बसाइँसराइको चरित्र र चित्र
पानी ओरालो बगे झैं मानिसचाहिँ अवसरतिर बग्छ । अवसर भनेकै सहरकेन्द्रित छ, त्यसैले गाउँबाट सहरतिर मानिसको ओइरो लागिरहेको छ । बसाइँसराइ मानिसको चरित्र हुँदैनथ्यो भने न गाउँ बन्थ्यो, न सहर । बसाइँसराइ आफैंमा स्वाभाविक प्रक्रिया हो । बसाइँसराइका लागि धकेल्ने र तान्ने तŒव चाहिँ हुन्छ । अझ यस सन्दर्भमा नेपाली समाजका डा. हर्क गुरुङ चाहिँ तान्ने र धकेल्ने तŒवमात्रै बसाइँसराइको कारण मान्दैनन् । उनी त भित्तामा ठोकिएको काँटी नहल्लिएसम्म चुम्बकले तानेर नतानिने बताउँछन् । अहिले नेपाली समाज त्यही भित्ताको काँटी जसरी हल्लिएको पनि छ र अवसर अनि सुखसुविधाका वैदेशिक अवसरले तानिरहेको छ । सहरी आकर्षणले डाकिरहेको छ । सामाजिक मनोविज्ञानले आन्तरिक वा वैदेशिक बसाइँसराइका निम्ति धकेल्ने वातावरण बनाइरहेको छ ।
२ करोड ९१ लाख नेपालीमध्ये २१ लाख त विदेश छन् । पछिल्लो जनगणनाअनुसार २२ लाख जनाले आन्तरिक बसाइँसराइ गरेका छन् । पालिकाभित्रै पनि एक ठाउँबाट अर्काे ठाउँमा बसाइँ सर्नेहरूसमेत गर्दा ९३ लाखभन्दा बढी नेपालीले थाँतथलो छोडेको देखिन्छ । पढाइ, लेखाइ, शिक्षा, स्वास्थ्य, रोजगारीसँगसँगै प्राकृतिक विपद्लगायत कारण बसाइँसराइ भइरहेको छ । २०६८ सालको जनगणनाले १७ प्रतिशत नेपाली सहरमा बसिरहेको देखाएको थियो । २०७३ सालमा जसै गाउँहरू पनि धमाधम नगरपालिका घोषणा भए, सहरमा धेरै जनसंख्या बसेको देखियो । घोषित नगरपालिकाहरूमा सहरीकरणको रफ्तार पनि तीव्र नै छ ।
बसाइँसराइले अवसरमात्रै दिलाउँदैन । जनसांख्यिक सन्तुलन पनि फेदबदल गर्छ । नेपालको तराई भागमा बसाइँसराइले जनघनत्व बढाएको छ । खेतीयोग्य जमिन मासिँदै गएको छ । गाउँबाट सहर पसेकाहरू पनि सहरमै टिकेका छैनन् । विदेश भासिएका छन् । देशमै रोजगारी, गाउँठाउँमा शिक्षा, स्वास्थ्यका सुविधा हुने हो भने बसाइँसराइ कम हुन्थ्यो । देशभित्रै इलम धन्दा गर्ने वा रोजगारी पाउने वातावरण भए पौरखी युवा विदेसिँदैनथे । सरकार बसाइँसराइका सन्दर्भमा सोच्नुपर्ने र सोहीअनुसार योजना बनाएर कार्यान्वयन गर्नुपर्ने कुरा चाहिँ त्यो हो । गाउँबाट सहर र सहरबाट पनि विदेश बसाइँसराइ भइरहन दिने हो भने देशमा ऊर्जाशील जनशक्तिको अभाव हुन्छ र विकास र समृद्धि हासिल हुन सक्दैन ।