...जहाँ साइकललाई सडक छ

...जहाँ साइकललाई सडक छ

बुटवल : साइकल चढ्नेहरू निम्न वर्गका हुन्छन्। हुनेखाने भएको भए त गाडीमै हुँइकन्थे होला भन्ने अधिकांश नागरिकमा भ्रम छ। त्यही भ्रमबाट सरकार पनि अछूतो छैन। साइकल चढ्ने र त्यसको महत्वका बारेमा सरकारले बुझ्न नसकेकै कारण अझैसम्म यातायात क्षेत्रमा ‘साइकल नीति’ बनेको छैन। 

करोडौंका सडक बनाउँदा पनि साइकल गुड्ने बाटो हुँदैन। तर, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक साइकलयात्रीहरूका लागि छुट्टै ‘लेन’ बनाएको छ। साइकल लेन बनाएपछि जिल्लाका साइकलयात्रीहरू उत्साहित भएका छन्।

साइकलयात्रीहरूका लागि बनाएको लेन पहिलोपटक देख्दा खुसी लागेको तिलोत्तमा नगरपालिका ३ का स्थानीय साइकल चालक ४० वर्षीय विष्णु चौधरीले प्रतिक्रिया दिए। 

‘हामीलाई पनि छुट्टै हिँड्ने बाटो बनाइएको रहेछ’, सडकमै भेटिएका चौधरीले भने, ‘बहुत खुशी छु। कमसेकम आफ्नै लेनबाट त हिँड्न पाइयो।’ उनले ठूला गाडीहरूले साइकल चालकहरूलाई पेलेर जाने गर्दा दुर्घटना हुने गरेको समेत अनुभव सुनाए।

‘साइकल चढ्नेहरूलाई तिलोत्तमा नगरपालिकाले हौसला दिने गरेको हामीले महशुस गरेका छौं’, रुपन्देही साइकल संघका अध्यक्ष पुकार थापाले भने, ‘जिल्लाका सबै स्थानीय तहलाई साइकल लेन बनाउन आग्रह गर्छौं।’ उनले जिल्लाभर एकिन तथ्यांक नभए पनि लाखौंको संख्यामा साइकल चालकहरू संघको सम्पर्कमा रहेको जानकारी गराए। हरेक वर्ष बुटवलदेखि प्रेमको प्रतीक पाल्पाको रानीमहलसम्म साइकल ¥याली गर्दै आएको उनले जानकारी दिए। 

‘६ वर्षदेखि जिल्लामा संघ स्थापना गरेर क्रियाशिल छौं’, थापाले भने, ‘साइकलका लागि लेन नहुँदा धेरै दुर्घटना हुने गरेका छन्। तिलोत्तमाले मात्र होइन सबै पालिकाहरू जिम्मेवार बन्नुपर्छ।’ स्थानीय, प्रदेश हुँदै संघीय सरकारसँग सडक निर्माण गर्दा ‘साइकल लेन’ अनिवार्य बनाउनुपर्ने नीतिगत निर्णयका लागि आफूहरूले पहल गरिरहेको समेत उनले सुनाए। 

तिलोत्तमा नगरपालिकाले बुटवल–भैरहवा ६ लेन सडक खण्डअन्तर्गत योगीकुटीदेखि भलवारीसम्म सर्भिस लेनको दायाँबायाँ गरी कुल १८ किलोमिटरसम्म साइकल लेन निर्माण गरेको छ। यो सबैभन्दा धेरै र तीव्र गतिमा गाडी ओहोरदोहोर गर्ने व्यस्त सडकसमेत हो। नागरिकहरूको बढी चाप हुने शकंरनगर चोकदेखि पिकनिक स्थल वनवाटिका जाने सडकमा पनि छिट्टै साइकल लेन बनाउने तयारी भइरहेको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए। ‘विकसित देशहरूमा गाडीलाई भन्दा साइकलहरूलाई फराकिला बाटा बनाउँदा रहेछन्’, खाणले भने, ‘पहिलो प्राथमिकता पैदलयात्री र सार्वजनिक यातायातलाई हुनुपर्छ। निजी गाडीहरू सार्वजनिक सडक मिचेर पार्किङ गर्नुहुँदैन।’ नयाँ वर्ष २०८१ सालदेखि बुटवल भैरहवा सडक खण्डअन्तर्गत तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्ने सर्भिस लेनको सडकमा गरिँदै आएको पार्किङलाई पनि पूर्णरूपमा रोक्ने गरी योजना बनाएको उनले जानकारी दिए। नगरपालिका क्षेत्रका भित्री सडकमा समेत साइकल लेन बनाउने तयारी गरिएको उनको भनाइ छ। 

नगरपालिकाले हाल निर्माण गरेको साइकल लेनमा भ्याटसहित ९ लाख ६२ हजार ६ सय २१ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए। साइकल लेनको चौडाइ ५ फिटको छ। मुख्य–मुख्य चोकहरूमा साइकलको चिन्ह अंकित चित्रसमेत बनाइएको छ। त्यसले यो साइकलयात्रीहरूको बाटो हो भन्ने प्रष्ट देखाउँछ। 

नगरपालिकाले बनाएको साइकल लेनले सिंगो विद्यालय परिवार खुशी भएको शान्ति नमुना माध्यमिक विद्यालय तिलोत्तमा ६ मणीग्रामका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए। 

‘हाम्रो विद्यालयका करिब २ हजार ३ सय विद्यार्थी साइकल चढेर विद्यालय आउँछन्’, लामिछानेले भने, ‘ती सबैलाई यो लेनले नसमेटे पनि अधिकांशलाई राहत मिलेको छ।’ उनले साइकल चढ्ने कतिपय विद्यार्थीलाई ठूलो गाडीले ठक्कर दिँदा दुर्घटना हुने गरेकोसमेत अनुभव सुनाए। सर्भिस लेनको सडकमा गरिने जथाभावी गाडी पार्किङलाई पनि नगरपालिकाले हटाउन सुझाव दिएको उनले बताए। नगरक्षेत्रका अन्य भित्री सडकहरूमा साइकल लेनको आवश्यकता देखिएकोसमेत लामिछानेको भनाइ छ। तराई क्षेत्रमा पर्ने रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा कुल ५९ वटा स्थानीय तह छन्। ती क्षेत्रका अधिकांश नागरिक साइकलमा यात्रा गर्छन्। तिलोत्तमाबाहेक अन्य स्थानीय तहले साइकल लेन बनाएका छैनन्। 

पहिलो प्राथमिकतामा पैदलयात्री

null​​​​​​​

विकसित देशहरूमा गाडीलाई भन्दा साइकलका लागि फराकिला सडक बन्दा रहेछन्। हामी पनि पहिलो प्राथमिकता पैदलयात्री र सार्वजनिक यातायातलाई हुनुपर्छ भन्ने मान्यता राख्छौं। निजी गाडीहरूले सार्वजनिक सडक मिचेर पार्किङ गर्नुहुँदैन। २०८१ सालदेखि बुटवल भैरहवा सडक खण्डअन्तर्गत तिलोत्तमा नगरपालिका क्षेत्रको सर्भिस लेनको सडकमा हुने पार्किङलाई रोक्छौं।

रामकृष्ण खाण : नगरप्रमुख, तिलोत्तमा नगरपालिका 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.