गण्डकी प्रदेशलाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउनेछौं : मुख्यमन्त्री पाण्डे
स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि तथा पशुजन्य वस्तुमा आत्मनिर्भर बनाउने बताएका छन्। उनले तरकारी, फलफूल, दुध र मासुमध्ये केहीमा प्रदेशलाई आत्मनिर्भर बनाउनेगरी कार्यअघि बढेको बताएका हुन्।
वालिङ उद्योग वाणिज्य संघ स्याङ्जा र नगरपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको ८ औं वालिङ महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका पञ्चवर्षीय योजनामा युवा पलायनको दर घटाई तरकारी, फलफूल, दूध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए।
प्रदेश सरकार कृषि, पर्यटन, संस्कृतिको संरक्षणमा जुटेको बताउँदै उनले महोत्सवले जिल्लाका पहिचान, उत्पादन र ऐतिहासिक वस्तुका प्रचारप्रसार, प्रवर्द्धन तथा बजारीकरणका लागि महत्वपूर्ण हुने बताएका छन्।
महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र झण्डै १० करोडको आर्थिक कारोबार हुने अनुमान छ। महोत्सवमा झण्डै २ सय ५० स्टल राखिएका छन्।