निगमलाई भाडामा विमान, सधैं घाटाको व्यापार
घाटाको व्यापारलाई बुझाउन एउटा उखान छ– ‘चामलसँग पिठो साट्ने ।’ नेपाल वायुसेवा निगम यही उक्ति चरितार्थ गर्न उद्यत् देखिएको छ । न्यारोबडी जहाज बिग्रेको छ । छिटो बनाउनेतिर ध्यान छैन । जसकारण दुई महिनामा ६० करोड घाटा लागिसक्यो । फेरि ऊ अर्काे जहाज भाडामा लिने ध्याउन्नमा छ । यसलाई निगममा सधैं हुँदै आइरहेको कमिसनको खेलसँग जोडेर चर्चा गर्न हुन थालेको छ । नहोस् पनि किन ? आफ्ना जहाज ग्राउन्डेड (भूमिस्थ) हुँदा त्यसलाई सुचारु गर्नभन्दा नयाँतिर नजर लगाइहाल्ने जो भइरहेको छ । भएका जहाज ग्राउन्डेड हुँदै गएर भइरहेको घाटाले निगम नै ग्राउन्डेड हुने जोखिम उस्तै तीव्र गतिमा छ ।
५० अर्ब घाटा व्यहोर्दै त्यसको १० प्रतिशतको ब्याज तिरिरहेको निगमलाई उठाउन भएका जहाजको सेवा चुस्त बनाउनु र बजार विस्तार गर्नु नै उत्तम उपाय हो । विज्ञहरूले र पटकपटक गठन भएका अध्ययन समितिको राय पनि यही छ । तर, निगमले भइरहेकै गन्तव्यमा सकिने जति उडान पनि गर्न भ्याएको छैन, नयाँ गन्तव्य त परै । विज्ञले जहाज थप्न पनि नसुझाएका हैनन् । तर, त्यसभन्दा अघि गर्नुपर्ने कामचाहिँ निगमको व्यवस्थापनमा सुधार हो । कमजोर व्यवस्थापनकै बीच जहाज थप्ने हो भने ती पनि ग्राउन्डेडै हुने निश्चित हुन्छ । निगमले राज्यलाई ऋणको बोझ थप्ने पनि निश्चितै हुन्छ ।
सामान्य व्यापार व्यवसाय गर्न त योजना चाहिन्छ । अर्बाैं लगानीको निगममा भने न गतिलो व्यापारिक योजना हुन्छ, न रणनीति नै । हचुवाकै भरमा जहाज मात्रै थप्दैमा निगम उँभो लाग्दैन । भएकै दुई न्यारोबडी जहाजको १८ घण्टा अन्तर्राष्ट्रिय उडानको क्षमतालाई १० घण्टामा खुम्च्याइरहेको छ निगम व्यवस्थापनले । अनि त्यही व्यवस्थापनले थप जहाज भाडामा ल्याएर प्रशस्त उडान गर्ला, आम्दानी बढाउला भनेर पत्याइहाल्न सकिन्न ।
जहाज प्राविधिक साधन हो, बिग्रन्छ । तर, बेलामा नबनाउनु चाहिँ कमजोरी मात्रै होइन गल्ती हो । अरू गल्ती, कमजोरी पनि होलान् । तर मुख्य कुरा एउटै गल्ती बारम्बार भइरहनु हो । निगममा त्यसरी भइरहेको गल्ती के हो भने जहाज भाडामा लिने अनि घाटा खाने । धमिजादेखि लाउडा हुँदै चेज एयर र चाइना साउथवेस्ट प्रकरण जहाज भाडामा लिने, कमिसन खाने र निगमलाई खाल्डामा हाल्ने प्रस्ट उदाहरण हुन् । अनि फेरि जहाज भाडामा लिन जुन सूचना जारी भएको छ त्यसबाट फेरि अर्काे गल्ती नहुने ग्यारेन्टी के छ ?