सिँचाइबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

सिँचाइबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

टीकापुर : राष्ट्रिय गौरवको रानीजमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीको कटासेमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाले जानकी गाउँपालिका– ९ स्थित कटासेमा निर्माण गरेको विद्युत् गृहबाट उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। 

विद्युत् लम्कीस्थित प्रसारण केन्द्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। विगतका वर्षदेखि पूर्वी कैलालीमा बाहै्रमहिना सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सुरु गरिएको आयोजनाले पाँच वर्षदेखि विद्युत् उत्पादनका लागि निर्माण थालेको थियो। गत महिना विद्युत् उत्पादन परीक्षण गरिएकोमा अन्य पूर्वाधार तयार गरेर मंगलबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका इन्जिनियर वीरसिंह धामीले बताए। ‘विद्युत् उत्पादन एक महिनाअगाडि नै परीक्षण गरिएको भए पनि केही प्राविधिक काम बाँकी रहेको थियो,’ इन्जिनियर धामीले भने, मंगलबारदेखि पावर हाउसबाट उत्पादित विद्युत् लम्कीस्थित प्रसारण केन्द्रबाट राष्ट्रिय ग्रिडमा जडान गरेका छौं।’  

कर्णाली नदीको चिसापानीबाट मुख्य इन्टेकमार्फत रानीजमरा, कुलरिया सिँचाइ आयोजनामा बग्ने नहरबाट उत्पादित विद्युत् एकनासको उत्पादन हुने आयोजनाले जनाएको छ। पश्चिमको महेन्द्रनगरदेखि लमहीसम्मको एउटामात्रै पावरहाउस हो। इन्जिनियर धामीले भने, ‘आयोजना यो क्षेत्रका लागि निकै गौरवको क्षण हो, हामीले वार्षिक ४२ गिगावाट विद्युत् ऊर्जा उत्पादन हुने अनुमान गरेका छौं।’

आयोजनाका सिनियर डिभिजन इन्जिनियर टोपबहादुर खत्रीले गत मंसिर अन्तिमदेखि विद्युत् उत्पादन सुरु गरिएको बताए। तराई क्षेत्रको सिँचाइ आयोजना भए पनि परियोजनामा बिजुलीसमेत उत्पादन भएपछि स्थानीयहरू दंग छन्। ‘तराई क्षेत्रमा पनि आठ मिटरबराबरको हेड (उचाइ) प्राप्त भएपछि बिजुली उत्पादन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ,’ इन्जिनियर खत्रीले भने, ‘सिँचाइ नहरमा पानी उपलब्ध निरन्तर हुँदा बिजुली पनि उत्पादन नियमित हुन्छ।’ 

कैलालीको पूर्वीक्षेत्रमा रानीजमरा र कुलरिया कुला प्रणालीबाट १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। लम्की शाखा नहर निर्माण सकिएसँगै थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य आयोजनाको छ। 

आयोजनाका शाखा तथा उपशाखाहरूमा कुलो प्रणाली विस्तारका लागि समेत काम भइरहेका छन्। झन्डै १ सय ५० वर्षअघिदेखि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै बर्सेनि रानीजमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो। आयोजनाले पहिलो चरण २०६७/०६८ देखि २०७४/०७५ मा विश्व बैंकको १२ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण कार्य गरेको छ। दोस्रो चरण २०७४/०७५ देखि २०८०/०८१ मा थप १५ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ छुट्ट्याएको छ। हाल दोस्रो चरणका निर्माण कार्यहरू धमाधम भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.