भारतको पटाका कारखाना विस्फोट, ११ जनाको मृत्यु
नयाँदिल्ली : भारतमा मङ्गलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य १७४ जना घाइते भएका छन् ।
भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ। घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स र सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, 'मानिसहरूको मृत्युले म दुःखी छु ।' उनले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने बताए।
कारखानामा दुई सयदेखि तीन सय मानिस काम गर्थे तर विस्फोटको समयमा कारखानाभित्र कति मानिस थिए भन्ने थाहा भएको छैन । विस्फोट भएको परिसर वरपर कम्तीमा १० भवन विस्फोटको तीव्रताका कारण क्षतिग्रस्त भएका छन् ।
मृतकहरूमा आगलागीबाट बच्ने क्रममा हडबडाहटले भाग्दा कुल्चिएर मर्नेहरू पनि रहेको एक प्रहरीले टाइम्स अफ इन्डियालाई बताएका छन् । 'विस्फोटपछि भागदौडका क्रममा केही मानिसको मृत्यु भएको छ', स्थानीय प्रहरी अधिकारी अब्दुल रइस खानले अखबारलाई भने ।
भारतमा पटाका कारखानामा प्राय विस्फोट भइरहन्छन् । विशेषरूपमा हिन्दूहरूको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ । यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरू पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् ।
सन् २०१९ मा पञ्जाब राज्यको बटालामा एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । सोही वर्ष उत्तर प्रदेशको भदोहीमा अन्य १० जना मारिएका थिए ।