बुढाथोकीको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने कांग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा दु:ख व्यक्त गरेको छ। मंगलबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बुढाथोकीको निधनमा गहिरो दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
उनको निधनले मर्माहित र स्तब्ध भएको कांग्रेसले जनाएको छ। नेता बुढाथोकीको उपचारका क्रममा सोमबार निधन भएको हो।
नेपालीले कांग्रेसले संविधान सभा सदस्य एवं पूर्वसामान्य प्रशासन मन्त्री समेत रहेका बुढाथोकीको शोकमा तीन दिन सबै कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरेको छ। आज,भोलि र पर्सी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय,प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
माघ २४ गते बुधबारका दिन केन्द्र,प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द हुने र निधन भएको १३ औं दिनसम्म केन्द्र,प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने कांग्रेसले जनाएको छ। यसैगरी निधन भएको १३ औं दिनमा झापामा शोक सभाको आयोजना गरिनेछ।