मोरङमा पिकअपको ठक्करबाट महिलाको मृत्यु, मृतकको पहिचान खुलेन
विराटनगर : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा टाटा पिकअप गाडीको ठक्करबाट शनिबार राति एक जना महिलाको मृत्यु भएको छ ।
मृतक महिलाको पहिचान खुलेको छैन । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्री महिलालाई राति ९:२० बजेतिर ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी अन्दाजी ४०/४५ वर्षीया महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।
ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखेर मृतकको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले बताए ।
उनका अनुसार पिकअप र चालक सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ का ४५ वर्षीय मिलनकुमार राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । डीएसपी श्रेष्ठले पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।