नेपाली भाषा गुमायौं भने इतिहास पनि गुम्छ

नेपाली भाषा गुमायौं भने इतिहास पनि गुम्छ

करिब एक लाख भुटानी सन् १९९० को दशकमा आफ्नो देशबाट लखेटिए।  उनीहरू झन्डै दुई दशक नेपालमा शरणार्थीका रूपमा बस्न बाध्य भए।

भुटानबाट लखेटिनुको एउटा प्रमुख कारण भाषा, साहित्य र संस्कृतिमा आफ्नो पहिचानप्रतिको अडान थियो। भुटानले जोङ्खा भाषा बोल्नुपर्ने बाध्यता सिर्जना गर्‍यो। उनीहरू नेपाली भाषा, साहित्यलाई नै जीवनभन्दा प्यारो ठान्थे। त्यो परिस्थितिमा बरु देश छाड्न तयार भए तर भाषा, साहित्य भने छाडेनन्।

नेपालबाट तेस्रो मुलुकमा पुनर्वास गर्ने क्रममा उनीहरूको प्रमुख चिन्ता बन्यो– पुनः यो भाषा, साहित्य र संस्कृति नासिने हो कि ? यसलाई कसरी बचाउने ? त्यही चिन्ताको परिणामस्वरूप जन्मियो– ग्लोबल भुटनिज लिटेररी एशोसिएसन (जीबीएलओ)। झन्डै एक दशक डेन्जोम साङपाङले यसको नेतृत्व गरे। त्यसपछिका दुई कार्यकाल नेतृत्वमा छन्– कर्ण गुरुङ। जो नेपाली साहित्य, संस्कृतिको विश्वव्यापीकरणमा लागेका छन्। संसारभरिका नेपाली एक ठाउँ हुने हो भने कसैले हेप्न सक्दैनन् भन्ने उनको मान्यता छ। उनी नेपाल सरकारबाट नेप्लिज ओरिजिन पिपुल अर्थात् एनओपी मान्यता हुनुपर्ने अवधारणा राख्छन्। उनै कर्ण गुरुङसँग अन्नपूर्ण पोस्ट्का अखण्ड भण्डारीले गरेको कुराकानी।


जीबीएलओ अर्थात् ग्लोबल भुटनिज लिटररी अर्गनाइजेसनको खास पृष्ठभूमि के हो ?

नेपालमा शरणार्थी जीवन बिताइरहेका हामी भुटानी समुदायको जतिखेर पुनर्वासको कुरा आयो र केही व्यक्ति पुनर्वासित हुन पनि थाले, त्यही क्षण विश्वभर रहेका भुटानी समुदायलाई साहित्यको डोरीले बाँध्ने आवश्यकता महसुस भयो। त्यही परिवेशमा यो जन्मियो।

त्यही समय किन ? संयोग कि कुनै कारण ?

हामी करिब डेढ दशक राष्ट्रियताविहीन भएर नेपालमा बसिरहेका थियौं। अब हाम्रो भाषा, साहित्य र पहिचान हराउने रहेछ भनेर चिन्तित भयौं। त्यसक्रममा डेन्जोम साङपाङ, शिवलाल दाहाल, मलगायत केही मिलेर बृहत् कुराकानी गर्‍यौं। यस्तो संस्थाको आवश्यकता बोध गर्‍यौं।

चिन्तित हुनुपर्ने कारण के थियो ? 

सन् २००३ मा जब अमेरिकाले चासो राख्यो, नेपालमा कुरा गर्न प्रतिनिधि पठायो। त्यहाँबाट आएका प्रतिनिधिले नेपाल, भारत र भुटानमा लबिइङ गरे, हामी चासो राख्नेलाई अब चाहिँ पुनर्वास हुन्छ भन्ने लगभग थाहा भइसकेको थियो। त्यो प्रक्रिया अघि बढिरहेको बुझिरहेका थियौं। सन् २००६–००७ तिर पुग्दा अब पुनर्वासलाई कसैले रोकेर पनि रोकिन्न भन्नेमा चिन्तित भइसकेका थियौं। २००८ बाट पुनर्वास नै सुरु भयो। सबैभन्दा ठूलो चिन्ता अब हामीलाई भाषाको थियो। यसलाई गहनतापूर्वक लिँदै सघन छलफल सुरु गर्‍यौं।

भाषाको चिन्ता किन ?

हामी भुटानबाट लखेटिनुको मुख्य कारण हाम्रो भाषाप्रेम थियो। भाषा, साहित्य, संस्कार, संस्कृति र भेषभूषाकै कारण त्यतिखेर नहुनुपर्ने कुरा भएको थियो। आवाज उठाउनु, आन्दोलन हुनु र हामीलाई जन्मभूमिबाट खेदाइनुको कारण त्यही थियो। त्यही भएर पुनर्वासले जीविकाको समस्या समाधान गरे पनि हाम्रो भावना र अस्मितामा थप आघात पुर्‍याउने हो कि भन्ने चिन्ता थियो।

अर्थात्, पुनर्वास चाहनु हुन्नथियो ?

भुटानले यी नेपाली नै हुन् भनेर लखेटेर नेपालतिर पठाइदियो। नेपालले यी नेपाली होइनन् भनेर स्वीकारेन। हामी त पुर्खाको देशमा आएका थियौं। नेपालले भने यिनीहरू भुटानमा जन्मिएका, भुटानबाट आएका, भुटानी नागरिक भन्ने ठान्यो। राजनीतिक प्रणालीको दायरामा राख्यो। ठीकै छ, हाम्रै सन्तान हुन्, आए भनिदिने अपेक्षा गरेका थियौं।

सुकुमबासी पहिचानको वा कुनै नागरिकता वा स्टाटस दिन्छु भन्दा हुन्थ्यो नि। तर, त्यो केही भएन। नेपाली सन्तान भएर पनि नेपालमै शरणार्थीका रूपमा लामो समयसम्म राष्ट्रियताविहीन भइरह्यौं। आइडिन्टिटी क्राइसिस (पहिचानको संकट) मा बाँच्यौं। १७–१८ वर्ष हामीले दुःखको जीवन बिताउनु पर्‍यो। शरणार्थी एउटा अवस्था वा परिस्थिति वा परिबन्द हो, जसलाई हाम्रा हकमा परिचय बनाइयो। पौरख गर्ने समय खेरै गयो। अन्ततः पुनर्वास नै हाम्रो बाध्यता थियो।

पुनर्वासकै अवस्था कसरी आइपुग्यो ? 

हामीसँग तीनवटा अप्सन (छनोट) थिए– १. पुनर्वास २. नेपालमै समाहित र ३. भुटान फिर्ती। भुटान फिर्तीका लागि भुटानले मान्नु पर्‍यो। त्यो असम्भव थियो, अहिलेसम्मै असम्भव छ। नेपालमा समाहित गर्न जुन सम्भव थियो, तर सुरु नै गरिएन। सरकार फेरिइरहे, वास्ता पुगेन। जहाँसम्म पुनर्वासको कुरा छ, यसमा गैरसरकारी संस्था (एनजीओ) हरू अग्रसर भए। तिनले तदारूकतासाथ काम गरे र त्यो सम्भव भयो।

जीबीएलओको अवधारणा पुनर्वासभन्दा पहिलाको हो कि पछिको ?

पहिलाकै हो। दुईटा अप्सन नखोलेर तेस्रो अर्थात् पुनर्वासको सक्रियता बढेपछि वास्तवमै चिन्तित भयौं। अब चाहिँ हामी नेपाली जातिको भाषा, साहित्य, संस्कृति, रीतिथिति, परम्परा संकटमा पर्ने भयो भन्ने भयो। अघि नै पनि मैले भनें– त्यही कारण हामी यस्तो संस्थाको परिकल्पनामा पुग्यौं। र, विश्वव्यापी सञ्जाल बनाउने निधो गर्‍यौं। यसको एउटै प्रमुख ध्येय थियो– हामी कथंकदाचित पुनर्वासमा विभिन्न देश पुगे पनि भाषा–साहित्यको डोरीले बाँधिइरह्यौं।

अनि के भयो ?

म २००९ फेब्रुअरीमा अमेरिका पुनर्वाससित भएँ। लगत्तै पूर्वसल्लाहबमोजिम काम गर्न थालें। पहिला पुनर्वास भएका साथीहरूसँग सम्पर्क बाक्लो बनाएँ। म जाने–जाने बेलामा २००९ मा हामीले ग्लोबल भुटनिज लिटरेचर अर्गनाइजेस नाममा संस्था जन्मायौं (पछि लिटरेचरलाई लिटररी बनायौं)। डेन्जोम दाजु (डेन्जोम साम्पाङ राई) को नेतृत्वमा त्यसको तदर्थ समिति बनायौं। जय बान्तवा सरको यसमा प्रमुख भूमिका छ। उहाँको सल्लाह, सुझाव र हौसलाकै कारण यो संस्था यहाँसम्म आइपुगेको छ।

उसबेला विश्वभर पुगेका र नेपालमै शरणार्थी शिविरमा बसिरहेका साहित्यप्रेमीबीच सम्पर्क/समन्वय कसरी हुन्थ्यो ? 

तदर्थ समितिका अध्यक्ष डेन्जोम दाजु र धेरै साथीहरू पूर्वी नेपालका शिविरमै हुनुहुन्थ्यो। संसारभरि कहाँ पुगे भनेर हामी साथीहरूको खोजीमा थियौं। एउटा उदाहरण– म भुटनिज लिटरेचर नाममा अनलाइन चलाउँथे। गुगल सर्च गर्दा रमेश गौतमले त्यही नामको वर्डप्रेस ब्लग चलाउनु हुँदोरहेछ। उहाँ पुनर्वास भई नर्वे पुग्नुभएको थियो। हाम्रो चिनजान थिएन। यसैले जोड्यो। यसरी नै हामीले खोज्दै, जोड्दै, थप्दै गयौं।

संस्थाले गति कसरी पायो ? 

तदर्थ समिति बनाइयो, तर त्यसैलाई पनि पूर्णता दिइएको थिएन। सन् २०११ मा पूर्णता दियौं। डेन्जोम दाजु बेलडाँगी शिविरमा हुनुहुन्थ्यो। उहाँले जीबीएलओमार्फत शिविर–शिविरमा कार्यक्रम राख्ने, तालिम दिनेजस्ता काम गर्नुभयो।

सन् २०१२ मा खुदुनाबारी शिविरमा पहिलो ‘ग्रान्ड इन्टरनेसन क्रिटिक्स सेरोमनी’ आयोजना गर्‍यौं। नेपाल, भारत र भुटानका दिग्गजहरूको त्यसमा सहभागिता थियो। त्यसले शिविरभित्र र बाहिर साहित्यिक, भाषिक जागरण मजबुत बनाउन मद्दत पुर्‍यायो। 

यसको गतिविधि नेपालभन्दा बाहिर कहिले, कसरी निस्कियो ?

nullसन् २०१४ मा दोस्रो ‘ग्रान्ड इन्टरनेसन क्रिटिक्स सेरोमनी’ अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा आयोजना गर्‍यौं। सातवटा हलमा तीन दिनसम्म भव्य कार्यक्रम गरिएको थियो। तीन सयको सहभागिता थियो। त्यतिन्जेलसम्म हामीले संस्थाका नामबाट केही पुस्तक प्रकाशन 
गरिसकेका थियौं। मेरै पहिलो कविता संग्रह ‘बुद्धिको बिर्को’ त्यही वर्ष प्रकाशन गरेको थिएँ। 

यस्ता बृहत् कार्यक्रमको उपादेयता के देख्नुभयो ?
त्यो कार्यक्रमले संसारभरि भुटानी नेपाली साहित्यको माहोल सिर्जना गर्‍यो। खासमा तहल्कै मच्चाइदियो। त्यसबाट फर्किएपछि साथीहरूले सिर्जना लेख्ने, ब्लग, च्यानल र अनलाइन चलाउनेजस्ता काम बाक्लो रूपमा गर्न थाल्नुभयो।

साहित्यको ब्रान्डिङमा पनि कुनै सहयोग गर्‍यो कि ?
अवश्य गर्‍यो। त्यसअघि साहित्यकारहरूका लुम्रेझुम्रे आवृत्ति झलक्क आउँथ्यो। तस्बिर र बिम्बमा त्यस्तै देखाइन्थ्यो। हामीले त्यो मनोवृत्तिलाई बदल्यौं। साहित्यकार पनि कलाकार, गायकजस्तै पोस्टरमा निकाल्ने, सेलिब्रेटीजस्तो बनाउने र हाइलाइट गर्ने अवस्थाको सिर्जना हामीले गरायौं। साहित्यमा पनि स्कोप छ है भनेर साबित गरायौं। युवालाई अभिप्रेरित गर्‍यौं। हाम्रा लेखन डिजिटलाइज्ड हुनुपर्छ भन्ने हामीले अर्को लक्ष्य राखेका थियौं।

क्रिटिक्स सेरेमनी नियमित गरिरहनुभयो ? 

जीबीएलओ अध्यक्ष डेम्जोम दाजु सन् २०१५ मा पुनर्वाससित हुनुभयो। सन् २०१६ मा अमेरिकाकै टेक्सस राज्यमा हामीले यसको तेस्रो शृंखला आयोजना गर्‍यौं। त्यो पनि भव्य भयो।

विश्वभर रहेका भुटानी समुदायलाई संगठित गर्न साहित्यकै बाटो चाहिँ किन रोज्नुभयो ? 
आवाज उठाउने शक्तिशाली माध्यम कलम हो। चिन्तन गर्ने र आवाज उठाउन सक्ने समुदाय यसमा अटाउने भएकाले साहित्यको बाटो रोजिएको हो। आन्दोलन गरेर भएन। अतः कलमको आन्दोलन गरिएको हो।

तपाईंहरूको पुस्ता (जो अहिले जीबीएलओमा आबद्ध छ) सानैमा भुटानबाट लखेटिनुभयो। नेपालमा आएर शरणार्थी जीवन बिताउनुभयो। पढ्न, लेख्न, साहित्यिक निखार ल्याउन वातावरण थिएन। तैपनि यति सशक्त हुन सक्नुभयो। त्यो दुःखमा पनि यो सफलता कसरी सम्भव भयो ? 

जब हामी शरणार्थी बन्यौं, आशाको दियो भनेको शिक्षामात्र थियो। शिविरमा हाम्रो अघिल्लो पुस्ता हाम्रा गुरुहरू अंग्रेजीमा अगाडि हुुनुहुन्थ्यो। किनकि, भुटानमा अंग्रेजीमै पढाइ हुन्थ्यो। शिविरमा नेपाली गुरुजीहरू पनि हुनुहुन्थ्यो। भुटानमा अलंकार गुठी, नेपाली भाषा परिषद् भुटानजस्ता संस्था थिए। जसको प्रमुख भूमिकामा डेन्जोम दाजुको बुवा लगजित राई हुनुहुन्थ्यो।

उहाँले नेपाली भाषा–साहित्यका प्रशिक्षक ल्याएर शिविरमै कक्षाहरू चलाउने प्रबन्ध मिलाउनुभयो। त्यसलाई अघि बढाउन गंगाराम लामिटारे सरलगायत थुप्रै गुरुको ठूलो हात रह्यो। शिविर भए पनि त्यहाँ नेपाली भाषाका शिक्षक–प्रशिक्षक धेरैभन्दा धेरै जन्माउने सिलसिला चल्यो।

भुटानबाट विस्थापित हुँदा तपाईं कति वर्षको हुनुहुन्थ्यो ? 

म जम्मा सात वर्षको थिएँ। नेपाल आएर शिविरमै पढेको हुँ। नौदेखि भने भारत गएर पढें। बुवा समाजको अध्यक्ष हुनुहुन्थ्यो। उहाँलाई चिठी लेख्न, पुर्‍याउन सघाउनु पथ्र्यो। त्यसले पनि नेतृत्व विकासको क्षमता बढ्दै गएको थियो।

बुवा पनि साहित्य लेखनमा हुनुुहुन्छ ?

उहाँ ८० वर्ष हुनुभयो, पाँच वटा किताब निकाल्नु भएको छ।

अहिलेसम्म भुटानमै हुनुभएका साथीहरू पनि यस संस्थामा जोडिनु भएको छ ? 

हुनुहुन्छ। त्यहाँको राजनीतिक परिवेश र परिस्थितिका कारण उहाँहरूलाई देखिन र सक्रिय हुन अप्ठ्यारो छ।

विश्वभर रहेका भुटानीमा साहित्य क्षेत्रमा लागेका कति हुनुहुन्छ ? 

संख्या हजार हाराहारी छ। सक्रिय भने करिब २ सय ५० जना छौं होला।

प्रायःले लेख्ने भाषा के हो ?
प्रायः होइन, सबैको साहित्य लेखनको भाषा नेपाली नै हो।

अंग्रेजी नि ?
अलिअलि लेख्न थालेका छन्। तर, अंग्रेजीमा जो जति विज्ञ भए पनि नेपाली साहित्यमै सबै अभ्यस्त छन्। नेपालीमै लेख्दै आएका छन्।

किन नि ?

किनकि, हामी सबै नेपाली हौं। राष्ट्रिय पहिचानले भुटानी हौंला। अमेरिकी हौंला। वा, कुनै अन्य देशको हौंला। जात फरक होला। तर, हामी जाति नेपाली हौं। हामीले नेपाली भाषा गुमायौं भने भाषा मात्रै गुम्दैन। हाम्रा इतिहासदेखि परिचयसम्म गुम्छन्।

तपाईंहरू भुटानमा हुँदा राजनीतिक संक्रमणमा रहनुभयो। जोङ्खा भाषा बोल्न बाध्य गराइँदा र त्यसलाई नमान्दा देश निकाला हुनु पर्‍यो। अहिले फरक–फरक देशमा हुनुहुन्छ। त्यहाँको भाषा फरक हुन्छ। यस्तो अवस्थामा नेपाली भाषालाई जोडतोड गरेर बचाइरहनुको कारण के हो ?

कुनै पनि जाति मास्नु छ भने उसको भाषा मास्नुपर्छ। त्यसका लागि कुनै पनि राजनीतिक प्रणालीले भाषा, संस्कार, संस्कृति, परम्परा आदिमाथि हस्तेक्षप सुरु गर्छन्। र, अन्त्यमा ‘लस्ट हिस्ट्री अफ डाइनोसर’ भनेजस्तै हुन्छ त्यो जाति। भुटानले गर्न खोजेको त्यही हो।

  • विश्वभर ७ देखि ८ करोड नेपाली छन्। तिनलाई एक ठाउँमा ल्याउनुपर्छ। गैरराजनीतिक अधिकारसहित तिनलाई नेपाल सरकारले पहिचान दिने हो भने नेपालीको विश्वमा शक्ति देखिन्छ।
  • नेपाली भाषा, साहित्य र संस्कृति नयाँ पुस्तासम्म जोगाउँदै, प्रयोग गराउँदै लैजान एकदमै ठूलो चुनौती छ।
  • हामी सबै नेपाली हौं। राष्ट्रिय पहिचान कुनै अन्य देशको हौंला। तर हामीले नेपाली भाषा गुमायौं भने भाषा मात्रै गुम्दैन। इतिहास पनि गुम्छ।
  • विश्वभर रहेका भुटानी समुदायलाई संगठित गर्न साहित्यकै बाटो रोज्नुको मूलकारण आवाज उठाउने शत्तिाmशाली माध्यम कलम हो। साहित्यको बाटो सशक्त पनि हुन्छ।

पहिला नेपाली भाषामा पठनपाठन हुन्थ्यो, त्यो सबै मासिदियो। हामीलाई भोटियाकरण गर्न चाह्यो, हामीले दिएनौं। अझै पनि भुटानमा बोलचालको भाषा नेपाली नै छ। त्यहाँको सरकारले नेपाली भाषा रोक्न खोज्यो। बख्खु अनिवार्य गर्‍यो। हामी यस्तो अवस्थामा संघर्ष गरेर बाहिरिएका हौं। हामीलाई जाति बचाउन नेपाली भाषाको महत्वबोध छ।

यस्तो परिस्थिति सामना गर्न कति गाह्रो हुँदो रहेछ ? 

यसैलाई ध्यान दिएर हामीले सन् २००८ तिर स्वीकारोक्ति अभियान प्रादुर्भाव गर्‍यौं। संसारभरि किन अशान्ति भइरहेको भन्दा अस्वीकारोक्तिले हो। जे भइरहेको छ, स्वीकारोक्ति भावको अभावमा हो भन्ने हाम्रो ठम्याइँ रह्यो। यसले के सिकायो÷देखायो भने– समस्या संसारभरि रहेछ। घटी, बढी र फरक–फरक प्रकृति/प्रवृत्तिका समस्या होलान्, तर सबैतिर छन्। उपाय स्वीकारोक्ति नै हो। स्वीकारोक्ति अभियानले सबैलाई समेट्ने रहेछ, विश्वव्यापी रहेछ यो भन्ने निचोडमा हामी पुग्यौं। हाम्रा अभियन्तामा यसले परिणाम पनि दियो। 

स्वीकारोक्ति अभियानलाई आधिकारिकता कहिले दिनुभयो ?

अभ्यास गर्दै गयौं। तर, वैधानिक दर्ता भने सन् २०२२ मा गर्‍यौं। यो समग्र विश्वको सम्पत्ति हो भन्ने हाम्रो मान्यता छ।

यसलाई कसरी विश्वव्यापीकरण गर्दै हुनुहुन्छ ?

स्वीकारोक्ति ग्लोबल टुर, २०२३ भर्खरै सम्पन्न गरेका छौं। त्यो कहाँबाट सुरु गर्ने सबालमा हामीले नेपालीको बाहुल्य खोज्यौं। पूर्वीय दर्शनको प्रादुर्भावस्थल रोज्यौं। पहिलो चेतना घरभित्रबाट जागृत गराउनुपर्छ भन्ने ठान्यौं। र, नेपालबाट सुरु गर्‍यौं। हिमवत् खण्डका नेपालसहित सिक्किम, दार्जिलिङ, असम यसका लागि छनोट गर्‍यौं। ग्लोबल टुरको पहिलो शृंखला भव्यतापूर्वक सम्पन्न भइसक्यो पनि।

यसपछिका योजना ?
अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, मध्यपूर्व त्यसपछि पर्नेछन्। यो निरन्तर रहनेछ र संसारभर पुर्‍याउने लक्ष्य छ। स्वीकारोक्तिमा हामीले दर्शनका साथ थेरापी, ध्यान आदि पनि थप्दै लगेका छौं।

स्वीकारोक्ति र जीबीएलओबीच के सम्बन्ध छ ?
स्वीकारोक्तिमा जीबीएलओको मेरुदण्डका रूपमा साथ सहयोग रहँदै आएको छ। यसलाई उम्रिँदाउम्रिँदै मारिदिने पो हुन् कि भन्ने हेतु जीबीएलओले संरक्षणसमेत गर्छ।

प्रसंग भाषाकै। नेपाली भाषा, साहित्य र संस्कृति नयाँ पुस्तासम्म जोगाउँदै, प्रयोग गराउँदै लैजान चुनौती देख्नु भएको छैन ? 

यो एकदमै ठूलो चुनौतीपूर्ण छ। जीबीएलओको भ्रातृ संगठन ग्लोबल एजुकेसन प्रोग्राम (जीईपी) संस्थामार्फत चार वर्षदेखि हामीले नेपाली भाषा पढाउँदै आएका छौं। कोभिडका कारण अनलाइन कक्षा चलाइएको छ।

हजारभन्दा बढी विद्यार्थी यसमा अध्ययनरत छन्। त्यसका लागि दक्ष शिक्षक व्यवस्था गरेका छौं। यसमा विभिन्न परीक्षा हुन्छन्। प्रमाणपत्रसमेत दिइन्छ। खुसीको कुरा, हप्ताको एक दिन पढाउँदा पनि नानीहरूमा नेपाली बोल्न, लेख्न र संस्कार–संस्कृतिबारे बुझ्न सक्ने क्षमता विकास भएको छ।

के यो निःशुल्क हो ?

सुरुका तीन वर्ष हामीले निःशुल्क गर्‍यौं। अहिले शिक्षकलाई उपलब्ध गराउन वर्षको सय अमेरिकी डलर 
लिने गरेका छौं।

यस्ता अरू केही गर्नु भएको छ कि ?

जीईपीबाटै युट्युब च्यानल ‘नेपाली किड्स टीभी’ सुरु गरेका छौं। गीतसंगीत र प्रशिक्षणसम्बन्धी सामग्री यसमा समावेश गरेका छौं। नानीबाबुले के सिक्न रमाउँछन् भन्ने मनोविज्ञान अध्ययनका आधारमा यसका सामग्री तयार पारेका छौं।

नेपाली साहित्यको प्रचार एवं प्रवद्र्धनमा तपाईंहरूको भूमिका के–कस्तो छ ?
नेपाली साहित्यका विश्वभर विभिन्न संघसंस्था छन्। तिनलाई साझा चौतारीमा ल्याउन हामीले नेपाली साहित्य डट कमनामक अनलाइन साइट सुरु गरेका छौं। यसको वेबसाइट सुरु भइसकेको छ। एप बन्ने क्रममा छ। चाँडै पूरा हुनेछ।

यसमा अकाउन्ट खोल्न मिल्ने, आफ्नो पोर्टफोलियो बनाउन सकिने, च्याट गर्न पाउनेजस्ता फिचर्स राखेका छौं। यसमै पुस्तक बेच्न मिल्छ, अनुसन्धान प्लेटफर्म उपलब्ध हुन्छ। सिक्ने, अभ्यास गर्ने थलो पनि हुनेछ।

पुर्खाको देश नेपाल, जहाँ एउटा दुर्भाग्यपूर्ण कालखण्डमा बस्नु पनि पर्‍यो, बाट तपाईंहरूको अपेक्षा के छ ?

चाहे जुनसुकै देशको नागरिकता भएका नेपाली हुन्, हामी नेपाली जातिले बुझ्नुपर्ने यो छ कि हामी एकताबद्ध हुनैपर्छ। ‘युनाइटिङ नेप्लिज एक्रोस द ग्लोब’ आवश्यक छ। त्यसमा नेपाल सरकारले विशेष भूमिका खेल्न सक्छ। त्यसका लागि नेपलिज ओरिजिन पिपल (एनओपी) को मान्यता दिनुपर्ने खाँचो देख्छु म। भारतलगायत विभिन्न देशले यस्तो मान्यता दिँदै आएका छन्। यो नेपालीका हकमा पनि आवश्यक छ। गैरआवासीय नेपालीले मात्र सबै समेट्न सक्दैन। सकेको छैन।

नेपलिज ओरिजिन पिपल (एनओपी) को मान्यता किन खोज्नुभएको ? 

विश्वभर ७ देखि ८ करोड नेपाली छन्। तिनलाई एक ठाउँमा ल्याउनुपर्छ। संसारभरिका नेपालीलाई नेपालले स्वागत गर्न सक्नुपर्छ। गैरराजनीतिक अधिकारसहित तिनलाई नेपाल सरकारले पहिचान दिने हो भने नेपालीको विश्वमा शक्ति देखिन्छ। नेपाली जातिलाई अनि कसैले हेप्न सक्दैन। हामी नेपाली हौं भनेर ढाका टोपी लगाएर बाहिर हिँडे पनि भित्र पीडा छ। त्यो स्थिति आयो भने हामीलाई पनि गौरवान्वित गराउने छ। यो देश र माटोका लागि हामीले पनि खुलेर केही गर्न सक्छौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.