रसुवा : यो समय हिमपातको हो । मौसममा नियमितजसो हिमालमा हिउँले डाँडाहरु सेताम्य हुन्थे। । वारी- पारी, पाखा-पखेरा,रुखहरु हिउँले ढाकेका देखिन्थे । हिउँपरेपछि जमिन रसिलो हुने र मल भिज्न पाएर बालीनाली फस्टाउने गर्दथ्यो । यतिबेला खेती तथा बस्ती रहेको हिमाली क्षेत्रमा हिउँ नपरेपछि यहाँका किसान अन्न उब्जाउ नहुने चिन्तामा छन्।
आमाछोदिङमो गत्लाङका दुकर लामाले भने, ‘मंसिरमै हिउँ पर्न सुरु हुन्थ्यो तर यो वर्ष माघ लाग्दा पनि हिउँ परेन,बर्सेनि हिउँपर्ने हाम्रो गाउँमा त के कुरा अब हिमालमा हिउँ देख्नै मुस्किल पर्ला जस्तो भो ।’
हिउँ नपरेपछि हिउँदेबाली फल्दैन । माङचेतदेखि गतलाङ गाउँ पुरै हिउँले छोपेको सम्झिदै दुकर भन्छन्, ‘कहिले दिनभर हिउँ खेलियो हप्ता दिनसम्म घरबाट निस्कन नसकेको याद छ। अहिले हिउँ देख्नै पाइन्न जस्तो भो ।’
हिमपातपछि प्रकृति पनि रमाएको हुने स्थानीय निमा दोर्जे लामा बताउँछन् । उनी भन्छन्, ‘पहिले त पुसमा पुरै डाँडाकाँडा हिउँले टल्कन्थ्यो। सेतो गाउँबाट देखिने हिमालमै हिउँ छैन (लाङटाङ र पाल्दोरपिक) कालो दाग देखिन थाल्यो ।’
गोसाइकुण्ड गाउँपालिका–१ थुमन गाउँका न्हिमा लामा भन्छन्, ‘हिमाली भेगमा पानी भनेकै हिउँ हो । हिउँ नै नपरेपछि फापर, गहुँ, करु, जौ, तरकारी खेती र पशुपालनमा पनि समस्या हुने भो ।’
रसुवाको पाँचवटै गाउँपालिका हिमाली भेग जोडिएको छ । उत्तरगयाँको तिरु, गोगने, करुमर्याङसम्म हिउँपर्ने क्षेत्र हो । कालिका गाउँपालिकाको राम्चे, गुराँसे, स्याउबारी, लोकिल, गोम्बोडाडासम्म हिउँ पर्ने ठाउँ हो । स्थानीयले यसलाई जलवायु परिवर्तनको असर हुनसक्ने अनुमान गरेका छन् ।
यसरी हिउँदमा हिउँ नपरेपछि हिमाली वन्यजन्तु समेत संकटमा पर्ने देखिएको छ । मुख्यगरी हिमचितुवा जस्ता वन्यजन्तु संकटमा पर्ने देखिन्छ । विश्वका १२ देशमा मात्रै हिम चितुवा पाइन्छ । जसमध्ये १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा रहेको छन् । लाङटाङ र क्यान्जिङ क्षेत्रमा हिमचितुवा धेरै पाइन्छ ।
हिउँदे बाली प्रभावित
उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे बाली प्रभावित हुने भएको छ । भदौदेखि हिउँ र पानी पर्न नसक्दा हिमाली क्षेत्रमा फापर,करु, गहुँ, जौ जस्ता हिउँदेबालीको बोट भुइँमै विलिन थालेका छन् ।
चारफिटसम्म हिउँले छोप्ने ठाउँमा यो वर्ष हिमपात नभएकोले किसान दिण्डुप तामाङ चिन्नित छन् । उनी भन्छन्, ‘हिउँदेबाली उब्जाउ नहुने भएकोले के खाने हो ? जडिबुटी खेतीमा पनि असर पारेको छ ।’
हिउँदे वर्षाको कमीले खेती मात्र होइन ठाउँ–ठाउँका खोल्सामा पानीको मुल सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको अभाव हुन थालेको छ ।
फेरिँदै व्यवसाय
हिमाली क्षेत्रका किसानले परम्परागत पशुपालन व्यवसायलाई छाड्न थालेका छन् । पशुपालनका लागि वातावरणमा आएको परिवर्तनले निकै महत्व राख्ने गरेको छ । लाङटाङमा व्यावसायिक रुपमा पशुपालनमा चौरी पालन गर्ने किसानको संख्या वर्षेनी घट्दै गएपछि नेपालकै पहिलो चीज कारखाना बन्द हुने अवस्थामा पगेको छ । वातावरणमा आएको परिवर्तनले तथा युवा पुस्ताले अन्य पेशा रोजेपछि याक, चौँरी पालेर दूध बिक्री गरेर आम्दानी लिनेहरुपनि घट्दो क्रममा रहेको चीज उत्पादन केन्द्रका प्रमुख ग्याल्बो लामाले सुनाए । डाँडाकाँडा सुक्खा भएपछि पशुपालनमा पनि समस्या भएको छ । ‘भेडाच्यांग्रा पाल्न पनि कठिन हुने देखिएको छ । घाँसै पलाउन पाएन भने पशुपालन पनि सकसपूर्ण हुनेछ,’उनले भने ।
वर्षमा २/३ पटक लाङटाङ पुग्ने गरेको पर्यटन व्यवसायी विकास लामा पुसको मध्यतिर पनि लाङटाङ पुगे । अहिलेको तुलनामा हिमाली चुचुरामा पर्याप्त हिउँ देखिन्थ्यो । तर अहिले त सबैतिर सुक्खा मात्र देखिए छ । लामा थप्छन्, ‘यसपटक हिमपात नहुँदा र पानी नपर्दा उच्च भेग पुरै उराठलाग्दो बनेको छ ।’
हल्का हिमपातले खुशी
गोसाइकुण्ड गाउँपालिकाको ठूलोस्यापु्र, ब्राबल क्षेत्रमा हल्का हिमपात भएपछि स्थानीय खुशी भएका छन् । यो साता हिउँ पर्ने मौसम पुर्वानुमानको समाचारमा आएपनि उच्च क्षेत्रमा मात्र हिउँ परेको ठूलोस्याफ्रुका युवा सुब्बा तामाङले ठूलोस्यफ्रु, ब्राबल, चन्दवारी, दिम्सा, चोलाङपाटी र गोसाइकुण्ड पदमार्गमा हल्का हिमपात भएको हो ।
हिमपात भएपछि अन्नबाली उत्पादन हुने भएकोले स्थानीय खुसी भएका हुन् । पर्यटकीय क्षेत्र गोसाइकुण्डमा हिमपात सुरु भएपछि व्यवसायी पनि खुशी भएको स्थानीय सुब्बा तामाङले बताए । 'पुस माघमा पहिले त साताभरी हिउँ पथ्र्यौ उनले भने ,‘हिउँ पर्न थालेपछि खुशी भएको आधा घण्टामै रोकियो ।’
उता आमाछोदिङमो गाउँपालिकाको लेकमा उच्चभेगमा हिमपात भएको छ । बस्ती भन्दा माथितिर हिमपात भयो तलतिर गाउँबस्तीमा नपरेको स्थानीय निमा तामाङले बताए । हिउँ परेपछि नाईट्रोजनको मात्रा बढ्ने हुँदा बोट बिरुवा तथा बालीमा फाइदा पुग्ने भएकोले कृषक खुशी भएका हुन् ।
यसले हाल किसानहरूले लगाएको गहुँ, फापर,जौ,करूलगायत विभिन्न किसीमको जडिबुटीलाई प्रत्यक्ष फाइदा पुग्छ । बोटविरूवा तथा जडिबुटिलाई समेत हिमपातले उर्वरा शक्ति दिने र बाली र बोट बिरुवालाइ फाइदा हुने किसान जिम्बा लामाले बताए । उनले भने हल्का हिमपात भो पर्याप्त हिउँ परेन ।
लेकमा हिमपात भएपछि पहिले गाउँसम्म आउने हिउ पर्ने आशा गरेपनि एकै छिनमा रोकियो । पहिले यतिबेला गाउँ र गोठ समेत हिउँले छोपेको ताजा याद रहेको यार्साका स्थानीय पुरन तामाङले बताए ।