क्याम्पस प्रमुखलाई ७२ घण्टे अल्टिमेटम
डोल्पा : डोल्पाको सदरमुकाम दुनैमा रहेको डोल्पो क्याम्पस प्रमुख धनन्ञ्जय सुवेदीलाई स्पष्टीकरण सोधिएको छ।
बिहीबार क्याम्पस सञ्चालन समितिका अध्यक्ष योगेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले किर्ते गरेर वार्षिक सभा गरेको विषयमा ७२ घण्टाभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।
आफ्नो लगायत क्याम्पसका सबैजसो सदस्यको किर्ते गरेर वार्षिक सभा गरेको पाइएपछि स्पष्टीकरण माग गरिएको र तोकिएको समय सीमाभित्र चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ। ‘आफू काठमाडौं रहँदा नै किर्ते सभा भएछ। हिजो डोल्पा पुगें। आज बैठक बसेर निर्णय गरियो’, उनले भने।
आज शाहीसहित लक्ष्मीकान्त उपाध्याय,लालिमान बुढा र बिष्णुलाल बुढाको संयुक्त बैठक बसेको हो। प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले यस विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीलाइ जिम्मा दिइसकेको बताए। छानबिनका लागि प्रशासनमा उजुरी आएको उनले जानकारी दिए।
गत पुस ५ गते क्याम्पस सञ्चालक समितिका अध्यक्ष शाही लगायत ४३ जनाको हस्ताक्षर किर्ते गरेर वार्षिक सभा गरेको समाचार अन्नपुर्ण पोष्टमा प्रकाशित भएको थियो।