सकारात्मक आयतनका कविता

सकारात्मक आयतनका कविता

कविता साहित्यको एक सशक्त विधा हो। कविता कला र भावसँग जोडिन सके प्रभावकारी हुन सक्छ। जति कविता लेख्न सजिलो हुन्छ, उत्तिकै लेख्न कठिन हुन्छ शक्तिशाली र सुन्दर कविता। डा. अनन्त अधिकारी वरिष्ठ मनोचिकित्सक हुन्। उनको कवि मन ‘सर्वाइवल नोट’मार्फत शक्तिशाली र सुन्दर कविता सिर्जनामा पोखिएको छ।आफ्नै जिन्दगीका वरिपरि घुमेका कविता पढेको भान हुन्छ। आफैंले भोगेका जीवनका कथाहरूका पाना पल्टाएजस्तो पाठकले अनुभूति गर्न सक्छन्। कविताले पाठक मनलाई सम्मोहित गराउँछन्। मनोचिकित्सकको रूपमा दैनिक बिरामीसँग साक्षात्कार हुनुपर्दाका अनेकानेक भोगाइ कविताहरूमा पोखिएका हुन्। सबै कविताका अन्तर्बस्तु यही समाजका उपज लाग्छन्।

विषयगत विविधा रहेका ४१ कविता समावेश गरिएको प्रस्तुत पुस्तकमा समकालीन प्रवृत्ति अभिव्यञ्जित कविता छन्। तथ्यको टेको लगाएर उभिएका प्रायः कविता यथार्थवादी नदीमा प्रवाहित भएर सलल बगेका देखिन्छन्। वर्तमान विषम परिस्थितिको उपज लाग्छन् कविता। निराशाभित्र छिरेर आशाको सञ्चार जागृत गराउँछन्। कवि मान्छेमा उत्साहको दियो जलाउँछन्। मान्छेलाई जोगाउन उत्प्रेरणाको स्रोत बन्छन्। मान्छेले वर्तमान युगमा भोगेको विसंगत र विकृतपूर्ण दैनिकी, अभाव, पीडा र छटपटीबाट त्राण दिन ऊर्जा भर्न सक्ने सामाथ्र्य बोकेका कविता छन्। जसले सकारात्मक वैचारिक भाव अभिव्यक्त गराई निराश मनहरूमा मल्हमपट्टी लगाउँछन्। कविता निराश, पीडाको बिरामी परेकाका निम्ति दबाई हुन्।

डा. अनन्तले यस्ता बिरामीहरूलाई प्रेस्किप्सनको रूपमा कविता सुझाएका छन्। यस्ता बिरामीका चित्कारहरू कविताहरूमा परेका छन्। डाक्टरको कविमन तिनीहरूलाई देखेर चिथोरिन्छ, छट्पटिन्छ अनि कवितामार्फत पोखिन्छ।

जीवन सकिएपछि सकिन बाँकी अर्काे 
जिन्दगी हुँदैन
बित्थामा लेखिनु हुँदैन सुसाइड नोट
खानु हुँदैन हरेशको हेमलक
निम्त्याउनु हुँदैन कायर अवशान... 
(सर्वाइवल नोट)

चाल्र्स डार्विनद्वारा प्रतिपादित सिद्धान्त सर्बाइवल अफ द फिटेस्टकै लयमा लेखिएको सर्बाइवल नोट मानिसलाई जिन्दगीको मोह जगाउने, जीवनमा थाकेर निराश हुनेहरूको मनोदशालाई सकारात्मक मनोपरामर्श दिने, बाँच्नुको महŒवबोध गराउने सकारात्मक भावको सन्देश सम्प्रेषण गर्ने कविता हो। यो जिन्दगी जिउन प्रेरित गर्ने कविता हो। मनोचिकित्सकले मानिसमा आउने डिप्रेसन र यसले निम्त्याउने आत्महत्यालाई निरुत्साहित गर्न शब्दरूपी औषधि यस कवितामा सिफारिस गरेका छन्। मान्छेले समय र परिस्थिति अनुरूप चलेर आइपर्ने सबै खाले अप्ठ्यारा क्षणहरू सामना गर्नुमा जिन्दगीको अनुपम आनन्द निहित रहेकोतर्फ सकारात्मक सन्देश प्रवाह गर्ने यो कृतिको शीर्षक कविता असाध्यै बलशाली छ।

भावनाको उत्ताल तरंगमा कहिलेकाहीँ कवि बहकिन्छन् र प्रेमिल कविता पनि लेख्छन्। ह्रदयको गहिराइबाट उम्लिएको विवेकयुक्त मायाका भावध्वनिहरू प्रतिध्वनित भएका छन्। प्रेमको विशालता नाप्न गाह्रो हुने कुरामा सहमत हुने उनी प्रेममै जिन्दगी भएको धारणा राख्छन्। यस्ता कवितामा ‘पुनर्लेखन’, ‘अन्तिम मनको नोट अफ डिसेन्ट’, ‘एउटा प्रेमकथा’, ‘मन आख्यान’, ‘अनुरोध मानसरोवरसँग’, ‘चुनहुवा मलाई प्रेम नगर’जस्ता कविता छन्। जसमार्फत प्रेमले मान्छेको जिन्दगी सहज हुने हुँदा सबैले सबैलाई प्रेम गर्नुपर्छ, प्रेमले नै जीवन र संसार चल्छ भन्नेमा जोड दिइएको छ।

संग्रहमा समसामयिक युगीन यथार्थ चेतले भरिएका कविता अत्यन्तै बलशाली छन्। ‘एउटा पथिकको आशावादी कथा’, ‘सुस्केरा र सुस्केराहरू’, ‘आमाहरूको दैनिकी’, काठमाडौं ककोफोनी, ‘भोलारामको कविता’, ‘कविता अन्तर्य’जस्ता कविताले समसामयिक परिवेशको यथार्थ ओकलेका छन्। युगीन चेतले ओतप्रोत कविताहरूले जीवन र जगत्को वास्तविक अवस्थालाई उजागार गरेका छन्। आममान्छेले यो समयमा भोग्नुपरेका यावत् पीडा कविले बोलेका छन्। मानवीय संवेदनाको प्रकटीकरण भएको छ।

‘गने अर्थात् गणबहादुर’मा पाठकले भुइँमान्छे पाउँछ। गरिब मान्छेका सपनासमेत तुहाउने वर्तमान परिवेशको उजागर गरिएको यहाँ आफ्ना हड्डीहरू रिक्साको चक्काभन्दा बढी घोट्दा पनि एक छाक लाउन र आङ न्यानो पार्न नसकेको आम सर्वसाधारणका दैनिकीको कथा लाग्छ कविता। ‘पुनर्लेखन’, ‘एउटा स्थानीय मुगाबे संस्करण’, ‘गनगने लोग्नेको श्रीपेच’, ‘सुस्केरा र सुस्केराहरू’, ‘आमाहरूको दैनिकी’, ‘कविता अन्तर्य’ आदि कविता राजनीति र समाजसँग जोडिएका छन्। यिनमा रहेका बेलगाम बेथितिप्रति लक्षित भएर लेखिएका कविता पनि छन्। भावुक कविलाई समाजको मनोदशाले दुःखाउँछ र शिष्ट, सरल भावमा उनी आक्रोश पोख्छन्। आममान्छेलाई युगको यो दुर्दशाप्रति विद्रोह गर्न आग्रह गर्छन्। संघर्ष गर्न आँट भर्छन्। जीवन र जगत्सँग बोधगम्य कविताहरू बेजोड र पठनीय लाग्छन्।

वाक्य विन्यासको राम्रो समन्वय भएका कविताहरूले भरिएको कृति हो, सर्वाइवल नोट। सुखद बिम्ब विविधाहरूको प्रयोग, सकारात्मक सोच प्रयुक्त शब्दावलीहरू, जीवनवादी दृष्टिकोण, शिल्पशैलीमा विविधता, शब्द र वाक्य विन्यासको राम्रो समन्वय आदि संग्रहका विशेषता हुन्। कोमल भावमा बौद्धिकता झल्केका कविताहरूले भरिएको कृतिका कविताहरू प्रगतिवादी चेतमा वगेका छन्। बिम्ब, प्रतीकको सटिक प्रयोग गरिएको छ। कविताहरू सकारात्मक भाव र चिन्तनले भरिभराउ छन्। क्लिष्टताको रत्तिभर प्रयोग छैन। भावमा बडो गम्भीरता छ।

समयका बेथितिप्रतिको गम्भीर चिन्ता, चासो र सकारात्मक सम्पे्रषण कविताका विशेषता लाग्छन्। निराशा, कुण्ठा र पलायनताभन्दा विपरीत आशावादिता, सकारात्मकता र जीवनप्रतिको मोहमा लाग्न प्रेरित गर्ने कविता छन्। भाव अभिव्यक्तिका दृष्टिले डा. अधिकारीका कविता अत्यन्तै बलशाली, सन्देशप्रदायक, सक्षम र सबल लाग्छन्। यसमा व्यापक कलात्मक अभिव्यक्ति पनि पाइन्छन्। विचारप्रधान कविताहरूमा विभिन्न बिम्ब, प्रतीकहरूको सही प्रयोग छ। यस हिसाबले कविता सरल र सम्प्रेष्य नै लाग्छन्। कविले प्रगतिशील चेतनालाई आत्मसात् गरेका छन्। शीर्षकहरू कवितालाई अथ्र्याउन सक्षम देखिन्छन्। भाव विचारको आधारमा पनि कविता सुन्दर लाग्छन्। कविताको आशय प्रष्ट्याउन कोरिएका चित्रहरू पनि सान्दर्भिक छन्।

शीर्षक कवितालगायतका कवितामा आगन्तुक शब्द प्रयोग भएका छन्। सुखदुःखलाई जिन्दगीको दुई किनाराको रूपमा लिनुपर्ने बताउने कवि दुःखबाट डराएर नभाग्न आग्रह गर्छन्। मान्छेका मनभित्र खेलिरहेर स्थान बनाउन पुगेका मनोदशाहरूका कारण मान्छे दुःखी हुने हुनाले यसबाट विचलित र निराश नहुन सुझाउँछन्। सकारात्मक सोचले मान्छेलाई बाँच्न औषधिको काम कविताले गर्न सक्छ। मान्छेलाई बाँच्ने जीजिविषा पाल्न सिकाउने कविताहरू परेका छन्। सर्बाइवल नोट एउटा मनोचिकित्सकको कार्यक्षेत्रमा आफ्ना अनुभूतिहरूले लछप्पै भएका कविताहरूको फेहरिस्त लाग्छ।

सर्वाइवल नोट सर्वजनहितायको सन्देश प्रवाह गर्ने कविता संग्रह हो। यसले यथार्थपरक धारणा, भाव र विचारलाई सम्प्रेषण गरेको छ। मान्छेको मनलाई डिप्रेसनबाट रूपान्तरण गरेर आशावादिताको भावना जगाएको छ। कथ्य र शिल्पको सही मिसावटले कविताहरू सुन्दर बनेका छन्। वरिष्ठ मनोचिकित्सक कवि डा. अनन्त अधिकारीलाई जीवनप्रतिको सकारात्मक आयतन बोकेका कविताहरूको पठनीय कृति सर्वाइवल नोटका निम्ति हार्दिक बधाई !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.