सच्चिन समुदायमा
कांग्रेस यो अभियानमार्फत निष्कर्ष, सच्चिने पाटो र रोडम्याप तयार गरी अघि बढ्नेछ।
हाम्रो पार्टी कांग्रेस यतिबेला (माघ १३ देखि २६ गतेसम्म) ‘समुदायमा कांग्रेस’ अभियानमा छ। जसका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्ला–जिल्लामा खटिएका छन्। यो मूलतः वडाकेन्द्रित अभियान हो। जनताका कुरा सुन्ने अभियान हो। अहिलेको सन्दर्भमा जनताका चाहना के छन् ? स्थानीय तहमा जति पनि जनप्रतिनिधि छन् उनीहरूले कस्ता काम गरिरहेका छन् ? सँगसँगै उनीहरूका गुनासा, सल्लाह र सुझावसहितको अपेक्षा सुन्ने कार्यक्रम हो।
अर्कातर्फ समाजमा विभिन्न समुदाय छन्। जस्तैः– कोही किसान छन्। कोही मजदुर छन्। कोही कुनै न कुनै व्यवसाय गरेर बसेका छन्। राज्यले उनीहरूलाई कस्तो किसिमको सुविधा दियो भने बढी लाभ प्राप्त गर्छन् ? पार्टीगत हिसाबमा पनि पहिलाका घोषणापत्रहरू अनुसार सम्बोधन भइरहेको छ कि छैन ? यी सम्पूर्ण कुराहरूको वस्तुस्थिति र मुलुकलाई कसरी समृद्धिको बाटोमा अघि बढाउन सकिन्छ भन्ने बुझ्नु यस अभियानको उद्देश्य हो।
अहिले वास्तवमा राजनीतिक दलहरू (मुख्य रूपमा नेतृत्व)ले जनतालाई दिनुपर्ने सुविधा र जनतासँग जोडिनुपर्ने कतिपय कुरामा ‘ल्याकिङ’ र ‘ग्यापिङ’ भएजस्तो अवस्था छ। जसकारण पार्टीहरूप्रति एक प्रकार वितृष्णाजस्तो देखिएको छ। त्यसलाई कांग्रेसले नै सम्बोधन गर्न÷पार लगाउन सक्छ भन्ने प्रत्याभूति आमसमुदायलाई दिलाउन आवश्यक छ। किनकि, राजनीतिक स्थायित्व भएन भने मुलुकले फड्को मार्न सक्दैन। हामीले धेरै किसिमका परिवर्तन ल्याइसक्यौं। अहिले जुन किसिमको संविधान छ यसलाई बचाउनुपर्ने कुरा छ। यसको पूर्ण कार्यान्वयन कसरी गर्न सकिन्छ भन्ने हो। कतिपय ठाउँमा संघीयताको बर्खिलापमा पनि आवाज उठिरहेको छ। धर्मनिरपेक्षताको सन्दर्भमा कतिपय आवाज उठिरहेको छ। तर, यो सम्पूर्ण कुरालाई नचलाइकन मुलुकलाई समृद्ध बनाउन के–के गर्नुपर्छ भन्ने नै मुख्य कुरा हो।
१ नम्बर प्रदेशको हकमा त पहिचानको मुद्दा पनि उठिरहेको छ। कांग्रेसले यो विषयमा के गर्दै छ भनेर हामीले जनतालाई बुझाउन सक्नुपर्छ। कांग्रेस भनेको लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक परिपाटीमा मात्रै सबै किसिमको पहिचान, अधिकार, संस्कृतिलगायतको जगेर्ना गर्ने काम हुन्छ। यस्ता विषयमा पार्टीले पहिले गरेका कामबारे सुनाउने क्रम पनि अभियानमा चलिरहेको छ। मुलुकको शक्तिशाली, भरपर्दो र परिवर्तनमा अग्रणी भूमिका निर्वाह गर्ने पार्टी कांग्रेस नै हो। यो कुरा बुझाउँदै अघि बढ्नुपर्ने आवश्यक ठानेरै पार्टीले अहिले ‘समुदायमा कांग्रेस’ कार्यक्रम ल्याएको हो।
अर्कातर्फ कुनै पनि राजनीतिक दलमा व्यक्तिवादी चरित्र हाबी हुँदै गएको छ। मुलुकको विषयमा गम्भीर भएर सोच्नेभन्दा पनि व्यक्ति आफू कसरी बलियो हुने भन्ने प्रवृत्ति बढी देखिन्छ। नेताहरूमा आफू कसरी अघि बढ्ने, कसरी शक्तिमा आउने भन्ने धारणा विकास भएको महसुस जनताले गरिरहेका छन्। हामी नै यस्तो परिस्थितिलाई चिरेर अघि बढ्नुपर्ने बेला भएको छ। मुलुकलाई समृद्ध बनाउन तपाईं पनि अगाडि बढ्नुपर्छ, म पनि अगाडि बढ्नुपर्छ, सम्पूर्ण समुदायको भविष्य यसमा छ, युवाहरूको भविष्य यसमा छ भन्ने देखाउन पनि यो अभियान हो।
नयाँ पार्टीहरू आउँदै गर्दा पनि कतिपयका त हविगत देखिसक्यौं। ती दलका नेतृत्वमा व्यक्तिवादी चरित्र देखिसकियो। अब यसरी हुँदैन, हामी नै सच्चिनुपर्छ। कतिपय कमीकमजोरी नभएको होइन भएकै हो। अब आत्मालोचना गर्दै मुलुकलाई समृद्धिको बाटोमा लग्नुपर्छ भनिरहँदा पार्टीको सिद्धान्त, आदर्श, मूल्य र मान्यता जनताकै हुन् है भनेर बुझाउन पनि आवश्यक छ।
खासगरी यो अभियान सच्चिन र सच्याइनका लागि हो। हामीले वडा–वडामा कार्यक्रम सञ्चालन गरिरहेका छौं। किनकि, बहुसंख्यक ठाउँमा हाम्रै पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेका छन्। ती नेतृत्वले सही काम गरेका छन् कि गलत ? जनताले बोल्ने आवाज त्यही जनप्रतिनिधिलाई सुनाउँदै र यो–यो कारणले तिमी सच्चिनुपर्छ भन्ने हो। राम्रो काम गरेको छ भने प्रोत्साहन दिँदै अघि बढ्ने हो। यसकारण सुझाव, अपेक्षा र गुनासालगायत सम्पूर्ण कुरा अभियानका क्रममा सुन्ने काम हुन्छ। सुन्ने भनेपछि त्यहाँ त सबै कुरा आउँछन्।
जो अल्छे कार्यकर्ता छन् उनीहरूले विरोध गर्नु स्वाभाविक हो। त्यत्तिकै गफ गर्नु र काम गर्नुमा त फरक हुन्छ नै। कसैलाई काम गर्न जान अल्छी लाग्न सक्छ। तर, संगठनमा रहेका जो कोही पार्टीको कार्यक्रमलाई सफल बनाउन लाग्नै पर्छ। कांग्रेस गलत होइन, यो पार्टीमार्फत नै निकास र विकास गर्न सकिन्छ भन्ने उद्देश्यसहित समुदायमा जाँदै गर्दा आफू सच्चिने नै बाटो हो। अब सच्चिनुको विकल्प छैन। जो सच्चिन प्रयास गर्दैन उसलाई त पार्टीको महाधिवेशनमार्फत व्यवस्थापन हुने नै भयो। नेतृत्वले पनि जनताका आवाज सुन्नका लागि नै यो अभियान सञ्चालन गरिएको हो। महासमिति र नीति महाधिवेशन पनि नजिक आउँदै गर्दा त्यहाँ पनि यी कुरा उठ्छन्। यी कुरा उठाएर पार्टी यो–यो तरिकाले अगाडि बढ्नुपर्छ भन्ने त हुन्छ नै।
किसानको मर्म र भावना पनि बुझ्नुपर्यो। जस्तो कि अहिले दूध, घिउ, छुर्पी नबिक्ने समस्याबाट इलामसहित देशभरका दुग्ध किसान प्रताडित छन्। अनुदानचाहिँ झोलावाल किसानले पाइरहेका छन्। वास्तविक किसानले पाइरहेका छैनन्। किसानका यस्ता समस्या सम्बोधन नगर्ने हो भने उनीहरूका आयस्रोत गुमेर पहाडी गाउँहरू अझै उजाड बन्ने सम्भावना छ। विकास निर्माणका कार्यमा भ्रष्टाचार देखिएको छ। भ्रष्टाचार अन्त्य गर्न कडाभन्दा कडा अभियान चाल्नुपर्ने सुझाव जनताबाट आइरहेको छ। यस्तै, विद्यार्थी, मजदुरका कुरा छन्। सहकारी संस्थामा लागेका व्यक्तिहरूका समस्या छन्। तसर्थ सबै–सबै मान्छेहरूको भावना र चाहना सम्बोधन गरी अघि बढ्न यो अभियान चलाइएको हो। हाम्रो पार्टी यसमार्फत निष्कर्ष, सच्चिने पाटो र रोडम्याप तयार गरी अघि बढ्नुपर्छ र बढ्छ भन्ने लाग्छ।
(कांग्रेस युवा नेता कुमाल संविधानसभा सदस्य हुन्।)