किमोले थलिएको शरीरमा साइकलको स्फूर्ति
९ वर्षअघि आमा पाठेघरको क्यान्सरबाट बितिन्। ६ वर्षअघि दिदीको स्तन क्यान्सरबाट ज्यान गयो। परिवारका सदस्यको क्यान्सरबाट निधन भइरहेका बेला कविता चित्रकारको दुई वर्षअघि स्तन क्यान्सर पत्ता लाग्यो।
वीर हस्पिटल, चिरायु हस्पिटलमा उपचारपछि उनी हरिसिद्धी क्यान्सर हस्पिटल पुगिन्। क्यान्सर रोग पत्ता लाग्यो। आफूलाई पनि क्यान्सर भएको पत्ता लागेपछि कविताले जीवनको लय गुमाइन्। स्तनको अप्रेसन गरियो। आठौं केमोथेरापी दिइयो। केमोथेरापीले जीऊ साह्रै गलायो। कविताका हातखुट्टा सुन्निन थाले। शक्तिहीन शरीर थेग्न उनमा आत्मबल सारै कमजोर भयो। रातभर सुत्न सक्दिन थिइन्। भित्ताहरूमा एकोहोरो टोहोलाउँथिन्। र, घरका झ्यालबाट देखिने आकाशको अनन्तः गहिराइमा आफूलाई हराउँथिन्। हस्पिटलमा डाक्टरसँग आफू बाँच्न मन नभएको सुनाउँथिन्। ऊनी डिप्रेसनमा पुगिन्। आफन्तहरू, साथीभाइहरू आए पनि बोल्न मन लाग्थेन।
तर, आजभोलि कविताको दैनिक फेरिएको छ। काठमाडौंमा ह्वात्तै जाडो छ। तर, चिसो बिहानीमा झिसमिसेमै साइकल लिएर निस्किन्छिन्–कविता। जस्तोसुकै चिसो भए पनि बिहान ५ बजे साइकल लिएर निस्कनु उनको दैनिकी हो। मरु गणेस्थानस्थित घरबाट भीमसेनस्थान, डल्लु हुँदै स्वयम्भू भगवानपाउ मैदानमा पुग्छिन्। साइकलको पाइडल घुमाउँदै बिहानीको चिसो पवनको स्पर्शले शरीरमा बिछट्टै आनन्द हुन्छ। मन्दिरमा बज्ने घण्टीका ध्वनिले शरीरमा छुट्टै रक्तसञ्चार हुन्छ।
केही महिना अघिसम्म उनको दैनिकी फरक थियो। मनमा खेल्ने अनगिन्ती कुराले रात अनिदो हुन्थ्यो। मन अशान्त र पीडा महसुस हुन्थ्यो। स्वयम्भू–डल्लु साइकल पुचःको महिलालाई साइकल सिकाउने अभियानमा जोडिएपछि उनको दैनिकी फेरियो। त्यसपछि भने उनको दिनचर्या र जीवन ऊर्जाले गति लिएको छ।
पुचःका साइकल अभियन्ता र साइक्लिस्ट महिलाहरू कविताका आफन्तभन्दा पनि नजिक भइसकेका छन। स्वयम्भू र डल्लुस्थित केही साइकलप्रेमी साथीहरू मचाकाजी महर्जन, रितु महर्जन, सुरेस मानन्धर, नरेन्द्र बुद्धाचार्य, रुपक मानन्धर, सुरेश महर्जन आदिको सक्रियतामा महिलाहरूलाई साइकल सिक्न प्रेरित गर्न थालिन। निःशुल्क साइकल सिकाउने अभियानमा १३८ जना महिलाले साइकल सिक्न थालेका छन्। सिकेका केही ग्रुप राइडमा पनि आउन थालेका छन्। ग्रुप राइड गर्नेमा ४० जना महिला पुगिसकेका छन्। त्यसमध्ये कविता चित्रकार विशेष हुन्।
दसैं अगाडिको एकदिन साथीहरू अजु र बिना राजकर्णीकार उनलाई भेट्न आए। साइकल चलाए रिफ्रेस हुन सकिने सुझाव दिए। सुरुमा डर लागे पनि उनीहरूको सहयोग र भरमा बिस्तारै साइकल चलाउन निस्किइन्। महिला दिदीबहिनीहरू र पुचःका सुमन श्रेष्ठ, मचाकाजी महर्जन र भाइराजाहरूको अपनत्वमा साइकलमा रमाउन थालिन। सबैले उनको ध्यान दिन थाले।
साइकल सिक्दै गरेपछि बिस्तारै बिहानीको ग्रुप राइडमा धेरै स्थान घुमिन्। हड्डी कटकटी दुखेर ५ मिटर पनि हिँड्न नसक्ने कविता अहिले साइकलमा दैनिक ४/५ घण्टा यात्रा गर्छिन्। रातभर सुत्न नसक्ने उनलाई ९/१० बजेदेखि नै मिठो निन्द्रा लाग्ने गर्छ। हरेक मंगलबार कार्यबिनायक चोभार र बिहीबार बंगलामुखी मन्दिर साइकल राइडमा पुग्छिन्। बज्रयोगिनी, भुवनेश्वरी मन्दिर, नर्सरी भज्याग, रामकोट, थानकोट चेकपोस्ट, फर्पिङ हाइड्रोपावर, बुंगमती, खोकना, गोदावरी, इचँगु सेतोगुम्बा, झोर झरना, टोखा चण्डेश्वरी, बूढानीलकण्ठ, शिवपुरी, डाँडागाउँ, लेले मनकामनासम्म साइकल राइड गरिसकिन्।
धादिङ जीवनपुरसम्मको यात्रा रमाइलो भयो। साथीहरूले गाडीमा जान खोज्दा कविताले साइकलमा जाने अठोट गरिन्। साथीहरू पनि गाडी छोडेर साइकलमै जीवनपुरसम्म पुगे। जीवनपुरमा साँगितिक रमाईलोमा उनी नाचेको देखेर सबै अचम्ममा परे। क्यान्सर लागेपछिको उनको पहिलो लामो यात्रा र बाहिरको बास थियो। अनि पहिलो नाच थियो, जुन उनको सबैभन्दा रमाइलो क्षण थियो।
‘अहिले ममा टोटल चेन्ज आएको छ ‘उनी भन्छिन् ‘मलाई हेर्ने डाक्टर टिमले अहिले अचम्म हुँदै भन्छन् तिमीलाई देखेर हामीलाई प्राउड फिल हुन्छ। उनी थप्छन्, ‘उनलाई यो ठाउँमा पुर्याउने साइकल गुरुलाई मेरो धन्यवाद।’ उनी हृदयदेखि आभार व्यक्त गर्छिन्। मचाकाजी र भाइराजाहरू उनको खुसीमा आफ्नो सफलता देख्छन्। मचाकाजी, भाइकाजी, सुरेश मानन्धर र सुमन श्रेष्ठहरूको पनि महान पुण्य कर्म गरेँ हुन्। पुण्य कर्महरू समाजमा अरूले पनि सिक्न सिकाउन जरुरी छ। यी कर्महरू मन्दिरको पूजा, चर्चको प्रार्थना र मस्जिदको अजान भन्दा कैयौं गुणा महान छन्।