ठोरी छोटी भन्सारको स्तरोन्नति हुने
वीरगन्ज : लामो समयको प्रतीक्षापछि पर्साको ठोरी नाकामा रहेको छोटी भन्सारको स्तरोन्नति हुने भएको छ। पर्सा जिल्ला कै दोस्रो नाका ठोरीमा अवस्थित छोटी भन्सार कार्यालयको नयाँ भवन निर्माण गरिएको वर्षौ बितिसक्दा पनि भन्सार विभागले कर्मचारीको व्यवस्थापन नगरिदिँदा उक्त छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेको छैन।
ठोरी गाउँपालिका-२ मा रहेको ठोरी छोटी भन्सारको स्तरोन्नति यही माघ २७ गते शनिबारका दिन गरिने भएको हो। स्तरोन्नति गरिएसँगै छोटी भन्सार कार्यालय औपचारिक रुपमा सञ्चालनमा पनि आउनेछ।
माघ २७ गते अर्थमन्त्री प्रकाशशरण महतले भन्सारलाई स्तरोन्नति गरिएको घोषणा गर्ने छन्। अर्थमन्त्री महतसँगै अर्थ मन्त्रालयका अन्य दुई सचिव तथा भन्सार विभाग प्रमुखको समेत आगमनमा ठोरी छोटी भन्सारको स्तरोन्नतिको घोषणा हुने कार्यक्रम तय भएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए।