त्यसैले हामी साइकल चढ्छौं...
हरेक वर्षझैं अन्नपूर्ण पोस्ट्ले ‘क्यान्सरविरुद्धको जागरण अभियान’ अन्तर्गत पर्सि शनिबार बृहत् साइकल र्याली गर्दै छ। नेपालमा साइकल संस्कृतिको विकासमा सहयोग पुर्याउँदै आएका केही साइकलयात्रीलाई ‘तपाईं किन साइकल चढ्न रुचाउनुहुन्छ ?’ भनेर गरिएको जिज्ञासामा साइकल यात्रीको जवाफ केशरराज क्षेत्री र गंगा खड्काको प्रस्तुतिः
साइक्लिङ गर्नेहरू निरोगी : समिता महर्जन, सदस्य, डब्लूसीसीएन
जब मैले साइक्लिङ गर्न थालेँ, त्यसपछि तौल सन्तुलनमा आएको छ। बढेको तौल घटाउन सफल भएकी छु। नियमित साइक्लिङ गर्नुको मुख्य कारण मेरो स्वास्थ्यका लागि हो। साइक्लिङ गर्ने मानिस निरोगी हुन्छन्। करिब डेढ वर्षदेखि मैले साइकलको यात्रा गर्न थालेकी हुँ। मेरा सँगैका साथीहरूको प्रेरणाबाट साइक्लिङ गर्नुपर्छ भन्ने मलाई लाग्यो। जावलाखेल नियमित पुग्ने ठाउँ हो। ४३ वर्षको उमेर भयो मलाई त्यस्तो कुनै रोग छैन। साइक्लिङ गर्दा भेटिने साथीहरूका कारण धेरै रमाइलो लाग्छ। म सँगैका साथीहरूले पनि नियमित साइक्लिङ गरेपछि कुनै रोगको सिकार हुन नपरेको अनुभव सुनाउनुभएको छ। यसले मलाई निकै खुसी बनाएको छ। म सबैलाई स्वस्थ रहन साइक्लिङ गर्न आग्रह गर्छु।
सचेतनाका लागि पनि : योगेन्द्रमान सिंह बस्न्यात,उपप्रध्यापक, नेपाल कमर्स क्याम्पस
साइकलको माध्यमबाट हामीले समाजमा सामाजिक सचेतना फैलाएका छौं। किनभने हामीले साइकल मात्र चलाएका छैनौं, मानिसलाई निरोगी हुनका लागि पनि उत्प्रेरणा जगाइरहेका छौं। जो मानिसले नियमित साइकल चलाएका हुन्छन् उनीहरू स्वस्थ्य हुन्छन्। साइकलको प्रयोगले वातावरण स्वच्छ हुन्छ। अनावश्यक गाडीको जामबाट मुक्त भइने र महँगो इन्धनबाट छुटकारा पाइने हुन्छ। विगत ८/९ वर्षदेखि म निरन्तर साइकल चलाइरहेको छु। म मात्र नभएर मेरो १५ वर्षीय छोरा सुयोग मान सिंह बस्न्यात पनि राम्रो साइकल चलाउनेमा पर्छन्। त्यसैले स्वस्थ जीवन बिताउनु छ भने साइक्लिङ गर्न मेरो सुझाव छ।
धेरै साथी कमाएँ : गणेशप्रसाद श्रेष्ठ, सहसचिव, सिद्धबाबा धाम विकास समिति
लकडाउन भएको बेला घरमै बस्दाबस्दै विरक्त लागेपछि म साइक्लिङमा निस्केँ। अहिले दैनिक साइकल चलाउँछु। लकडाउनले गर्दा शारीरिक रूपमा व्यायम नपुगेपछि साइकल चलाउन थालेँ। मैले शरीरलाई स्वस्थ्य राख्न मात्र होइन, साइकलकै कारण कहिल्यै नभुल्ने गरी इष्टमित्र कमाएको छु। देशभरका साथीहरूसँग चिनजान भएको छ। कतिपय त भारतका साथीहरूसँग पनि परिचय भएको छ। नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, पर्सालगायत ठाउँहरूमा साइकलबाटै पुगेको छ। साइकल चलाउनुपूर्व मेरा त्यति धेरै साथीभाइ थिएनन्। अहिले अनगिन्ती साथीहरूको चिनजानले मलाई जीवनकै सबैभन्दा धेरै सन्तुष्टि प्राप्त भएको छ। मसँगै मेरा छोराहरू जिसन र मिसन पनि साइक्लिङमा निस्कन्छन्।
मोबाइलको ‘लत’ हट्यो : राजु तिवारी, सचिव, बुटवल युनाइटेड साइक्लिङ क्लब
कोभिडको बेला धेरै तनाव खेप्नुपर्यो। त्यो तनाव हटाउन कति मेहनत गरियो, तर सकिएन। जब नियमित साइक्लिङ गर्न थालेँ, त्यसपछि कोभिडको तनाव ह्वात्तै हट्यो। साइकलमा साथीभाइहरूसँगै नयाँ–नयाँ ठाउँको अवलोकनमा पुग्दा दिमाग फ्रेस हुने गरेको छ। स्वास्थ्यका हिसाबले पनि धेरै राम्रो भएको छ। म मात्र होइन, छोराछोरीलाई पनि सँगै साइक्लिङ गराउँदा उनीहरू फ्रेस हुन्छन्। त्यही साइक्लिङकै कारण छोराछोरीहरूलाई रातमा मोबाइलको ‘लत’ हटेको छ। साइकलका बहुउपयोगी फाइदा मैले अनुभव गरेको छु।
बसमा भन्दा छिटो : शिवराम थपलिया, आर्किटेक, सामाखुसी काठमाडौं
काठमाडौंको जामले मानिस वाक्कदिक्क छन्। त्यो समस्याले मलाई त्यति छोएको छैन। किनभने म साइकलमा यात्रा गर्छु। सामाखुसीबाट पुलचोक क्याम्पसमा सार्वजनिक गाडीमा यात्रा गर्दा ४५ मिनेट लाग्ने समय साइकलमा यात्रा गर्दा बढीमा २५ मिनेटमा पुगिन्छ। साइकल आमनागरिकका लागि सर्वसुलभ साधन पनि हो। गाउँबाट काठमाडौैं आउने नयाँ मानिसलाई सस्तो मूल्यमा उपलब्ध हुने साधन साइकल हो। वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले पनि साइकल चलाउनु राम्रो मानिन्छ। म आर्किटेकको विद्यार्थी भएकाले पनि हरेक क्षेत्रमा दिगो विकास होस् भन्ने चाहन्छु।
काठमाडौंमा साइकल लेन चाहियो : राजनराज खनाल, वितरण विभाग, अन्नपूर्ण पोस्ट्
काठमाडौंमा साइकल लेन नहुँदा धेरै दुर्घटना हुने गरेका छन्। दुईपटक त म आफैं दुर्घटनाको शिकार बने। साइकललाई गाडीले ठक्कर दिएको कतिपय ठाउँमा मेरै आँखाले देख्यो। तर, सरकारले किन सडकमा साइकल लेन
बनाउँदैन ? साइकलको महत्व धेरै हुँदा पनि सरकारले यसप्रति चासो नदिँदा धेरै दुःख लाग्छ। मैले नियमित रूपमा साइकल चलाउन थालेको ९ वर्ष भयो।
साइकलमै कार्यालय आउजाउ : नशिव आचार्य, इन्जिनियर, बालकोट, भक्तपुर
म साइकलमै दैनिक कार्यालय आउजाउ गर्छु। काठमाडौंमा मोटरसाइकलमा र साइकलमा यात्रा गर्नु समयका हिसाबले त्यति अन्तर छैन। त्यस्तै, १०/१५ मिनेटको मात्र अन्तर पर्ने हो। कार्यालयकै कामले व्यस्त हुने भएकाले साइक्लिङ गर्न समय पुग्दैन। त्यसैले कार्यालयको समय उपयोग गर्छु । दैनिक २२ किलोमिटर साइकलमै आउजाउ चल्छ। मेरो दिमाग फ्रेस राख्न म नियमित साइकल चलाउँछु।
फुटबल छाडेर साइक्लिङ : उत्तम श्रेष्ठ, अध्यक्ष, बुटवल युनाइटेड साइक्लिङ क्लब
२२ वर्षअघि म फुटबल खेल्ने गर्थे। फुटबल खेल्दा समस्या देखिएपछि अहिले निरन्तर साइक्लिङ गर्न थालेको छु। मलाई युरिक एसिड, ढाड दुख्ने र घुँडाहरू दुख्ने समस्या थियो। जब मैले साइक्लिङ गर्न थाले त्यसपछि यी सबै समस्या हटेर गए। म ४९ वर्षको भएँ। त्यस्तो कुनै शारीरिक समस्या छैन। साइकल नचलाएको दिन समस्या देखिन्छ तर साइकल चलाउँदा कुनै समस्या छैन। फाइदा कति छ कति।
दैनिक २५ किलोमिटर साइकलमा : पुजन मगर, शिक्षक, काभ्य स्कुल, बानेश्वर
घरदेखि कार्यालय र कार्यालयदेखि घर साइकलमै ओहोरदोहोर गर्छु। शारीरिक फिटनेस राख्न मैले साइकल चढ्ने गरेको हुँ। मेरो घर भक्तपुर र कार्यालय बानेश्वर हो। दैनिक २५ किलोमिटर साइकलमा आउनेजाने गर्दा मेरो स्वास्थ्य पनि धेरै राम्रो छ। तीन वर्षदेखि साइकल चलाउँदै आएको छु। जो कोहीलाई पनि आफ्नो शरीरलाई फिट राख्न मन छ, उसले नियमित साइक्लिङ गर्नुपर्छ भन्ने मलाई लाग्छ।