स्याङ्जामा भ्रष्टाचारका १०५ उजुरी
स्याङ्जा : अख्तियारी दुरुपयोग गरेको आरोपमा गण्डकी प्रदेशमा स्याङ्जा जिल्ला तेस्रो स्थानमा देखिएको छ। भ्रष्टाचारजन्य कसुर गरेको उल्लेख गर्दै स्याङ्जाका १ सय ५ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ।
अख्तियार कार्यालय पोखराको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख अस्मान तामाङले संघ, प्रदेश र पालिकाका गरी गतवर्ष ४८ र चालु आर्थिक वर्षमा ५७ गरी १०५ वटा उजुरी परेको बताए। उजुरी परेकामध्ये ५४ वटा फर्छ्यौट भई ५१ वटा बाँकी रहेको उनको भनाइ छ।
यसैगरी, स्याङ्जाका ११ स्थानीय तहका गतवर्ष ३५ र चालुवर्ष ४३ गरी ७८ वटा उजुरी थिए। तीमध्ये ४० वटा फर्छ्यौट भई ३८ बाँकी रहेको उनले बताए। यहाँका स्थानीय तहमध्ये सबैभन्दा बढी पुतलीबजारका उजुरी परेका छन्। पुतलीबजारका १७ उजुरी छन्। गतवर्षको ३ र चालुवर्षमा १४ उजुरी परेका हुन्। ती मध्ये ११ फर्छ्यौटभई ५ प्रक्रियामा रहेका छन्।
यसैगरी, चापाकोट नगरपालिकाको ८, वालिङ् र गल्याङ् नगरपालिकाको ७/७, आँधीखोला र कालीगण्डकी गाउँपालिकाको ६/६, विरुवा र हरिनास गाउँपालिकाका ५/५, भीरकोट नगरपालिकाको २ र फेदिखोला गाउँपालिकाको एउटा उजुरी रहेको बताइएको छ। प्रदेशका १० जिल्लामा गत र चालु आर्थिक वर्षमा ६ सय ७१ उजुरी परे।
प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी कास्की र दोस्रोमा तनहुँ छ। कास्कीमा ४८३ र तनहुँमा १४५ वटा उजुरी छन्। पर्वतका १०३, बागलुङका ८०, म्याग्दीका ७१, गोरखाका ६६, लमजुङका ३१, मुस्ताङका १७ र मनाङका ११ वटा उजुरी छन्।