नदीबाट नियन्त्रणमा लिइएका १९ वटा सवारीसाधनलाई ६ लाख बढी जरिवाना
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको तीन वटा नदीबाट नियन्त्रणमा लिइएका १९ वटा सवारीसाधनलाई ६ लाख ९ हजार जरिवाना गरिएको छ। नदीजन्य पदार्थ अनुगमन जिल्ला स्तरीय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
नदीजन्य पदार्थ अनुगमन जिल्ला स्तरीय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख खगराज भुषालले प्रदेश सरकारको आर्थिक ऐनको अनूसुची ४ बमोजिम जरिवाना गर्ने निर्णय गरेको बताए।
उक्त ऐन अनुसार ट्याक्टरबाट ३ हजार, टिप्परबाट ३० हजार, जेसिबी र एक्जाभेटरबाट ५० हजार जरिवाना लिने ब्यवस्था गरिएको छ। समितिले आइतबार गोदावरी नगरपालिकाभित्रका गोदावरी, खुटीया र खैराना खोलाबाट ६ वटा जेसिबी र एक्जाभेटर, १० वटा टिप्पर र तीन वटा ट्याक्टर नियन्त्रणा लिएको थियो।