विज्ञानलाई प्रश्न !

विज्ञानलाई प्रश्न !

उत्पत्तिदेखि आजसम्म अबोध्य र अनन्त ब्रह्माण्डभित्रको ससीम सौर्य प्रणाली, ससीम सौर्य प्रणालीभित्रको परिमित पृथ्वी अनि परिमित पृथ्वीभित्रको पनि हामी मानिस त झनै सीमित र समाप्य छौं। यो नीलो ग्रहको रसायन नै यस्तो छ कि यहाँ चाहेर पनि कोही असीमित र अपरिमित बन्न सक्दैन। यति धेरै संकुचनका बाबजुद पनि भौतिक तथा पराभौतिक विज्ञानको क्षेत्रमा मानिसले निरन्तर सत्यको खोज गरिरह्यो। तर पनि ऊ स्वयम्को सीमाले त्यसलाई पनि सीमांकन गरिदियो।

जन्मँदै सीमाबीच घेरिएको मानिस केही रहस्यदर्शी छाडेर बाँकी सबै आजसम्म पनि आफू असीमित छु भन्ने भ्रममा बाँचिरहेको छ। आफूले देख्न नसकेका र सुन्न नसकेका कुराहरू अस्तित्वमा नै छैनन् भन्ने अहंकार अहिलेसम्म पनि बोकेर हिँडिरहेछ। मानिसले न गैंडा र हात्तीहरूले आफूबीच सञ्चार गर्ने अवश्रव्य ध्वनि सुन्न सक्छ, न त बिरालो र चमेराले सुन्न सक्ने पराध्वनि नै सुन्न सक्छ। भूकम्प जान लागेको संकेत मुसाले थाहा पाइरहँदा मानिस भने त्यसको अड्कलसमेत गर्न नसक्ने गरी अनभिज्ञ हुन्छ। मानिसले वास्तवमा २० हर्जदेखि २० हजार हर्जसम्मको आवृत्ति भएको ध्वनिमात्र सुन्न सक्छ।

कानमात्र होइन, मानिसको आँखाको क्षमता पनि उत्तिकै सीमित छ। मानिस बाहेकका हरेक प्राणीले यो संसारलाई जस्तो रङ र रूपमा देख्छन्, त्योभन्दा फरक रङमा मानिसको आँखाले देखिरहेको हुन्छ। एउटा स्वस्थ मानिसको आँखाले रेडियो वेभदेखि गामारेसम्मको सम्पूर्ण तरंगभित्रको केवल चार सयदेखि सात सय नानोमिटरसम्मको तरंग लम्बाइ भएको अत्यन्त सानो हिस्साको प्रकाशमात्र देख्न सक्छ। जबकि यो हिस्साभन्दा बाहिरको इन्फ्रारेड रे, अल्ट्राभाइलट रे जस्ता प्रकाशका तरंग धर्तीका अन्य कैयन प्राणीले सजिलै देखिरहेका हुन्छन्। त्यस्तै मानिसको किमोरिसेप्सन क्षमता अर्थात् स्वाद लिने जिब्रो र सँुघ्न सक्ने नाकको क्षमता पनि अन्य कति प्राणीको तुलनामा अत्यन्त सीमित छ।

धर्तीमा उपलब्ध निश्चित रसायन र अणुमात्र मानिसले स्वाद लिन र सुँघ्न सक्छ। त्यस्तै गरेर मानिसको स्पर्श क्षमता पनि सीमित छ। कतिपय जीवलाई मानिसले नांगो आँखाले देखिरहँदा त्यसको स्पर्शलाई भने महसुस गर्न सक्दैन। कुनै समय मानिसले पृथ्वीलाई चेप्टो भन्यो किनकि उसको आँखाले त्यही देख्यो। तर पाइथागोरसले त्यसलाई गलत प्रमाणित गरिदिए। फेरि मानिसले पृथ्वीलाई बिनाहलचल ब्रह्माण्डको केन्द्रमा स्थिर रहेको पिण्ड भन्यो किनकि उसको आँखाले फेरि त्यही देख्यो। तर त्यसलाई पनि कपर्निकस र ग्यालिलियोले गलत प्रमाणित गरिदिए। आज मानिस स्याउलाई रातो भनिरहेको छ तर फेरि न्युरोसाइन्टिस्टहरू यसलाई गलत प्रमाणित गर्दै स्याउ रातोबाहेक सबै हो भनिरहेका छन्। आखिर सत्य के हो त ?

वास्तवमा यो संसार हर एक विद्युत् चुम्बकीय तरंगहरूको संयोजन हो, जसलाई आधुनिक विज्ञानले इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम भनेर नामकरण गरेको छ। यसमा सबैभन्दा कम आवृत्ति भएको रेडियो वेभदेखि सबैभन्दा बढी आवृत्ति भएको गामारेसम्मको सात प्रकारका तरंग समाविष्ट छन्। मानव आँखाले भने यस स्पेक्ट्रमभित्रको अत्यन्त सानो हिस्साको प्रकाशमात्र देख्न सक्छ, जसलाई भिजिबल लाइट भनिन्छ। यसबाट यो पुष्टि हुन्छ कि मानिसले यो सारा सृष्टिलाई जुन हिसाबले जसरी ग्रहण गरिरहेको छ, त्यो केवल उसको इन्द्रियमार्फत मस्तिष्कद्वारा गरिएको विश्लेषणमात्र हो। यसमा इन्द्रियले बाहिरी संसारबाट जे ग्रहण गर्छ, त्यसको सूचना मस्तिष्कमा पठाउँछ र मस्तिष्कले त्यस सूचनाको आधारमा व्याख्या वा अनुभूति तयार पारेर त्यसलाई इन्द्रियद्वारा महसुस गरिने प्रक्रिया समावेश हुन्छ। वास्तवमा मानिसले ब्रह्माण्डीय यथार्थको एउटा सानो झिल्कोमात्र जान्न सक्छ। त्यो पनि सत्यको यथारूपमा होइन।

तन्त्रिका विज्ञान अर्थात् न्युरोसाइन्सको यो व्याख्याले त्यही भनिरहेको छ, जुन प्राचीन वेदान्त दर्शनले मानिसले देखेको यो संसार भ्रमपूर्ण र मायवी छ भनेको थियो। यस धर्तीमा उपस्थित तमाम अन्य प्राणी झैं मानिस पनि भौतिक शरीर लिएर जन्मन्छ। जन्मपश्चात् आफ्नो भौतिक शरीरलाई छाड्नै पर्ने यहाँको आफ्नै अकाट्य नियम पनि छ। विभिन्न कोणबाट मृत्युको अध्ययन गर्ने विज्ञानको एक साह थानोटोलोजीले यस अकाट्य मृत्युलाई पहिलो र दोस्रो गरी दुई चरणमा व्याख्या गरेको छ। जसमा पहिलो चरण सोम्याटिक मृत्युमा मानिसको स्नायु प्रणाली सञ्चालन गर्ने मस्तिष्क, रक्तसञ्चार प्रणाली सञ्चालन गर्ने मुटु र श्वासप्रश्वास प्रणाली सञ्चालन गर्ने फोक्सो तिनै अंगको कार्य बन्द हुन्छ। यसको केही घण्टापश्चात् मानिस मलिक्युलर मृत्युको चरणमा प्रवेश गर्छ, जहाँ शरीरको कोषिका र तन्तुबाट समेत अक्सिजन समाप्त हुन्छ। यो सबै भइरहँदा अर्थात् मानिसको मृत्यु भइसक्दासमेत उसको शरीरका अंगहरू जस्तै मुटु १५ मिनेट, मिर्गाैला २४ देखि २६ घण्टा, कलेजो ८ देखि १२ घण्टा, फोक्सो ६ देखि ८ घण्टा, मस्तिष्क १५ देखि २० मिनेटसम्म जीवित रहन्छ।

यस बाहेकका अन्य अंगको समेत तत्क्षण मृत्यु हुँदैन। त्यसो भए यति धेरै अंग जीवित रहँदारहँदै पनि मानिसको शरीरबाट त्यस्तो के तŒव निक्लेर जान्छ ? जसको कारण उसको मृत्यु हुन्छ ? यस विषयमा वैदिक दर्शनअन्तर्गतको गरुड पुराणले विस्तृतमा व्याख्या गरेको छ। जसअनुसार आत्माले पञ्चतŒवबाट बनेको शरीर छाड्नुअघि मानिसको प्राणवायु अपान वायुबाट अलग हुँदै जाने र विस्तारै यस प्राणवायुले सम्पूर्ण शरीरको प्राण ऊर्जालाई खिचेर सातमध्येको कुनै एक चक्रमा एकत्रित गर्छ। यस प्रक्रियामा सर्वप्रथम मानिसको पैताला, खुट्टा हुँदै सम्पूर्ण शरीरको तापक्रम घट्दै मानव शरीरको प्रमुख नौ द्वारमध्ये एकबाट उक्त प्राण ऊर्जा सूक्ष्म रूपमा स्थूल शरीर छाडेर जान्छ। यसबाहेक इस्लाम, इसाई, जैनलगायत थुप्रै अन्य दर्शनमा समेत आत्माको अस्तित्वलाई स्वीकार गर्दै मानिसको मृत्यु क्षण यो शरीरबाट अलग हुने बताइएको छ।

संसारमा जतिखेर माइक्रोस्कोपको आविष्कार भएको थिएन, त्यतिखेर मानिसले आफ्नो रगतलाई केवल रातो तरल देख्थ्यो। त्यस तरलभित्र लाखौं जीवको अस्तित्व पनि छ भन्ने कुरा उसले कल्पनासम्म गर्न सक्दैनथ्यो। तर जब संसारले माइक्रोस्कोप पायो, तब मानिसले त्यही रातो तरलभित्र लाखौं रक्तकोषिका र सूक्ष्म जीव सल्बलाइरहेको देख्यो। आज विज्ञानले मानिसको मृत्यु क्षण शरीरबाट आत्मा अलग हुने कुरा मान्दैन। तर केही आत्मा हाम्रो इन्द्रियभन्दा पर अथवा विज्ञानले आजसम्म विकास गरेको प्रविधिको पहुँचभन्दा माथि अर्थात् इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रमभन्दा बाहिरको तरंग हुन सक्दैन र ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.