बिरामी सबै आफन्त

अनुभूति

बिरामी सबै आफन्त

एक महिलाको पेटको क्यान्सरको शल्यक्रिया गरेँ। उनले तस्बिर खिचिदिन निकै कर गरिन्। मैले खिचेँ पछि जिज्ञासा राखेँ। उनले जवाफ फर्काइन्,  ‘सासू–ससुराले गर्भ रहेको भन्नुभएको छ। मासुको डल्लोको कारण पेट फुलेको हो भन्ने थाहा छैन। प्रमाण देखाउनका लागि फोटो खिच्न भनेकी हुँ।’

डिम्बाशयको क्यान्सर भएकी एक महिला उपचार गर्न आइन्। शल्यक्रिया आफैं गरँें। केमोथेरापी (औषधि) दिनुपर्ने भयो।  बिडम्बना उनीसँग पैसा रहेन छ। उनका श्रीमान् रिक्सा चालक रहेछन्। मैले सहयोग गरेँ।  पछि उनी घर  गइन्। तर,  गरिबीले औषधि  सेवन गर्न पाइन्छन्।  फ्लोअपमा आइन्। क्यान्सर बाहिरै फैलिएर  झन् बिजोग भएको रहेछ। 

०००

क्यान्सरका बिरामीसँगका अनुभूतिहरू असंख्य छन्। कति बिरामीको क्यान्सरको शल्यक्रिया गरेँ। सुरु–सुरुमा  संख्या लेख्थेँ। अब त गणना गर्नै छोडिसकेँ। तर, कहिलेकाहीँं फर्केर आफ्नो कर्म स्मरण गर्छु। खुसी लाग्छ। गर्व महसुस हुन्छ।

०००

बुुवा केशवराज र आमा शोभा घिमिरेको एक्ली 

छोरीका रूपमा जन्मे। रामेछाप, चिसापानी–७, बिमिरेमा जन्म भयो। स्वभावतः  दुई दाजुहरूभन्दा मैले बढी अभिभावकीय माया पाएँ। एक हिसाबले पुल्पुलिएर हुर्केको ठान्छु। 

बुुवा सरकारी जागिरे। हजुरबुवा संस्कृत पढाउनु हुन्थ्यो। बुवा सानै छँदा उच्च शिक्षाको हुटहुटी रहेछ। उहाँले सुटुक्क घर छोड्नुभयो। अर्कोको भाँडा माझेर त्यो बेला बनारसबाट संस्कृत र अर्थशास्त्रमा मास्टर्स गर्नुभयो। खानलगाउन पुग्ने परिवार त हो। तर, बुवा घरबाट भागेर बनारस गई अरूको घरमा काम गरेर उच्च शिक्षा अध्ययन गर्ने  प्यास पूरा गर्नुभयो। बुवाले घर नछोड्नु भएको भए शायद, हामी तीन सन्तानको यो अवस्थामा हुने थिएनौं। धन्य हुन्, मेरा बुवा !

चट्टानी अडान भएका  बुवा। आमा गृहिणी र निकै  दूरदर्शी।  औंठा छाप आमालाई बुवाले नै लेख्न, पढ्न सिकाउनुभयो। आफूले पढ्न नपाएकोमा आमालाई खड्किएको थियो। छोराछोरीलाई राम्रो स्कुलमा पढाउने उहाँको सपना थियो। झन्डै १० वर्ष हुँदा नै ठूलो दाजुलाई काठमाडौंको सिद्धार्थ वनस्थलीमा बोडर्स गर्दिनुभयो। म र सानोदाजु बुवाआमासँगै  रह्यौं। सानो दाइ हजुरबुवा हजुरआमासँगै बसेर पढ्नुभयो। बुवाको सरुवा जुन कार्यालयमा हुन्थ्यो त्यहीँं नजिकैको स्कुलमा भर्ना हुन्थ्यो। भैरहवामा क, ख सिकेँ। त्यसपछि सिरहा लहानमा सरकारी स्कुलमा भर्ना हुन पुगेँ। चितवन भरतपुर हुँदै जनकपुरको स्कुलमा भर्ना भएँ। जे होस्, ५ कक्षा पूरा हुँदासम्म मैले चार जिल्लाका स्कुलमा अध्ययनमा गरेँ। 

जेरी घुमाए जसरी घुम्दै पढ्नुपर्ने मेरो बाध्यता थियो। आमालाई भने काठमाडौंमा पढाउने हुटहुटी थियो। मध्यमवर्गीय परिवार हो। तर, तीनैजना सन्तानलाई काठमाडौं पढाउने सक्ने आर्थिक क्षमता नभएर हो कि किन हो ? आमा पिरोलिएको पाउँथेँ। यो सम्झँदा म भावुक पनि हुन्छु। मेरो बाल्यमस्तिष्क गढेको थियो, ‘आमाले चाडवाडमा नयाँ सारी किन नलाउनु भएको होला ?’ तर हामी ? हाम्रो  बालशुलभ रोजाइ अर्कै थियो। हरेक चाडवाडमा नयाँ लुगामा  सजिन्थौं।

 null

बुवाले जे जति दुःख गर्नु भयो, त्यसले मनमा साह्रै ठूलो प्रभाव पारेको छ। आम्दानीको स सानो रकम वचत गर्नु भएको रै’छ । संयोगवशः  बचत भएको रकमबाट धुम्बाराहीमा बुवाले जग्गा खरिद गर्नुभयो। २०४२ सालतिर हामी काठमाडौं आयौं। सिद्धार्थ वनस्थलीमा सानो दाजु र म पनि भर्ना भयौं। कक्षा ६ मा भर्ना भएँ। बल्ल स्कुल फेरिने क्रममा पूर्णबिराम लाग्यो। 

नेपाली माध्यममा पढेकी म फुच्ची केटी। अंग्रेजी पढाइ हुने स्कुलमा भर्ना सुरुमा कहाँ पो आइयो ? भन्ने भयो। सुरुमा अलि असहज भयो। तर, पछि विस्तारै नयाँ अनुभवसँगै पढाइ पनि कभर गरेंँ। त्यो बेलाको  सिद्धार्थ वनस्थली ! एसएलसीमा प्रथम श्रेण्ीा नआए लाज हुन्थ्यो। प्रथम श्रेणीमा उत्तीर्ण भएँ। त्यसपछि के बन्ने ? हाम्रो मुखमा तीन विकल्प झुन्डिएको हुन्थ्यो, डाक्टर, पाइलट र इञ्जिनियर। मैले पहिलो विकल्प रोजेँ। महाराजगञ्ज क्याम्पसमा हेल्थ असिस्टेन्टमा भर्ना भए। एमबीबीएस र एमडी (स्त्री तथा प्रसूति) पनि गरेँ। मैले एमडी गरेपछि मैले सरकारी र निजी अस्पतालमा  सेवा गरें। अहिले हेर्दा लाग्छ, बुवाले सरकारी सेवा गर्दै सन्तानको भविष्य हेर्नुभयो। मैले भने सरकारी र नीजि दुवै जागिर छोडेँ। किनभने मलाई लाग्छ, जति बिरामीहरू छन, ती सबै मेरा आफन्त । 

मन हार्‍यो, मस्तिष्कले जित्यो 

घर र परिवार सबै काठमाडौंमा। नेपाल मेडिकल कलेज जोरपाटीमा जागिर छँदै थियो। आम्दानी भएकै थियो। कमी केही थिएन। तर, ख्वै किन.. किन ? मलाई काठमाडौं बस्नु उचित लागेन। मनले काठमाडौं छोड्ने अनुमति दिएको थिएन। तर, मस्तिष्कले तर्क गर्‍यो। काठमाडौंको खाल्डामा त धेरै स्त्री विशेषज्ञहरू छँदै छन् नि ! काठमाडौंको खाल्डोबाट बाहिर निस्कनुपर्छ भन्ने तर्क गर्‍यो। अन्ततः मनले हार मान्यो। मस्तिष्कले जित्यो। एक दिन अचानक  उपत्यका छोड्ने निधो गरेँ।

भरतपुर क्यान्सर अस्पताल, चितवन पुगेँ। अस्पतालका तत्कालीन अध्यक्ष महेन्द्रबहादुर कार्कीलाई पहिले देखिनै चिन्थे। उहाँले खुसीसाथ स्वागत गर्ने बताउनुभयो। नेपाल मेडिकल कलेजको जागिर छोडेँ। भरतपुर क्यान्सर अस्पतालमा एउटा विषय निकै चर्चा भइरहेको थियो। डाक्टरले बाहिर निजी क्लिनिक वा अस्पतालमा काम गर्ने कि नगर्ने ? मलाई अध्यक्षज्यूले सोध्नु भयो, के गर्ने ? भुरा माछा मार्न जाने हो ? मैले जवाफ फर्काएँ, ‘होइन। म त यहीँं अस्पतालकै बिरामीको मात्र सेवा गर्छु।’

पैसा कमाउने ध्याउन्न थिए। बुवा आमाले दुःख गरेरै भए पनि अभावको महसुस हुन दिनुभएको थिएन। मलाई पनि पैसाको पछि लाग्ने कुरा सुरुदेखि नै लागेन। null

बिरामी निको हुँदा खुसी

क्यान्सरको सर्जरी लामो हुन्छ। एकदमै ध्यान दिनुपर्ने हुन्छ। झन्डै पाँच÷छ घण्टा एकाग्र हुनुपर्छ। भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छँदा मलाई एक महिलाको शल्यक्रिया गर्न साह्रै गाह्रो भयो। उनाँले छोरालाई लिएर आउनुभएको थियो। शल्यक्रिया गर्ने बेला उहाँको धेरै नै रक्तश्राव भयो। मैले गरेको अप्रेसनमध्ये सबैभन्दा गाह्रो अप्रेसनमध्ये एउटा त्यो पनि हो। बल्लतल्ल अप्रेसन गरेँ। ज्यान जोगाएँ। केमोथेरापी लिनुभयो। स्वस्थ हुँदै गएको देखेर खुसी लाग्यो।

null

दुई वर्षपछि उहाँको छोरासँग भेट भयो। आमा पक्कै पनि ठीक हुनुहुन्छ भन्नेमा ढुक्क थिएँ। के छ आमाको हालखबर ? मैले सोधँे। उनले अँध्यारो अनुहार लगाउँदै जवाफ फर्काए, ‘आमा त बित्नुभयो।’ म स्तब्ध झैं भए। किनभने, त्यो फर्कने खालको क्यान्सर थिएन। केमो पनि पूरा चलाइएको थियो।
 के भयो त्यस्तो ? थप कौतुहलता लिँदै सोधेँ। उनको जवाफ दिए, ‘सुसाइड गर्नुभयो।’ उफ....! मलाई रिंगटा लाग्ला झैं भयो। यो घटना स्मरण गर्दा मलाई एकदमै दुःख लाग्छ। 

बहिरंग विभाग (ओपीडी)मा बसेर पनि क्यान्सरका बिरामीको स्वास्थ्य जाँच गरेँ। उस्तै उमेरका दुई महिलामध्ये एउटामा पूर्ण निको भएको र अर्कोलाई रोग पुनः देखा परेको पनि छ। सर्जरी गरेका बिरामी १०÷१५ वर्षदेखि सक्रिय जीवन बिताइरहेका छन्। यो देख्दा साह्रै खुसी लाग्छ। नेपाल आर्मी अस्पताल नेपाल प्रहरी अस्पताल, प्रसूति गृहलगायत काठमाडौं प्रायः सबै अस्पतालमा पुगेकी छुँ। क्यान्सरका बिरामीको शल्यक्रिया गर्ने क्रममा विद्यार्थीलाई सीप र दक्ष बनाउन सघाएकी हुन्छु। सीप सिकाउन पाउँदा पनि खुसी महसुस हुन्छ। 
 
उपचारबाट रोकथाममा  उत्प्रेरित 

त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज जोरपाटी, भरतपुर क्यान्सर अस्पताल चितवनमा बिरामीको सेवा गरेँ। बिरामीको शल्यक्रिया गरेँ। किस्ट मेडिकल कलेजमा सहप्राध्यापकका रूपमा  केही वर्ष पढाएँ। मैले सिकेको सीप र ज्ञान अरुलाई ट्रान्सफर गर्नुपर्छ भन्ने मान्यता छ। आफू मर्दा आफूसँगै ज्ञान, सीप मर्नुहुँदैन। त्यसै कारण झन्डै आठ वर्ष पठनपाठनमा बिताएँ। अल्का अस्पताल, नेशनल क्यान्सर अस्पतालमा पनि केही वर्ष काम गरेँ। स्वदेशमा जुनसुकै भूमिका रहे पनि  रोगको उपचारमै केन्द्रित थिएँ। तर, किन ... किन सन्तुष्ट महसुस भइरहेको थिएन। 

  • सरकारी, गैरसरकारी र निजी क्षेत्रबीचको सहकार्य गरेर क्यान्सरविरुद्ध लड्नुपर्छ। 
  • मैले पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र स्तन क्यान्सरका बिरामीहरूको उपचारमा जीवन समर्पण गरेँ। अहिले  क्यान्सर लाग्नै नदिने रोकथाममा आफूलाई केन्द्रित गरेकी छुँ।

सन् २००७ मा तालिमको सिलसिलामा पाकिस्तानको लाहोर जाने मौका मिल्यो। पूर्वप्रधानमन्त्री इमरान खानले आमाको सम्झनामा स्थापना गर्नुभएको थियो। सो क्यान्सर अस्पतालमा रेडियोथेरापीसम्बन्धी अझ बढी सिक्ने मौका पाएँ। यसबाहेक बेलायत, अमेरिकालगायत मुलुकमा पनि पुगेँ। त्यहाँका स्त्री क्यान्सरसम्बन्धी विभाग पनि अवलोकन गर्न पाएँ। 

थाइल्यान्डको बैंककमा पुग्नु मेरो जीवनकै टर्निङ प्वाइन्ट बन्यो। एक हप्ताको कोर्ष थियो। त्यो कोर्ष लिएपछि क्यान्सर रोकथामतर्फ उत्प्रेरित भएँ। क्यान्सर लागिसकेका व्यक्तिलाई बचाउनेभन्दा रोग लाग्नै नदिने भूमिका बढी उपयुक्त लाग्यो। सिंगापुरका ती चिकित्सकले पनि रोकथाममै लाग्नुभएको रहेछ। डा. शंकरनारायणलाई भेटेपछि त झन् रोकथाममै लाग्नुपर्ने प्रेरणा जागृत भयो। १० जनालाई बिरामीको शल्यक्रिया गरेर जीवन बचाउनु राम्रो हो। तर, त्योभन्दा एक सय जनालाई क्यान्सर लाग्नै नदिने रोकथाममा लाग्नु उपयुक्त लाग्यो। अमेरिकामा पनि मैले रोकथामका विषयमा विविध ज्ञान लिएँ। 

नाम, दामभन्दा काम प्यारो 

अहिले प्रायजसो व्यक्ति नाम र दामको पछि दौडेको देख्छु। अरूलाई  उपकारभन्दा आफू र आफ्ना व्यक्तिका लागि जे गर्न पनि तयार हुने प्रवृत्ति छ। यो देख्दा खल्लो महसुस हुन्छ। क्यान्सरको बोझले ग्रस्त जीवन नजिकबाट नियाली रहेकी थिएँ। त्यस खालको बोझ कम गर्न र सबै महिलाको लागि स्क्रीनिङ सेवाहरू पहुँचयोग्य बनाउन कसरी सकिएला ? भन्ने मनमा गढेको थियो।

क्यान्सरविरुद्ध जनचेतना र प्रि–क्यान्सर स्क्रिनिङलाई सहयोग गर्ने उद्देश्यले एकदमै मिल्ने साथीहरू एकजुट भयौं। आआफ्नो पेसाकर्ममा अब्बलता हासिल गरेका विभिन्न क्षेत्रका चियाखाजा खाने साथीहरू मिलेर नेपाल क्यान्सर केयर फाउन्डेसन स्थापना गर्‍यौं। वरिष्ठ अधिवक्ता, पाइलट, डाक्टर, उद्यमीहरूसहितको सिर्जनशील टिम छ। हामीले आआफ्नो गोजीबाट निकालेर फाउन्डेसनको स्थापना गरेका हौं। हामी आफैंले कमाएको रकममध्येको केही अंश छुट्ट्याएर बिरामीका लागि खर्च गरौं भन्ने पवित्र उद्देश्य लिएर स्थापना गर्‍यौं।

सन् २०११ मा स्थापना गरेको फाउन्डेसनको अध्यक्ष पूर्वमहान्यायाधीवक्ता एवं वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त हुनुहुन्छ। त्यस्तै उपाध्यक्षमा पूर्वएआईजी अमरसिंह शाह हुनुहुन्छ। महासचिवको रूपमा म संलग्न छुँ। कोषाध्यक्षमा उद्यमी राजेन्द्रप्रसाद अर्याल, सदस्यहरूमा वरिष्ठ पाइलट रामेश्वर थापा, डा. देजकुमार गौतम, डा. मुनेसराज लाखे, डा. सन्ध्या चापागाईं, चार्टड एकाउन्टेन्ट आशिष गर्ग हुनुहुन्छ। 

सुरुका केही वर्ष हामीले निःशुल्क सेवा प्रवाह गर्‍यौं। तर, अहिले निःशुल्क सेवा गर्दा पनि प्रश्नहरू आउन थाले पछि न्यूनतम शुल्क लिन थालेका छौं। मुलुकका विभिन्न दुरदराजमा पुगेर क्यान्सरविरुद्धको जनचेतना फैलाउने काम गर्दै आएका छौं। स्वास्थ्य परीक्षणको काम पनि भइरहेको छ। विगत र वर्तमानमा फेरिएको भूमिकाप्रति सन्तुष्ट छुँ। 

पाठेघरको क्यान्सरविरुद्ध खोप विश्वमा पाठेघरको मुखको क्यान्सरबाट झन्डै ६ लाखभन्दा बढी महिला पीडित छन्। पीडितमध्ये ८० प्रतिशत महिला नेपाल, भारत, अफ्रिकाजस्ता विकासोन्मुख मुलुकका हुन्। पाठेघरको मुखको क्यान्सर नेपाली महिलामा हुने प्रमुख क्यान्सरका रूपमा देखिएको छ। सरकारी, गैरसरकारी र नीजि क्षेत्रबीचको सहकार्य गरेर क्यान्सरविरुद्ध लड्नुपर्छ। पाठेघरको मुखमा अनियन्त्रित कोषिकाको वृद्धि हुनुनै पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) हो। मैले पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र स्तन क्यान्सरका बिरामीहरूको उपचारमा जीवन समर्पण गरेँ। अहिले  क्यान्सर लाग्नै नदिने रोकथाममा आफूलाई केन्द्रित गरेकी छुँ। 

सुख के हो ? भन्ने प्रश्नमा मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाकोे कविता स्मरण हुन्छ–
‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ ?’ 

प्रस्तुति : दिनेश गौतम
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.