चिलीको जंगलमा डढेलो: ४६ जनाको मृत्यु, २०० बढी बेपत्ता
चिलीका राष्ट्रपति गेब्रियल बोरिकले मध्य चिलीको भल्पराइसो क्षेत्रको जंगलमा भएको डढेलोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको बताएका छन् ।
उनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।
आगलागीबाट समुद्री किनारको पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
राहत र उद्धार टोलीका कर्मचारी प्रभावित क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् ।
भिना डेल मार सहरका मेयरले सहरका २०० भन्दा बढी बासिन्दा बेपत्ता भएको बताएका छन् ।
गृह मन्त्रालयका अनुसार यस आगलागीबाट देशभर ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल प्रभावित भएको छ ।
सामान्यभन्दा बढी गर्मी र तेज हावाका कारण आगलागी भएको हो । बीबीसी