खुला ब्याटमिन्टन प्रतियोगिताको उपाधि सुर्खेतलाई
कालीकोट : कर्णाली प्रदेशस्तरीय खुला ब्याटमिन्टन प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ। २१ वटा टिममध्ये फाइनलमा पुगेका सुर्खेतकै २ वटा टिमबीच भएको प्रतिस्पर्धामा सुर्खेतका खगेन्द्र खत्री र राजेन्द्र बमलाई हराउँदै सुर्खेतकै नरेन्द्र बम र जितप्रसाद लामिछानेले उपाधि हात पारे।
प्रथम हुने टिमले ५१ हजार १ सय ५१ रुपैयाँसँगै कप, मेडल र सम्मानपत्र प्राप्त गरेका छन् भने द्वितीय भएका सुर्खेतका खगेन्द्र खत्री र राजेन्द्र बमले ३१ हजार १ सय ५१ रुपैयाँसँगै कप, मेडल तथा सम्मानपत्र समेत प्राप्त गरेका छन्। सेमिफाइनलमा पुगेका कालीकोटका भुपेन्द्र बम, सुमन विष्ट, बिनोद शाही र मानबहादुर बुढाले तृतीय स्थान हासिल गर्दै १५ हजार १ सय ५१ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
यस्तै दैलेखका खगेन्द्र थापा र सुनिल थापाबीच भएको खेलमा कालीकोटका भुपेन्द्र मल्ल र सुमन विष्ट सेमिफाइनलमा पुगेका थिए। सुर्खेतका खगेन्द्र खत्री र राजेन्द्र बमबीच भएको खेलमा जीवन शाही र मनोज सुनारले हार व्यहोरेका थिए।
यसैगरी प्रकाश देवकोटा र राजेश श्रेष्ठ बीच भएको खेलमा बिनोद शाही र मानबहादुर बुढाले जित हासिल गर्दै तेस्रो स्थान पक्का गरेका थिए। यस्तै नरेन्द्र बम र जितप्रसाद लामिछाने बीच भएको खेलमा पोषण थापा र बजुरे खड्का पराजित भएका थिए।
कालीकोट जिल्ला ब्याटमिन्टन संघले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय खेल माघ २६ गतेदेखि २८ गतेसम्म सञ्चालन भएको हो।