यसकारण हामी साइकल चढ्छौं...

यसकारण हामी साइकल चढ्छौं...
फाइल तस्बिर।
सुन्नुहोस्

हरेक वर्षझैं अन्नपूर्ण पोस्ट्ले ‘क्यान्सरविरुद्धको जागरण अभियान’ अन्तर्गत पर्सि शनिबार बृहत् साइकल र्या‍ली गर्दै छ। नेपालमा साइकल संस्कृतिको विकासमा सहयोग पुर्या‍उँदै आएका केही साइकलयात्रीलाई ‘तपाईं किन साइकल चढ्न रुचाउनुहुन्छ ?’ भनेर गरिएको जिज्ञासामा साइकल यात्रीको जवाफ केशरराज क्षेत्री र गंगा खड्काको प्रस्तुतिः

साइक्लिङमा निस्कँदा आनन्द लाग्छ : सृष्टि प्रजापती, ताहाचल, काठमाडौं

साइक्लिङ गर्नुको मुख्य कारण त मेरो स्वास्थ्य ठीक राख्नु नै हो। छोराछोरीसँगै म दिनहुँ साइक्लिङमा निस्कन्छु। छोरा साइकलमै स्कुल जान्छन्। नियमित साइकल चढ्न थालेपछि ४ महिनामा कम्तीमा पनि ४/५ केजी मेरो तौल घटेको छ। सुगर, प्रेसर, थाइराइड जस्ता रोग लागेको छैन। पारिवारिक आन्नद त छँदैछ, साइक्लिङ गर्दा नयाँ नयाँ साथीहरू पनि बनेका छन्। ती साथीहरूसँगको आत्मीयताले मन अझ प्रफुल्लित हुन्छ। साइक्लिङ गर्नु स्वास्थ्यका हिसाबले धेरै फाइदाजनक छ। यसले न पेट्रोल खर्च हुन्छ। न धुवाँ निस्कन्छ। करिव डेढ वर्षदेखि म साइक्लिङ गरिरहेकी छु। 

धेरै साथी कमाइयो : अभिषेक भारी,पूर्वअध्यक्ष, लायन्स क्लब अफ बुटवल, मणिमुकुन्द

साथीहरूको लहलहैमा लागेर साइकल चलाउन थालियो। मेरो साइकलको गुरु आदरणीय कृष्णप्रसाद आत्रय हुनुहुन्छ। सुरुमा ४८ हजार रुपैयाँमा साइकल किनेको हुँ। नियमित साइक्लिङ गर्दा स्वास्थ्यलाई राम्रो भएको छ। त्यो भन्दा अझ राम्रो पक्ष त धेरै साथीभाइ कमाएको छु। बुटवल सहित काठमाडौं, पोखरा, नेपालगञ्जका धेरै साथीहरूसँग चिनजान भएको छ। इष्टमित्र कमाउनु जतिको ठूलो सम्पत्ति जिन्दगीमा अरू हुन सक्दैन जस्तो मलाई लाग्छ। देखासिखीकै भरमा साइकल चलाउन थाले पनि अहिले मन ज्यादै प्रफुल्लित भएको छ। नियमित साइक्लिङ गर्न थालेको अहिले १५ वर्ष भयो। स्वस्थ बन्नु छ भने दिनमा कम्तीमा पनि एक घण्टा साइक्लिङलाई दिन म सबैलाई अनुरोध गर्छु। 

पर्यटनसँग जोडौं : स्वस्तिक श्रेष्ठ, सञ्चारकर्मी, बुटवल

साइक्लिङ गरेर आन्नदित हुनु त छँदैछ। यसलाई पर्यटनसँग जोड्न सकियो भने अझ प्रभावकारी हुनसक्छ भन्ने मलाई लाग्छ। म बाल्यकालदेखि साइक्लिङ गर्दै आएको छु। साइकलमा रुपन्देहीका अधिकांश पर्यटकीय क्षेत्रहरू पुगेको छु। नियमित साइक्लिङ गर्दा मेरो स्वास्थ्य पनि राम्रो छ। साइक्लिङ गर्ने साथीहरू मिलेर विभिन्न क्लब गठन गरिएको छ। ती क्लबबाट गरिएको कार्यक्रमले संकलित रकमबाट सामाजिक क्षेत्रमा पनि योगदान गरेका छौं। विभिन्न दीर्घरोगीहरूलाई आर्थिक सहयोग गरिएको छ। होटलमा बस्ने मात्र पर्यटन होइन, होटलमा बसेका ती पाहुनाहरूलाई विभिन्न साइकलको प्याकेज बनाएर नजिकका पर्यटकीय क्षेत्रहरू घुम्ने वातावरण बनाउन म लागिपरेको छु। बुटवलबाट कपिलवस्तुको गोरुसिंगे, नवलपरासीलगायत ठाउँहरूमा पनि पुग्ने गरिएको छ। 

शरीर सन्तुलनमा छ : महेन्द्र मुनिकर, यती एड्भेन्चर्स

साइकल चलाउन थालेदेखि मेरो शरीरको तौल सन्तुलन भएको छ। अनावश्यक मोटोपन हटेको छ। शरीरलाई स्वस्थ राख्न साइकल यात्राले धेरै मद्दत पुगेको छ। त्यसैले पनि म साइकल चढ्न धेरै रुचाउँछु। करिब डेढ वर्षदेखि म नियमित रूपमा साइकल चलाइरहेको छु। यसले मेरो फिजिकल फिटनेसमा मद्दत पु¥याएको छ। दैनिक जीवनमा साइकलको महत्व निकै बढेको छ। राज्यले साइकल चलाउनेहरूलाई सम्मान गर्न सकिरहेको छैन। साइकलयात्री र पैदलयात्रीका विषयमा सरकारले साथ नदिएको हामीले महसुस गरेका छौं। भविष्यमा कुनै दिन सरकारले यसको महत्व बुझ्ने छ र साइकललाई महत्व दिनेछ भन्ने विश्वास लिएको छु। 

साइकल यात्रा स्वास्थ्य र वातावरणमैत्री : सन्देश न्यौपाने, वातावरण विज्ञ

स्वास्थ्य र वातावरणीय हिसाबले साइकल अत्यन्तै फलदायी छ। त्यही कारणले गर्दा म नियमित साइकल चलाउने गर्छु। मेरो करिब ९० प्रतिशत यात्रा साइकलबाटै हुन्छ। अत्यावश्यक र टाढा जानैपर्ने काममा बाहेक मेरो साइकलमै यात्रा हुने गर्छ। विगत ८ वर्षदेखि म नियमित साइकल चलाइरहेको छु। यो मेरो व्यक्तिगत मात्र नभएर समाज परिवर्तन गर्नका लागि रुचिको क्षेत्र पनि हो। साइकललाई नेपालमा प्रबद्र्धन गर्नु जरुरी छ। ठूला गाडीहरूले सडकमा गुड्ने साइकलयात्रीहरूलाई राम्रो व्यवहार गर्दैनन्। साइकल चलाउनका लागि नेपालमा सुरक्षामैत्री वातावरण अझै पनि बनेको छैन। यसतर्फ राज्यको ध्यान जाओस् भन्न चाहन्छु।

टाढा जाँदा मेरो गाडीभित्र साइकल हुन्छ : रोजिन श्रेष्ठ,  सुपरभाइजर, कुमारी बैंक

साइकल मेरो साथी बनेको छ। म भ्यालीभित्र होस् वा भ्याली बाहिर टाढाको यात्रामा जाँदा गाडीभित्रै साइकल राखेर लैजाने गर्छु। पोखरा जाँदा गाडीमै गए पनि त्यहाँ पुगेपछि बजारमा म साइकलमै यात्रा गर्छु। साइकल चढ्दा मलाई आनन्द महसुस हुन्छ। स्वास्थ्य पनि धेरै राम्रो भएको छ। डेढ वर्षदेखि मैले नियमित रूपमा साइकल चढ्दै आएको छु। म ४० वर्षको भएँ। तर, मलाई ढाड दुख्ने, खुट्टाका जोर्नी दुख्ने जस्ता समस्या अहिले छैनन्। साइकल नचलाउँदा त्यो समस्या अलिअलि थियो। 

मोटरसाइकल किनेको छैन : नारायण श्रेष्ठ,  प्रोपाइटर, पेडल बाइक्स नेपाल

बाल्यकालदेखि नै साइकल चलाउने गर्थें। बुटवलस्थित वाणिज्य क्याम्पसमा पढ्दादेखि साइकल चलाएको अहिले ४० वर्ष भएछ। भारतको गोरखपुरबाट साइकल लिएर चलाएको अझै पनि याद आउँछ। बुटवलबाट काठमाडौं आए पनि म अहिले निरन्तर साइकल चलाउने गर्छु। अहिलेसम्म मोटरसाइकल किनेको छैन। अहिले ४८ वर्षको हुँदा पनि साइकल चलाउन कत्ति पनि जाँगर नलाग्ने भन्ने छैन। बाटोमा साइकल चलाएर हिँड्नेहरू देख्दा औधी माया लाग्छ। ती सवै मेरो मान्छे हुन् जस्तो लाग्छ। साइकल चलाउने मात्र होइन्, यो त मेरो अहिले जीवन जिउने आधार बनेको छ। 

साइकलले रोगलाई जित्यो :  गगन सिंह थापा,  अध्यक्ष, बाँके जिल्ला साइक्लिङ संघ

अहिले म ४७ वर्षको भएँ। नियमित साइक्लिङ गर्न थालेको सात वर्ष जति भयो। साइक्लिङ गर्नुपूर्व मलाई नशासम्बन्धी समस्या थियो। शौचालयमा बसेर उठेपछि रिंगटा लाग्ने गथ्र्यो। प्रेसर, सुगर जस्ता समस्याले पनि विस्तारै छुँदै थियो। तर, जब मैले नियमित साइकल चलाउन थालेँ, त्यसपछि मलाई यी कुनै समस्याले छुन सकेन। अहिले मलाई कुनै पनि समस्याले भेटाउनै सकेको छैन। दैनिक ३÷४ घण्टा साइक्लिङ गर्छु। यो उमेरसम्म आइपुग्दा औषधि खानु परेको छैन। खेलकुदका लागि समय नहुने भएकाले स्वस्थ्य रहनका लागि दैनिक साइक्लिङ गरे पुग्दो रहेछ भन्ने मेरो अनुभवले देखाएको छ। null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.