प्रदेश सरकारले डोल्पामा दुईवटा बेलिब्रिज बनाउँदै
डोल्पा : हिमाली जिल्ला डोल्पामा पहिलो पटक प्रदेश सरकारले दुईवटा बेलिब्रिज पुल निर्माण गर्ने भएको छ। संघीयतापछि डोल्पाका दुई महत्वपूर्ण स्थानमा बेलिब्रिज पुल निर्माण गर्न लागिएको हो। एउटा डोल्पाको एक मात्र जिल्ला अस्पतालसम्म जोड्ने पुल र अर्को त्रिवेणीदेखि जगदुल्ला जोड्ने सडकमा पुल निर्माण गर्न लागिएको हो।
कर्णाली प्रदेश सरकारको लगानीमा संघीयतापछि १० जिल्लामध्ये डोल्पामा पहिलो पटक दुई महत्वपूर्ण स्थानमा बेलिब्रिज पुल निर्माण गर्न लागिएको प्रदेश सभा सदस्य वीरबहादुर शाहीले बताए। अस्पतालको पुलका विषयमा निरन्तर आवाज उठिरहेकाले भौतिक पूर्वाधार मन्त्री,अर्थ मन्त्री लगायतका जनप्रतिनिधिहरूको विशेष सहयोगमा पुलकालागि बजेट स्विकृत गराउन सफल भएको उनको भनाइ छ।
जिल्ला अस्पताल जोड्ने पुलका लागि अर्थ मन्त्रालयले ५ करोड ८८ लाख ९७ हजार बजेट र जगदुल्ला गाउँपालिका-४ मा पर्ने चिलिखारामा पुल निर्माणका लागि २ करोड ९७ लाख बजेट स्वीकृत भएको छ। अबको एकसाता भित्रै दुई वटै पुलको ठेक्का खुलाइने बताइएको छ। जिल्ला सदरमुकाम दुनै बजारबाट पारिपट्टी रहेको अस्पताल जोड्ने पुल नहुँदा बिरामीले समस्या भोग्दै आएका थिए।
बजारसम्म एम्बुलेन्समा ल्याएर अस्पताल लैजाँदा बोकेर लैजानु पर्दा यसअघि बाटोमै केही शिशु र दर्जन धेरै सुत्केरीहरू बाटोमै हुने गरेको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए।