बिकु फेमिली कपको उपाधि कालोलाई
बेनी : बेनीमा शनिबार सम्पन्न प्रथम बिकु फेमली कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ।
जलजला गाउँपालिका–३ वारीबेनीको बिकु फेमली समूहको आयोजना र बेनी नगरपालिका–७ को न्यु दोभान युवा क्लबको सहआयोजनामा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका थिए।
बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा आयोजकको सेतो समूहलाई शून्यका विरुद्ध २ गोल गर्दै आयोजकको अर्को कालो समूहले उपाधि जितेको हो। बागलुङ सुधार गृहलाई एकका विरुद्ध दुई गोल गर्दै बेनीको एभरग्रिन युवा क्लब तेस्रो बनेको बिकु फेमलीका अध्यक्ष सुजन बुढाथोकीले बताए।
प्रतियोगितामा विजेता, उपविजेता र तृतीयले कप, ट्रफी र मेडलसहित क्रमशः नगद एक लाख ४० हजार रुपैयाँ, ७७ हजार ७७७ रुपैयाँ र २२ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। बिकु फेमलीको कालो टिमका विकास लामा उत्कृष्ट खेलाडी, सेतोका पुर्णेश्वर कार्की उत्कृष्ट गोलरक्षक, कालोका पुरन छन्त्याल उत्कृष्ट डिफेण्डरको पुरस्कार पाए।
बिकु कालोका दिनेश घर्तिमगरले सर्वाधिक चार गोल गरे। विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूले नगद चार हजार ४४४ रुपैयाँ नगद सहित ट्रफी र मेडल प्राप्त गरे। प्रतियोगितामा फेयर प्ले अवार्ड प्राप्त गरेको कालिपुल युनाइटेड क्लबले नगद आठ हजार ८८८ रुपैयाँ र ट्रफी प्राप्त गरेको छ।