सबैलाई समेट्ने हिन्दू धर्म
सनातन हिन्दू धर्मले कोही कसैलाई शत्रु मान्दैन। संसारका सबै मानिसप्रति समान सद्भाव र समदृष्टि रहन्छ। यसको आदर्श सिद्धान्त नै ‘बसुधैव कुटुम्बकम्’ हो। सनातन धर्म आफैंमा संकीर्ण छैन। हिन्दू धर्म कुनै सम्प्रदाय पनि होइन। सनातनकै अभिन्न अंग, खुल्ला आकाश र विशाल महासागर हो, जहाँ सबै धर्म सम्प्रदाय अटाउँछन्। जुन कुनै व्यक्ति विशेषले परिकल्पना गरेको धर्म होइन। मानव सृष्टि र सभ्यतासँगै विकसित भएर आएको हो। अर्थात् हजारौं ऋषिमुनिको मत–मन्थनबाट निस्केको सार हो। जसले सबैको अस्तित्व, योगदान र आदर्शको सम्मान गर्छ।
हिन्दू के हो ? यो भन्न सजिलो तर बन्न कठिन विषय हो। सच्चा हिन्दू बन्न सजिलो छैन। हिन्दू जीवनशैली मात्र होइन। यो चौरासी लाख योनिमा अनन्त कालदेखि जन्म–मरणको चक्रमा फसेर तड्पिरहेको जीवको शुद्घीकरण प्रक्रिया हो। जुन प्रक्रिया विधिवत् पूरा हुँदा जीवको उद्धार हुन्छ, त्यसबाट ऊ चौरासीको चक्रबाट उम्किन्छ, मूल अस्तित्वमा मिल्छ। मनुष्यबाहेक अरू योनिमा शुद्घीकरणको सम्भावना रहँदैन। किनकि पशुपन्छी, कीटपतंग आदि योनिमा न्यून चेतनाका कारण जीव पुख्यौली प्रचलन, आहार, निद्रा, भय र मैथुन यी चार चिजभन्दा बाहिर निस्कन सक्दैनन्। त्यसैले उसले नयाँनयाँ खोज, अनुसन्धान र आविष्कार गर्न सक्दैन।
सनातन धर्ममा कोही शत्रु हँुदैन, उसले आफूलाई मान्ने वा नमान्ने सवैको कल्याण चाहन्छ। कसैको अनिष्ट चाहँदैन। एकाथरी मानिस भने हिन्दू धर्मप्रतिको ज्ञान, अध्ययन र अनुभवको कमी वा अर्काको उक्साहटमा लागेर हिन्दू धर्मलाई शत्रु भावले हेर्ने गरेको पाइन्छ। अर्काथरी जो छन् तिनले भने संसार कब्जा गर्ने नियत राखेर विभिन्न जाल, प्रपञ्च, प्रलोभन देखाएर हिन्दू धर्मलाई समूल नष्ट गर्ने। कतिपयले हिन्दू धर्मलाई रुढिवाद र अन्धविश्वासको आँखाले हेर्दै आएको भेटिन्छ। नेपालका सन्दर्भमा धर्म रहेन भने राष्ट्रै नरहने स्थिति आउन सक्छ। धर्मले नै राष्ट्र र समाज धानेको÷जोडेको हुन्छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेले त्यसै भनेका होइनन्– नेपाली हामी रहौंला कहाँ नेपालै नरहे। सनातन धर्मलाई गलत भन्नु भूल हो, अज्ञानता हो। हाम्रो मूल उद्देश्य भनेको राष्ट्ररक्षा र धर्मरक्षा हो। राष्ट्र र धर्म परिपूरक हुन्।
सनातन धर्मको मूल आधार वेद हो, जसले वेदै नपढी वेदको रहस्य नै नबुझी वेदको निन्दा गर्दै घृणा फैलाउँछ। जसरी कुनै मानिस जसले कहिल्यै नदीमा गोडा चोभेको हँुदैन, मुख धुँदैन, स्नान गर्दैन, शरीरमा दुर्गन्ध बोकेर हिँड्छ, त्यसैले नदीको निन्दा गर्छ। वेद ज्ञानको भण्डार हो जुन सबैको साझा सम्पत्ति हो। हिजो काले राई स्वामी प्रपन्नाचार्य बनेर सबैका लागि पूजनीय गुरु बने। उनलाई त्यस्तो महान् बन्न कसैले रोकेन। राष्ट्रगुरु गोरखनाथले संसारभरका हिन्दू बुद्ध, बोन, किराँत, शिख, जैन, मुस्लिम सबैका नाथ बनेर सबैलाई मार्गदर्शन गरे। योगी नरहरिनाथले देशैभर पैदलयात्रा गरे र नेपालको यथार्थ इतिहास प्रकाशनमा ल्याए। डा. जगमान गुरुङ सनातनी ॐ कार परिवारका साझा गुरु बनेका छन्। सनातनी हिन्दूहरू जात र ज्यानलाई होइन, ज्ञानलाई महान् मान्छन्, ‘नही ज्ञानेन सदृश्ां पवित्र मिह विधते’ अर्थात् संसारमा ज्ञान जस्तो महान् र पवित्र वस्तु अरू केही छैन।
संसारमा सनातन हिन्दू धर्म दर्शन महान् छ। यतिबेला संसारभरका विज्ञ मानिस वैदिक ज्ञान र संस्कृत शिक्षातिर आकर्षित भएका छन्। हिन्दू धर्म दर्शनले फरक मत र विचार सुन्छ र त्यसको सम्मान गर्छ, प्राचीनकालमा नास्तिक दर्शनका प्रवक्ता बनेका थिए, चार्वाक। उनी भन्ने गर्थे– जलेर खरानी भएको भौतिक शरीर फेरि फर्केर जन्मन आउँदैन। सभामा चार्वाकको चर्को विरोध भयो। उनलाई समाजबाट बहिष्कार गर्नुपर्छ भन्ने आवाज उठ्यो, अन्त्यमा ऋषि सभाले निष्कर्ष निकाल्यो। चार्वाकलाई बहिष्कार नगरौं, हामीसँगै राखौं। हिन्दू धर्मदर्शन पूर्वाग्रही छैन, उदार र महान् छ। संस्कृत शिक्षा पढेमात्र वेद पढ्न र बुझ्न सकिन्छ। यहाँ त संस्कृत भाषालाई मृत भन्दै संस्कृत विश्वविद्यालय, संस्कृतका पाठ्यक्रम र पाठ्यपुस्तकहरू जलाउने काम भयो। यतिबेला नासाका वैज्ञानिकहरूले संसारको सबैभन्दा जीवन्त भाषा संस्कृत भाषा भनेर प्रमाणित गरेका छन्।
वर्तमान सन्दर्भमा धर्म निरपेक्षता हटाएर नेपालमा हिन्दू राष्ट्र पुनस्र्थापनाको कुरा गर्दा हिन्दू धर्म विरोधीभन्दा आफूलाई हिन्दू ॐकार परिवार भन्नेहरू नै बढी चुनौतीका रूपमा रहेको पाइन्छ। हिजो भारत मुगलको कब्जामा जानुअघि त्यहाँ धेरै हिन्दू राजा थिए। नेपालमा चाहने हो भने हिन्दूहरूसँग सबैथोक छ– विद्या, धन र बल सबै छ तर एकता छैन। बिना एकता ठूलो लक्ष्य हासिल गर्न सकिँदैन। हिन्दूका नाममा अनेक संस्था छन्। अन्तर्राष्ट्रिय दाबी गर्ने विश्व हिन्दू महासंघ छ। त्यसो त हिन्दू संस्थाहरू विभाजित छन् तर राष्ट्ररक्षा र धर्मरक्षाको ठूलो सोच हुनुपर्छ।
स्वार्थ, अहंकार, पद प्रतिष्ठा देखाएर चर्चामा आउने, अरूभन्दा आफू ठूलो आदि यस्तै सोचबाट सबै मुक्त हुन सकेमात्र हिन्दू धर्मावलम्बी एक हुनसक्छन्। हरेक हिसाबले योग्य धर्मगुरु र धार्मिक अभियन्ताको भने अझै खाँचो छ। किनकि स्वार्थी, संकीर्ण सोचले कोही कही पनि महान् बन्न सक्दैनन्। दुर्भाग्य, महान् हुने सपना बोक्ने तर प्रतिशोधी, इष्र्यालु, घमण्डी मनोभावमा रमाउनेहरू नै यस संसारमा धेरै भेटिन्छन्। हिन्दू धर्मावलम्बी सबै सफा मनले दृढ संकल्प लिएर अघि बढ्नुपर्ने आजको आवश्यकता हो। नेपाल संसारको एकमात्र आध्यात्मिक सनातन हिन्दू गुरु राष्ट्र हो र हुनेछ। यसअर्थमा नेपाल संसारभरका धर्मानुरागीहरूको आकर्षणको केन्द्र बिन्दु बन्ने छ।