निको हुन्छ पाठेघरको मुखको क्यान्सर
पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिन्छ।
महिलामा हुने क्यान्सरमा स्तनपछि दोस्रो प्रमुख क्यान्सर हो, पाठेघरको मुखको क्यान्सर। विश्वमा प्रतिवर्ष पाँच लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्छ। अन्दाजी दुई लाख महिलाको यो रोगबाट मृत्यु हुन्छ। नेपालमा प्रतिवर्ष कति महिलालाई यी रोग लाग्छ र कतिको मृत्यु हुन्छ भन्ने सही तथ्यांक छैन।
साधारणत : यो रोग ४० वर्षपछि देखा पर्ने भए पनि नेपालजस्तो अविकसित देशमा यो रोग ३० वर्ष अथवा सोभन्दा कम उमेरका महिलामा समेत पाठेघरको मुखमा क्यान्सर हुने गरेको छ।
पाठेघरको क्यान्सर कसरी हुन्छ ?
कुनै निश्चित कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न सकिन्न। तर पनि एचपीभी (ह्युमेन पापिलोमा भाइरस) नै यसको मुख्य कारण हो भन्न सकिन्छ। करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपीसँग सम्बन्धित रहेको पाइएको छ।
एचपीभी एक साधारण भाइरस हो, जुन यौनसम्पर्कमार्फत एकअर्कामा सर्ने गर्छ। यौनकार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एकपटक उक्त भाइरसले संक्रमित गर्ने गरेको छ। एचपीभी धेरै प्रकारको भए पनि १३ प्रकारको भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउँछ। एसियामा ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १६ तथा १८ को संक्रमणले भएको पाइएको छ।
पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी संक्रमणको खासै उपचार छैन। तर ह्युमेन पापिलोमा भाइरसविरुद्घ भ्याक्सिन लगाउन भने सकिन्छ।
एचपीभी शारीरिक सम्पर्कको क्रममा छालाबाट छालामा फैलिन्छ। यस्ता विषाणुले गर्भाशयको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनको रासायनिक प्रक्रिया हुँदा ती कोषिकाहरूमा परिवर्तन ल्याउँछ र जुन वर्षौंपछि क्यान्सरमा परिणत हुन्छ। कम उमेरमा विवाह हुनु, कम उमेरमै यौनसम्पर्क स्थापित हुनु, एकभन्दा बढीसँग यौनसम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अंगको उचित सरसफाइ नगर्नु, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्तांगसम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सर लाग्नाका प्रमुख कारण हुन्। तर ह्युमेन पापिलोमा भाइरसलाई प्रमुख कारक तत्त्व मानिएको छ।
लक्षण चिह्न
पाठेघरको मुखको क्यान्सरको सुरुआती अवस्थामा कुनै लक्षण चिह्न नभए पनि शारीरिक जाँच गर्दा केही चिह्न भेटिन सक्छ। महिनावारी सुकेकी प्रौढ महिलामा फेरि रगत तथा रगत मिसिएको योनिस्राव देखा पर्न सक्छ। त्यसैगरी यौनसम्पर्कपश्चात् रगत देखा पर्ने सिकायत हुन सक्छ।
गोप्य अंगबाट असामान्य प्रकारको गन्हाउने स्राव बग्न सक्छ। महिनावारी सुकी नसकेकी महिलामा महिनावारीका बेला धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्न सक्ने हुन क्छ। यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न। दुख्न लाग्दा क्यान्सर फैलिसकेको हुन्छ। यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि पनि हुन्छ।
निदानको तरिका तथा उपचार
मानव शरीरमा लाग्ने विभिन्न खालका क्यान्सरमा पाठेघरको मुखको क्यान्सरमात्र यस्तो क्यान्सर हो जसको क्यान्सरपूर्वको अवस्था सजिलै पत्ता लगाउन सकिन्छ। केही मिनेटमै सकिने यो परीक्षणको क्रममा नदुख्ने र बेहोस गराउन नपर्ने हुन्छ। प्याप स्मियरनामक साधारण जाँचबाट पाठेघरको मुखको स्राव निकाली क्यान्सर छ छैन थाहा पाउन सकिन्छ। यसको अलावा एसिटिक एसिड वा ल्युगोल आयोडिनको प्रयोगबाट पनि थाहा पाउन सकिन्छ। २५ वर्ष काटिसकेकी विवाहित महिलाले सकिन्छ भने बर्सेनि प्याप स्मियर परीक्षण गराउनु बुद्धिमानी हुन्छ।
पाठेघरको मुखको क्यान्सर ठ्याक्कै लागेको छ छैन थाहा पाउन पाठेघरको मुखको सानो टुक्रा मासु निकाली (बायोप्सी) गर्नुपर्छ। पाठेघरको मुखको क्यान्सरबारे थप जानकारीका लागि अथवा अन्यत्र भागमा फैलिएको छ छैन थाहा पाउन भिडियो एक्सरे (अल्ट्रासाउन्ड), सीटी स्क्यान, आईभीयू, एक्सरे गराउनुपर्ने हुन्छ। पाठेघरको मुखको क्यान्सर सुरुको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिन्छ। पाठेघरको मुखसहित पाठेघर निकाल्ने शल्यक्रिया गरिन्छ। रोग फैलिसकेको अवस्थामा रेडियोथेरापी वा केमोथेरापी (विशेष औषधि) को प्रयोगद्वारा उपचार गरिन्छ। रेडियोथेरापी योनिमा मात्र वा शरीरको बाह्य भागमा दिइन्छ।
रोकथाम
कारक तत्त्वलाई विचार गरेर कलिलै उमेरमा विवाह नगर्ने, बालविवाहलाई निरुत्साह गर्ने, धेरै बच्चा नपाउने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, गोप्य अंगको सरसफाइमा ध्यान दिने गर्नुपर्छ।
यसैगरी, धेरैजनासँग यौनसम्पर्क नराख्ने, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, यौनरोग एवं गुप्तांगसम्बन्धी रोगको समयमै आवश्यक उपचार गराएमा यो रोगबाट बच्न सकिन्छ। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो भन्ने कुरा राम्ररी मनन् गर्नुपर्छ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप
पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी संक्रमणको खासै उपचार छैन। तर ह्युमेन पापिलोमा भाइरसविरुद्ध भ्याक्सिन लगाउन भने सकिन्छ। सन् २००६ देखि यो खोप विश्वका धेरै मुलुकमा प्रचलनमा ल्याएको छ।
यसले एचपीभी ६, ११, १६ र १८ विरुद्ध लड्न सक्ने क्षमता दिन्छ। पछिल्लो समय नेपाल सरकारले यो खोप १२–१४ वर्षका किशोरीलाई दुई डोज दिन सिफारिस गरिएको छ।