आलुको माग बढी, घट्यो उत्पादन

आलुको माग बढी, घट्यो उत्पादन
सुन्नुहोस्

जोमसोम : हिमाली क्षेत्रको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलुलाई उपभोक्ताले निकै मन पराउँछन्। उसिनेर होस् या तरकारीमा मिसाएर खान मुस्ताङी आलुको माग बढी छ। तराई र पहाडी क्षेत्रमा उत्पादन हुने आलुभन्दा यस क्षेत्रमा उत्पादन हुने आलुप्रति सहरिया उपभोक्ताको रुचि बढी छ।

मुस्ताङका स्याउ खेती जस्तै प्रमुख बालीको रूपमा रहेको परम्परागत आलु खेती यहाँका किसानको गतिलो आम्दानीको स्रोत बनेको छ। मुस्ताङका किसानले स्याउ बगैंचाभित्र अन्तरबालीको रूपमा आलु खेती गर्दै आइरहेका छन्। उनीहरूले स्याउ र आलु गरी दोहोरो आम्दानी लिइरहेका छन्। यद्यपि मुस्ताङका किसानले स्याउ बगैंचाभित्र अन्तरबालीका रूपमा उवा, फापर, जौ र तरकारी खेती पनि गर्छन्। 

मुस्ताङमा यसवर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। गतवर्ष मुस्ताङमा २ सय १२ हेक्टरमा लगाइएको आलु खेतीबाट ९ हजार ६ सय ३ टन स्याउ उत्पादन भएको थियो। तर, यसवर्ष ३ सय १५ हेक्टर क्षेत्रफलमा लगाइएको आलु खेतीबाट ६ हजार ३ सय ६३ टन मात्र आलु उत्पादन भएको ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।

यसवर्ष मौसम अनुकूल नहुँदा आलु उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे। गतवर्ष आलुका लागि उपयुक्त हावापानी भएको भए पनि यसवर्ष आलुको बोटको वृद्धि विकास हुने बेलामा लगातार वर्षा भएको र यसले आलु खेतीमा डढुवा रोगको प्रकोप देखिँदा उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ। उनले उपल्लो मुस्ताङमा तुषारोका कारण आलु खेतीमा डढुवा रोग देखिएको बताए। आलु खेतीमा मौसम अनुकूल नहुँदा डढुवा रोगको प्रकोप देखिने गर्छ। डढुवा रोग लाग्दा आलु बोटका पातहरू सुक्दै र मर्दै जाने लक्षण देखिन्छ। आलु बोटको पातमा डढुवाको प्रकोप देखिँदा आलुको बोटले प्राप्त गर्ने कार्वनडाई अक्साइडको मात्रा उपलब्ध हुन सक्दैन। आलुको बिरुवाले मलजल नपाउँदा आलु उत्पादन घट्नुको प्रमुख कारण रहेको केन्द्र प्रमुख बस्ताकोटीले सुनाए।

यसवर्ष गतवर्षको तुलनामा ३ हजार २ सय ४० टन आलु उत्पादन घटेको हो। गतवर्ष मुस्ताङमा प्रतिहेक्टरमा ३०.७८ टन आलु उत्पादन भएको थियो। यसवर्ष गतवर्षभन्दा थप ३ हेक्टर क्षेत्रफल विस्तार भए पनि प्रतिहेक्टर २०.२ टन आलु उत्पादन भएको देखिन्छ। यहाँ औसत प्रतिहेक्टर १० टनले आलु उत्पादनमा ह्रास आएको केन्द्र प्रमुख बस्ताकोटीले जनाए। 

यसवर्ष ६ हजार ३ सय ६३ टन आलु उत्पादन हुँदा औसत प्रतिकेजी ५० रुपैयाँका दरले ३१ करोड ८१ लाख रुपैयाँको आलु उत्पादन भएको छ। गतवर्ष मुस्ताङमा ९ हजार ६ सय ३ टन  उत्पादन हुँदा ४८ करोड १ लाख रुपैयाँ आम्दानी भएको केन्द्रको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.