भद्रपुरमा चोरीका घटना बढ्यो

भद्रपुरमा चोरीका घटना बढ्यो

झापा : भद्रपूरको एउटै ठाउँबाट पटक–पटक मोटरसाइकल र साइकल चोरीका घटना भइरहे तापनि प्रहरीले अहिलेसम्म चोरी गर्ने गिरोह पत्ता लगाउन सकेको छैन। 

भद्रपुर नगरपालिका–६ स्थित कामेश्वर कम्प्लेक्स (सिनेमा हल) अगाडिबाट मोटरसाइकल र साइकल चोरी हुने क्रममा अझै रोकिएको छैन। बुधबार र शनिबार त्यही ठाउँमा हटिया बजार लाग्छ। बजार जाने स्थानीयले सिनेमा हल अगाडिको सडक छेउछाउ आफ्नो सवारीसाधन पार्किङ गरी हटिया गर्न जान्छन्। त्यही ठाउँबाट मोटरसाइकल र साइकल चोरी हुने गरेको स्थानीयहरू बताउँछन्। न त त्यहाँ कुनै नेपाल प्रहरी वा नगर प्रहरी खटाइएको हुन्छ। न त वरिपरि कुनै सीसीटीभी क्यामेरा जडान गरिएको छ। 

चोरी गर्ने गिरोहले त्यसको फाइदा उठाउँदै मोटरसाइकल र साइकल चोरी गरेर टाप कस्छन्। चोरी भएका सवारीसाधन खोजीमा प्रहरीले खासै चासो नदेखाउँदा चोरीका घटनाहरू बढ्दै गएकोप्रति नगरवासी चिन्तित देखिएका छन्। यसैक्रमा बुधबार दिउँसो कामेश्वर कम्प्लेक्स (सिनेमा हल) अगाडिबाट फेरि एउटा मोटरसाइकल चोरी भएको छ। भद्रपुर–७ निवासी खेमराज ढुङ्गेलका नाममा रहेको मे ९ प ६३४ नम्बरको कालो रङ्गको सुपर स्पेलेन्डर मोटरसाइकल चोरी भएको हो। अन्दाजी ४ बजेको समयमा ढुङ्गेल त्यहाँ मोटरसाइकल पार्किङ गरी हटिया गर्न गएका थिए। 

फर्किएर आउँदा मोटरसाइकल चोरी भइसकेको थियो। ढुङ्गेलले तत्काल मोटरसाइकल चोरी भएको घटनाको बारेमा वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराइसकेको छ। तर, उनको मोटरसाइकल अझै फेला परेको छैन। २०७९ माघ २६ गते पार्किङ गरी राखिएको मे ७ प २०६३ नम्बरको होण्डा कम्पनीको कालो रङ्गको साइन मोटरसाइकल त्यहीबाट चोरी भएको थियो। 

भद्रपुर–८ निवासी प्रदीप बस्नेतका नाममा रहेको सो मोटरसाइकल हालसम्म फेला परेको छैन। त्यसको एक वर्षअघि भद्रपुर–५ निवासी राजन अधिकारीको पनि एउटा मोटरसाइकल त्यही ठाउँबाट चोरी भएको थियो। त्यो मोटरसाइकल पनि अझै फेला परेको छैन। मोटरसाइकल नभई त्यहीबाट कयौँ साइकल समेत चोरी भइसकेको घटनाहरू पनि घटेको स्थानीयहरू बताउँछन्। 

वडा प्रहरी कार्याल भद्रपुरले नगरको अपाराधिक क्रियाकलाप रोकथामका लागि दुई जना सादा पोशाकमा (घुमुवा) प्रहरी परिचालन गरेको छ। उनीहरूलाई गोप्य सुराक ल्याउन खटाइएको हो। तर, सादा पोसाकका प्रहरीहरू सूचना संकलन गर्नुभन्दा पनि तस्करी गर्ने र पोकापोकी ल्याउनेको पछाडि मात्र कुद्ने गरेकोप्रति नगरबासीले गुनासो समेत पोख्न थालेका छन्। ‘सादा पोसाकको काम चोर पत्ता लगाउनुपर्ने हो, तर उनीहरू खल्ती भर्न खोलातिर कुद्छन,’ एक स्थानीयले भने।   

सुरक्षा फितलो हुँदा चोरीका घटना बढ्यो 

वडा प्रहरी कार्यालय भद्रपूरको शान्ति सुरक्षा फितलो बन्दै गएपछि नगरमा चोरीका घटना बढिरहेको छ। चोरी बढेसँगै  स्थानीयमा त्रास छाएको छ। गएराति भद्रपुर–६ स्थित संगम चोकबाट एउटा सिटी सफारी चोरी भएको छ। 

स्थानीय लालबहादुर साहको प्र–१–०१–०९ ह १८३७ नम्बरको रातो रङ्गको सिटी सफारी चोरी भएको हो। घर अगाडि पार्किङ गरी राखिएको सफारी चोरी भएपछि उनले शुक्रबार बिहान वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी दिएका छन्। त्यसको एक साताअघि माघ ११ गते भद्रपुर– ६ निवासी हेमन्त सुरानाको घरबाट नगद र सुन चोरी भएको थियो। घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको पीडित सुरानाले जानकारी दिए। 

उनको घरको कोठाबाट ४ तोला सुन र ७० हजार नगद चोरी भएको हो। उनले घरमा चोरी भएको बारेमा वडा प्रहरी कार्यालयलाई जानकारी गराए पनि हालसम्म प्रहरीले घटनाको सुइँको समेत पाउन सकेन। त्यसैगरी माघ १७ गते भद्रपुर नगरपालिका–१ सोमबारे स्थित साना किसान सहकारी संस्थामा चोरी भएको थियो। 

कार्यालयको झ्यालको पल्ला र ग्रिल फोडेर चोर भित्र प्रवेश गरी लकर समेत फोडेर लकर भित्री रहेको नगद ३ लाख २ हजार ९७६ रुपैयाँ र सिसी क्यामेराको हार्ड डिस्क चोरी गरेको थियो। सो घटनाको बारेमा पनि केही पत्ता लागेको छ। नगरमा चोरीका घटना बढेसँगै प्रहरी गस्ती बढाएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले बताए। 

अहिलेसम्म चोर भने फेला परेको छैन। सिसी क्यामेराले काम नगर्दा चोर समात्न समस्या भइरहेको बताउँदै इन्स्पेक्टर बोगटीले भने, ‘चोरी घटनामा संलग्नताको पहिचानका लागि शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ।’   

सिसी क्यामेरा देखाउने दाँत मात्र

भारतीय सीमासँग जोडिएको भद्रपुर नगरमा चोरीसँगै आपराधिक क्रियाकलाप रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्य सीसीटीभी क्यामेरा जडान गरिएको छ। कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका, नागरिक समाज, स्थानीय सङ्घसंस्थाको सहयोग तथा वडा प्रहरी कार्यालयको पहलमा नगर क्षेत्रमा २०७५ साल पुसमा सिसी क्यामेरा जडान गरिएको थियो। 

पहिलो चरणमा १४ वटा र दोस्रो चरण १४ वटा गरी २८ सिसी क्यामेरा जडान गरिएको थियो। नगरमा जडान गरिएको सिसी क्यामेरा देखाउने दाँत मात्रै बनेको छ। प्रहरीले  सिसी क्यामेराको सहयोगमा अहिलेसम्म कुनै अपराधी फेला पार्न सकेको छैन। 

मेची पुल, प्रहरी कार्यालय अगाडि, भन्सार छेउ, सगरमाथा चोक, हस्पिटचोक, सँगमचोक, भानुचोक, झापाचोक, बसपार्क, भद्रपुर बजार, जनताचोक, गिरीचोक, कनहाचोक, गणेश मन्दिर, झिम्की चोक, नगरपालिका कार्यालय अगाडि लगायतका स्थानमा सिसी क्यामेरा बिजुलीको पोलमा झुन्डाइएको छ।  

२८ वटा सिसी क्यामेरामध्ये हाल ९ वटाले मात्र काम गरिरहेको वडा प्रहरी कार्यालय भद्रपूरका इन्स्पेक्टर सञ्जीव बोगटीले जानकारी दिए। सिसी क्यामेरा मर्मत सम्भारका लागि भद्रपुर नगरपालिकालाई आग्रह गर्दा पनि अझै बन्न नसकेको इन्स्पेक्टर बोगटीले बताए। 

सडकमा जडित सिसी क्यामेरा नचल्दा वा चलेकोले पनि मान्छे पहिचान गर्न नसक्दा शान्ति सुरक्षामा चुनौती थपिएको स्विकार्दै इन्स्पेक्टर बोगटीले भने, ‘सवारीसाधनको नम्बर पनि पहिचान गर्न समस्या भइरहेको छ, पहिला लगाइएका क्यामेराले काम गरेन, अब राम्रो क्वालिटीको क्यामेरा लगाउनुपर्ने भएको छ।’ त्यसका लागि नगरपालिकासँग पुनः आग्रह गरिने उनको भनाइ छ। 

यता नगर प्रमुख गणेश पोखरेलका अनुसार यति धेरै सिसी क्यामेरा बिग्रिएको बारेमा प्रहरीले नगरपालिकालाई जानकारी नगराएको बताए। प्रहरीले दसैँ तिहार अघि केही बिग्रिएको भनी जानकारी गराएको थियो। १९ वटा सिसी क्यामेरा बिग्रिएको बारेमा जानकारी नआएको बताउँदै नगर प्रमुख पोखरेलले भने, ‘नगरपालिकाले वर्षेपिच्छे सिसी क्यामेरा मर्मत सम्भार गरिदिँदै आएको छ, नगरको शान्ति सुरक्षाका लागि आइटीसँग समन्वय गरी बिग्रिएका क्यामेराहरू पुनः मर्मत सम्भार गरिन्छ।’ ‘यसका लागि प्रहरीले नगरपालिकासँग समन्वय गर्नुपर्‍यो,’ उनले भने।  

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.