सुन्तला कुहिनुमा ‘रफ हेन्डलिङ’
अर्घाखाँची : अर्घाखाँचीको पाणिनिमा शीत भण्डारमा राखेका सुन्तला रफ हेन्डलिङ र ट्रिटमेन्ट नमिलेका कारण हरियो र नीलो ढुसीले कुहिएको अनुसन्धानबाट पत्ता लागेको छ। पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीत भण्डारमा पणेनाको सिम्ले र पोखराथोकका कृषकले राखेको ९० टनमध्ये ६३ टन सुन्तलाका दानामा ढुसी लागेको थियो।
सुन्तला नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्यको टोलीले स्थलगत अनुसन्धान गरेको थियो। वैज्ञानिक अनुसन्धानपछि सुन्तला मुख्य गरी हरियो र नीलो ढुसीको कारणले गर्दा सुन्तला नष्ट भएको निष्कर्ष रहेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताए।
भण्डारण गर्दा प्राविधिक त्रुटि रहेको, खुला हातले पन्जा नलगाई शीत भएको समयमा टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको जसका कारण अघिल्ला वर्षको ढुसीका जीवाणु नष्ट नभएको अनुसन्धानपछि पत्ता लागेको छ।
सुन्तलालाई पटकपटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको देखिएको वैज्ञानिक टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ। सुन्तला टिप्दा आधा हरियो र आधा पाकेको टिप्नु पर्नेमा सबै पाकेका सुन्तला टिपेको, हातको बढी प्रयोग भएको, हातका कारण बढी ढुसी लागेको निष्कर्ष छ।
सुन्तला कसरी र किन कुहियो भनेर आइतबार नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक उमेश आचार्य, कृषि विकास निर्देशनालय बुटबलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटबलका बागबानी अधिकृत सुनयना बराली र कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेको टोलीले स्थलगत रूपमा शीत भण्डारणमा पुगी सुन्तला कुहिएको बारेमा अनुसन्धान गरेको थियो।