भूमिहीनलाई निस्सा वितरण सुरु
सिरहा : सिरहाको लहान नगरपालिकाले वडा नम्बर १५ बाट भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई उपभोग गरिरहेको जग्गाको लालपूर्जा वितरण गर्न निस्सा वितरण सुरु गरेको छ।
आइतबार ७७६ जनालाई लालपूर्जाका लागि नाप नक्साको निस्सा वितरण गरिएको मेयर महेश चौधरीले जानकारी दिए। जसमा १९६ जना भूमिहीन दलित, ८७ जना भूमिहीन सुकुम्वासी र ३९३ जना अव्यवस्थित बसोवासी रहेका छन्। ‘अन्य वडामा पनि लगत संकलन कार्य भएको छ,’ मेयर चौधरीले भने,‘त्यहाँ पनि लालपूर्जाका लागि निस्सा वितरण हुनेछ।’
विपन्न दलितलाई जग्गाको लालपूर्जा भएपछि बसोबासका लागि घर निर्माण पनि अगाडि बढाएको उनले सुनाए। लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ६० जना दलित, विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेका छन्।
जिल्लाभरिबाट ८ हजार सुकुम्वासी र ३८ सय अव्यवस्थित बसोवासीको निवेदन परेको जिल्ला भूमि आयोगको अध्यक्ष रामअधिन यादवले बताए।