फेदिखोलामा ‘उपाध्यक्षसँग सुत्केरी पोषण’कार्यक्रम
स्याङ्जा : फेदिखोला गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी पोषण’ कार्यक्रम सञ्चालन गरेको छ। सुत्केरी आमा र नवजात शिशुको स्याहार, सुसार र सरसफाइप्रति लक्षित गर्दै सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।
यसै वर्षको साउनदेखि यता सुत्केरी भएका आमा, शिशुका स्वास्थ्य र सरसफाइका अवस्थालाई ध्यान दिँदै सुत्केरीसँग भेटवार्तासहित पोषण झोला उपलब्ध गराउँदै आएको गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङ्ले जानकारी दिइन्।
स्वास्थ्यकर्मीसहित पोषण झोला लिएर उपाध्यक्ष गुरुङ सुत्केरी घरघरमा पग्ने गर्छिन्। यो क्रम जारी छ। चालु वर्षभरि जारी रहने छ। उपाध्यक्षसँग सुत्केरी पोषण झोलामा ३ किलो चामल, २ किलो दाल, १ किलो चना, एक क्रेट (३० वटा) अण्डा, १ किलो स्याउ (फलफूल), एक प्याकेट आयोडिनयुक्त नुन, २ वटा साबुन, एक/एक वटा दाँत माझ्ने पेष्ट र ब्रस राखी कोसेली स्वरुप सुत्केरीलाई दिइने गरिएको छ।
सुयोग्य, सक्षम र स्वस्थ्य नागरिक बनाउनु पालिकाको उद्देश्य अनुसार अभियान सञ्चालन गरेको पालिकाले जनाएको छ। यसै,चालु आर्थिक वर्षदेखि सुरु सो कार्यक्रमका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।
सुत्केरीसँग प्रत्यक्ष भेटवार्ताले बच्चालाई दिइने नियमित खोप,आइरन चक्कीको उपयोग,आमा र बच्चाको तौल,थप आहारा, स्तनपान, स्वास्थ्य केन्द्रमा किन सुत्केरी गराउने, सरसफाइ, परिवार नियोजन र स्वास्थ्य सम्बन्धी धेरै विषयमा जानकारी पाउनुका साथै सुझाव दिन सकिएको उपाध्यक्ष गुरुङ्ले भनिन्।
पाँच वडा रहेको फेदिखोला गाउँपालिकाभित्रका सुत्केरीका घरघरमा पुगिरहँदा शिशुको ३५ दिनभित्र जन्मदर्ता गरेमा निःशुल्क हुने र दलित बालबालिकाले पाउने पोषणभत्ताका बारेमा समेत अभिभावकले पुन: जानकारी पाउने गरेका छन्।