चार वर्षदेखि गाउँमा निरन्तर आर्थिक सहयोग
धनकुटा : जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ डाँडाबजार घर भएका योमन देवान अहिले वैदेशिक रोजगारीका सिलसिलामा जापानमा बस्छन्। उनी जापान बस्न थालेको ११ वर्ष भइसक्यो। त्यस्तै डाँडाबजारकै प्रवीण याखा बेलायती सेनामा कार्यरत छन्। किसान याखा सिँगापुरे लाहुरे हुन्। निर्मल तामाङ र सुवास लिम्बु कोरियामा छन्। राजीवकुमार लिम्बू जापान, सृजन कटवाल अमेरिकामा छन्।
नेपालमा रहँदा उनीहरू सामाजिक क्षेत्रमा क्रियाशील थिए। सातै जनाको घर एउटै गाउँमा भए पनि उनीहरूको भेट प्रत्यक्ष रुपमा नभएको धेरै भइसक्यो। सामाजिक सञ्जालको माध्यमबाट कुराकानी हुँदा बाल्यकाल बेतेको आफ्नो गाउँ ठाउँको धेरै कुराकानी हुन्थ्यो। आफ्नो गाउँमा केही सहयोग गर्नुपर्छ भन्ने उनीहरूमा सरसल्लाह भइरहन्थ्यो।
चार वर्षअघि कुराकानीका क्रममा उनीहरूले डाँडाबजार ब्रदरहुड समूह स्थापना गरे। ‘रगतले नाताले दाजुभाइ मात्रै नभए भावनात्मक रुपले हामी दाजुभाइ’ भावनात्मक रुपमा एकअर्कालाई जोड्ने गरी गठन गरिएको उनीहरूको यो समूह स्वस्फूर्त हो।
डाँडाबजारको पीडा र परिवर्तनमा हामी सँगै छौं भन्ने उद्देश्यका साथ समूह गठन गरिएको हाल जापान बस्दै आइरहेका योमन देवानले बताए। गाउँघरमा हुने दुःखमा उनीहरूले समूह मार्फत हालसम्म करिब १३ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिसकेका छन्।
तीन वर्षअघि भानु माध्यमिक विद्यालयमा अध्ययरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। निम्न आय भएका विपन्न वर्गलाई उपचारमा आर्थिक सहयोग, खानेपानी आयोजना, पूर्वाधार क्षेत्र तथा गाउँघरमा हुने खेल प्रतियोगितामा सहयोग गर्दै आइरहेको छ।
आर्थिक सहयोगका लागि उनीहरूले बाहिर कोहीसँग सहयोग उठाउँदैनन्। आफूले कमाएको रकममध्ये केही रकम बचत गर्दै समूहको कोषमा राख्ने गरेका छन्। ‘गाउँ बाहिर गइसकेपछि गाउँको धेरै सम्झना आउँछ। माटोको याद आउँछ’, उनले भने , ‘हामी विदेशमा भए पनि मनले गाउँ सम्झिने माध्यम बनाएका हौं। हामी आफैं प्रत्यक्ष खट्न सक्दैनौं। विदेशमा रहेर पनि दुःखमा मलम लगाउने प्रयास गरेका हौं।'
सात जना सदस्य रहेको समूहको बैठक ग्रुप म्यासेन्जरमा हुन्छ। आर्थिक सहयोगका लागि पत्र आउँछ। उक्त पत्रमाथि छलफल हुन्छ। सहयोगका लागि २० लाखको अक्षय कोष बनाउने लक्ष्य रहेको देवानको भनाइ छ। १२ लाख रुपैयाँ संकलन भएको छ। आगामी छ महिनाभित्र लक्ष्य पुरा हुनेछ।
ब्रदरहुडले सहयोग रकम ५ नम्बर वडा कार्यालयमार्फत् प्रदान गर्छ। वडामार्फत् सहयोग गर्दा स्थानीय सरकारसँगको सहकार्य देखिने उनको भनाइ छ। उनीहरूको हरेक वर्ष सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई ब्रदरहुड अवार्ड समेत प्रदान गर्दै आइरहेको छ।
ब्रदरहुड समूहका सदस्यहरूले आफ्नो गाउँ ठाउँमा गरेको सहयोगप्रति साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष खड्ग लिम्बूले प्रशंसा गरे। विदेशमा भए पनि गाउँघर सम्झिदै गरिने यस्तो सहयोगले सकारात्मक सन्देश दिएको उनी बताउँछन्।