युवा खेलाडीले खेलाई रोमाञ्चक बनाउँदै
क्यानडाविरुद्धको एकदिवसीय सिरिज ‘क्लिन स्विप’गर्ने लक्ष्यमा नेपाल
काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले ‘क्लिन स्विप’गर्ने लक्ष्य राखेको छ। त्रिवि क्रिकेट मैदानमा आज बिहान सवा ९ बजेबाट सुरु हुने खेलमा नेपालले ‘क्लिन स्विप’गरेर सिरिजको उपाधि हासिल गर्ने लक्ष्यमा रहँदा क्यानडा भने पहिलो जितको खोजीमा रहनेछ।
नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्दैछन्। नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना गरेको सिरिज खेल्न क्यानडाको टीम नेपाल आएको हो। क्यानडासँगको खेलमा नेपालले युवा खेलाडीले मैदानमा उतारेको थियो। आकाश चन्द, सूर्य तामाङ, रिजन ढकाल र अनिल शाहलगायतका युवा खेलाडी शानदार प्रदर्शन गरेका थिए। क्यानडाविरुद्धको आजको खेलमा स्क्वाडमा परेका हेमन्त धामीले खेल्न पाउने सम्भावना रहेको छ।
घरेलु दर्शक र समर्थक ठूलो संख्यामा उपस्थित भएपछि क्यानडाको टीम र क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले दबाब महसुस गरिरहेका छन्।
नेपालले सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो। नेपालले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ। नेपालले फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रीकेट मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्दैछ। त्यसलगत्तै नेपालले नेदरल्यान्ड्स र नामिबियासँग फेब्रुअरी २७ देखि ५ मार्चसम्म टि-२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।