वालिङमा लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा
स्याङ्जा : जिल्लाको वालिङ नगरपालिकाले लोकसेवा तयारी कक्षा सुरु गरेको छ। लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदार तहका तयारी कक्षा सुरु गरिएको हो। बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्नुका साथै स्वदेशमा युवा जनशक्ति टिकाउनका लागि नगरपालिकाले लोकसेवा आयोगका निःशुल्क तयारी कक्षा सुरु गरेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।
सरकारी सेवामा प्रवेशका लागि सहयोगी बनाउन सकिनेछ भन्ने लागेर कक्षा सञ्चालन गरेको उपप्रमुख कविता तिवारीको भनाइ छ।
‘युवालाई स्वदेशमै बाँच्न सकिन्छ भन्ने मानसिकता बनाई, रोजगार दिन सकेमा पालिकासँगै देश समृद्ध बन्न सक्छ। शिक्षित युवा बेरोजगार हुँदा विदेश पलायन दर दिनप्रतिदिन बढको छ’, उनले भनिन्।
तयारी कक्षामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको तयारी कक्षा सञ्चालन कार्यक्रम संयोजक माधवप्रसाद न्यौपानेले जानकारी दिए। कक्षामा लोकसेवा परीक्षामा हुने सैद्धान्तिक तथा प्रयोगात्मक विषयमा अध्यापन गराइने उनले बताए।
तयारी कक्षाका लागि २ सय युवा इच्छुक भई आवेदन भरेकोमा पहिलो चरणमा सय जना सहभागी गराइएको र अरू युवाका लागि फेरि समय मिलाएर सञ्चालन गर्ने तयारी भइरहेको न्यौपानेको भनाइ छ।
जिल्लाभित्र एवं बाहिर रहेका निजामती सेवामा आवद्ध एवं अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिए।