आमा नागरिक, छोरा अनागरिक
जनकपुरधाम : २५ वर्षीय विजय सदाको न जन्मदर्ता छ न त नागरिकता नै। उनको नागरिकता नभएपछि श्रीमती सावित्री सदाको पनि नागरिकता बन्न सकेको छैन। आमाबुवाको नागरिकता नभएकै कारण तीन जना छोराछोरीको पनि जन्मदर्ता हुन सकेको छैन्।
जनकपुरधाम उपमहानगरपालिका–७ मुसहरी टोलमा पुस्तौंदेखि बस्दै आएका विजयका बुवा रामदयाल निरक्षर थिए। उनले नागरिकता बनाउनुपर्छ भन्ने नै थाहा पाएनन्। विजय जन्मिएको केही वर्षमै उनको मृत्यु भयो। आमा देवकीदेवीले भने नागरिकता बनाएकी थिइन्। २०६३ चैत ६ गते जनकपुर जिल्ला प्रशासन कार्यालयबाटै जन्मका आधारमा नागरिकता पाएकी देवकी पनि सात वर्ष अगाडि बितिन्। देवकीले नागरिकता बनाए पनि छोरा विजयको जन्मदर्ता भने गराउन सकिनन्।
आमाको नागरिकता बोकेर विजयले पटक–पटक प्रयास गरे पनि उनलाई न वडा कार्यालयले सिफारिस ग¥यो, न त नागरिकता दिलाउन कतैबाट पहल नै भयो।
ठूलो सवारी चलाउन सिकेका विजयले केही वर्ष अघिसम्म ट्र्याक्टर चलाएर आर्थिक उपार्जन गरिराखेका थिए। तर, नागरिकता नभएपछि उनले सवारी अनुमतिपत्र बनाउन पाएनन् र कामबाट निकालिए। ‘मोबाइलको सिम लिन पनि नागरिकता नै चाहिन्छ। नागरिकता नहुँदा सीप भएर पनि गाडीको लाइसेन्स बनाउन सकिन। लाइसेन्स नभएपछि कसैले काम दिएनन्। घर परिवार चलाउन वैदेशिक रोजगारीमा जाउँ भने पासपोर्ट बनाउन पनि नागरिकता नै चाहिन्छ’, उनले दुखेसो पोख्दै भने, ‘नागरिकता अभावमा सीप भए पनि मजदुरी गर्न बाध्य छु। बालबच्चाको जन्मदर्ता बनाउन नपाउँदा उनीहरूलाई विद्यालयमा भर्ना लिन मानिरहेका छैनन्।’
आमाको नागरिकता हुँदाहुँदै पनि वडा अध्यक्षले सिफारिस नगरेको विजयले बताए। ‘आमाको नामबाट जिल्ला प्रशासन कार्यालयले नागरिकता नै दिएको छैन। यसभन्दा अगाडिका सीडियो साहबसँग मैले कुरा गरेको थिएँ। तर, उहाँले केही दिनपछि मात्रै आमाको नामबाट नागरिकता दिने भन्नुभयो। त्यसैले मैले सिफारिस गरिन’, जनकपुरधाम उपमहानगरपालिका–७ का अध्यक्ष निरज साहले भने, ‘आमाको नागरिकता भएको र बुवाको नभएका करिब एक सय जनाभन्दा बढी नागरिकताविहीन छोराछोरी हाम्रै वडामा छन्। उनीहरूको नागरिकता बनाउन पहल गरिराखेका छौं।’
मुसहर बस्तीकै ३० वर्षीय धवेन्द्र सदा र उनको बहिनी रेखा सदा पनि जन्मदर्ता र नागरिकताविहीन छन्। आमाबुवा सानो छँदै बितेपछि धवेन्द्र र रेखाको नागरिकता मात्रै होइन, अन्य कुनै प्रमाणपत्र बन्न सकेको छैन। ‘जहाँ काम माग्न जाँदा पहिले नागरिकता वा कुनै प्रमाणपत्र नै खोज्छन्, हामीसँग त्यस्तो केही छैन। निकै बिजोग भएको छ। आफ्नै देशमा पनि अनागरिक बनेका छौं’, धवेन्द्रले भने। सोही बस्तीकी दसियादेवी सदाको पनि नागरिकता छैन। उनका श्रीमान् रामबाबु सदाको चाहिँ नागरिकता छ। भारतबाट विवाह गरेर नेपाल आएकाले नागरिकता बन्न नसकेको उनी बताउँछिन्। नागरिकता नभएपछि उनको बालबालिकाको पनि जन्मदर्ता बन्न सकेको छैन।
नेपाल नागरिकता ऐन, २०६३ को दफा ३ मा भएको संशोधनअनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालीको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ। तर, कतिपय भारतमा विवाह गरेर जाने महिलाले पनि नेपाली नागरिकता राखिराख्ने र उनीहरूका छोराछोरीलाई पनि नेपाली नागरिकता दिलाउन खोजेका कारण समस्या निम्तिएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे बताउँछन्। ‘आमाको नेपाली नागरिकता छ र बुवाको पहिचान खुलेको छैन भने सनाखत गराएर आमाकै नाममा पनि नागरिकता दिन सकिन्छ। तर, यहाँ त भारतमा विवाह गरेर गएपछि पनि यहाँको नागरिकता राखी राख्ने र आमाको नामबाट छोराछोरीको नागरिकता बनाउने काम भइरहेको छ। कागजपत्र सही छ भने आमाको नाममा नागरिकता दिन समस्या छैन।’