पानीमा डुबेर १७ महिने बालकको मृत्यु
विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिकामा पानीमा डुबेर १७ महिने बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैंचा–९ आदर्श टोल बस्ने फिरोज आलामको १७ महिनाको छोरा हमिद आलम रहेको मोरङ प्रहरीले जनाएको छ।
शनिबार दिउँसोतिर घरछेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए। डीएसपी दाहालका अनुसार खाल्डोमा डुबेर मृतावस्थामा फेला परेको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय, विराटचोकमा जानकारी गराएका थिए।
जानकारी पाउनासाथ पुगेको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान गरिरहेको डीएसपी दाहालले जनाए। घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय, बेलबारीबाट प्रहरी निरीक्षक तेज दाहालको कमान्डमा रहेको टोलीले गरिरहेको छ।
मृतकको शव पोस्टमार्टमका लागि आज दिउँसो मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारी पठाइएको प्रहरीले जनाएको छ।