमुना विकासको मोडल देखाउन सकिने उदाहरणीय बनेको छ, रास्कोट।

वीरेन्द्रनगर : कालीकोटको रास्कोट नगरपालिकाले विकास निर्माणका काममा निकै फड्को मारेको छ। व्यवस्थित बजारीकरण, कालोपत्रे सडक, नगरभित्रका सबै घरमा बिजुली, घर घरमा सामाजिक सुरक्षा भत्ताजस्ता कार्य नगरपालिकाले गरेको छ। यसले कर्णालीका दुर्गम क्षेत्रमा पनि जनप्रतिनिधिले चाहेमा नमुना विकासको मोडल देखाउने सकिने उदाहरण नै बनेको छ। 

नगरपालिकाले सरकारी जग्गा अधिकरण गरी बनाएका टहरामा डोजर लगायो। यसको विकल्पमा नगरपालिका केन्द्रको सडकको आसपासमा पक्की भौतिक संरचना निर्माण गरी ३९ व्यावसायिक सटर निकालियो। नगरले मासिक रूपमा भाडामार्फत आन्तरिक आय वृद्धि गरेको छ। नगरपालिका आसपासको ६ सय ५ मिटर सडक कालोपत्रे, धार्मिक तथा पुरातात्त्विक सम्पदा खापर र कैलाश देवताको माडु (मन्दिर) निर्माण, अपांगतामैत्री सार्वजनिक शौचालयजस्ता धेरै जनउपयोगी संरचना निर्माण गरिएका छन्। 

नगरपालिकाको पहलमा सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको ११ करोड ६० लाख रुपैयाँ बजेटमा हाम्रो बासना निर्माण सेवासँग ठेक्का सम्झौता गरी नमुना नगरका लागि आवश्यक संरचना निर्माण गरिएको हो। निर्माण व्यवसायी मानव बमले प्रतिस्पर्धामा लिएको ठेक्का २०८० वैशाख ५ गते सम्झौता भएकोमा तोकिएको समयभित्रै कात्तिक ५ गते रास्कोटको कालोपत्रे सडक, नमुना बजारका लागि ३९ व्यावसायिक सटर, २ माडुलगायतका भौतिक संरचना निर्माण पूरा गरिएको बताए। 

रास्कोटका स्थानीय देउमनी धमलाले पछिल्लो समय नगरपालिकाले गरेको विकास निर्माण र नागरिकमैत्री सेवा प्रवाह निकै आशालाग्दो रहेको बताए। उनले भने, ‘यस्तो पो स्थानीय सरकार। नगरभित्र चिल्लो सडक, सुविधायुक्त बजारको विकास, शौचालय अन्य व्यवस्थापनमा व्यापक सुधार भएको छ। यसले गाउँमा सिंहदरबार आएको अनुभूति दिलाएको छ।’

भिजन भएका जनप्रतिनिधि, इमान्दार निर्माण व्यवसायी, कुशल प्रशासन चलाउने कर्मचारी भएपछि विकासको मोडल नयाँ र लोभलाग्दो हुने रहेछ। रास्कोटकै सामाजिक अगुवा परिलाल न्यौपानेले भने, ‘रास्कोट कर्णालीमा रहेका विकट स्थानीय पालिकामध्ये उदाहरणीय छ। डेढ वर्षअगाडि भएको स्थानीय तहको निर्वाचनमा विजयी भएपछि हामी बनाउँछौः हाम्रो नगर भन्ने नारा सार्वजनिक गर्दा विश्वास लागेको थिएन। अहिले त साँच्चिकै जनप्रतिनिधिलगायत सरोकारवालाले चाहेपछि गाउँमै सुविधायुक्त विकास देख्न र उपयोग गर्न सकिने रहेछ।’ 

नगरपालिका प्रमुख धर्मराज शाहीले आफू निर्वाचित हुनु पहिले जनताका बीचमा गरेका प्रतिबद्धता कति पूरा भए र कति बाँकी रहे भनेर लिस्ट बनाएर काम गरिरहेका बताए। शाहीले भने, ‘म निर्वाचित हुनुभन्दा पहिले रास्कोटका जनताका बीचमा गरेका प्रतिबद्धता भुलेको छैन्। मैले चुनावमा २३ प्रतिबद्धता गरेको थिएँ। १८ पूरा भए ५ वटा बाँकी छन्। उनका अनुसार पूरा भएका प्रतिबद्धतामा नगरमा सोधपुछ कक्ष, एकीकृत सेवा, गुनासा सुन्न टोल फ्रि नम्बर, स्थानीय पाठ्यक्रम निर्माण, अंग्रेजी माध्यमबाट पठनपाठन, विद्यालय सुधार कार्ड, नागरिकको घर बिमा, नगरमा सरकारी बैंकको शाखा रहेका छन्। त्यसैगरी, नगर प्रहरी भर्ना, पालिकाबाटै सहुलियतमा नुन र खाद्यान्न, विद्युत् महसुल काउन्टर स्थापना, घरघरमै सामाजिक सुरक्षा भत्ता, वडावडामा गुणस्तरीय स्वास्थ्य सेवाका साथै थप मेयर हेल्थ केयर कार्यक्रम, एक वडा एक प्राविधिक, नगरमा अक्टिकल फाइबर जडान, औद्योगिक ग्राम स्थापना, रास्कोट मिनी मार्केट, कालोपत्रे सडक, सबै वडामा सिँचाइको सुविधा विस्तार गरिएका छन्।

बाँकी रहेका प्रतिबद्धतामा घरघरमा खानेपानी धारा अभियान १ हजार ८ सय घरधुरीमा पुगे पनि अझै १ हजार २ सय घरधुरीमा पुर्‍याउन बाँकी रहेको, बृहत् सिँचाइ आयोजनाको काम चलिरहेको, नगर बस सञ्चालन हुन बाँकी, इलाका प्रशासन स्थापना गरी गाउँमा नागरिकभत्ता सेवा बाँकी, नगरदेखि देउरा हुँदै त्रिवेणी पाटनसम्म पर्यटन मार्ग निर्माणका काम बाँकी रहेका छन्। यी सबै बाँकी रहेका कामहरू आगामी दुई वर्षभित्र पूरा गर्ने योजना रहेको नगर प्रमुख शाहीले सुनाए।  केही अघिसम्म १० पोका नुन किन्नकै लागि एक दिनको पैदलयात्रा तय गरेर सदरमुकाम आउनु पथ्र्यो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.